पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले आफ्नो पार्टी भित्र कुनै गुट नभएको दावी गरेका छन् । आइतबार पोखरामा राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी कास्की र पोखरा महानगरपालिका कमिटीले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले अध्यक्ष केपी शर्मा ओलीको मूलधारमा समाहित भएर सबैले सहयोग गर्नुपर्ने बताए ।
‘अहिले हाम्रो पार्टी भित्र कुनै गुट छैन, केपी ओली हाम्रो अध्यक्ष हुनुहुन्छ, उनलाई सहयोग गर्ने, उनकै मूलधारमा समाहित भएर हामी अगाडि बढ्ने हो । त्यसैले यहाँ कुनै गुटका कुरा कसैले गर्छ भने त्यो गुटको हामीले विरोध गर्नुपर्छ’ उनले भने।
यस्तो अवस्थामा पनि साँच्चिकै गुटगत गतिविधि गर्ने र मूलधारमा नआउनेलाई पार्टीको शुद्धिकरण आन्दोलन मार्फत त्यस्ता क्रियाकलापलाई पराजित गरिने समेत उनले प्रष्ट पारे । प्रदेश अधिवेशनले विभाजनलाई तलतलसम्म पु¥याएको भन्दै अब त्यसलाई रोकेर एकमत बनाएर अगाडि बढ्ने बताए ।
‘सबैलाई समेटेर सम्मान गरेर मिसन ८४ मा बहुमतको सरकार स्थापना गर्ने र एक्लै सरकार बनाउने हो’ उनले थपे ।
एमालेको लोकप्रियता देखेर चारैतिरबाट घेर्ने काम भइरहेको भन्दै उनले घेराबन्दी तोडेर लक्ष्यमा पुग्न सबै एकजुट हुनुपर्ने बताए । राजनीतिक स्थिरता नहुँदा नेपालमा केही नकारात्मक प्रवृत्ति देखापरेको र जनतामा निराशा छाएको भएपनि राजनीतिक स्थिरता सँगै त्यसको अन्त्य हुने उनको भनाई छ ।
‘राजनीतिक स्थिरता कायम हुने बित्तिकै सबै नकारात्मक प्रवृत्तिहरू अन्त्य हुन्छ, अन्त्य भैसकेपछि त्यसको जगमा उभिएका बनेका नयाँ पार्टीहरू पनि सबै समाप्त हुनेछन्’ उनले भने।
एकताबद्ध ढङ्गले अगाडि बढ्न सक्दा एमाले सबैभन्दा बलियो पार्टी बन्ने ठोकुवा उनको थियो । पार्टी भित्र धेरै क्षमतावान व्यक्ति भएकोले सबै एकैपटकमै नेतृत्वमा पुग्न नसकेपनि निरन्तर लागेमा सबैको व्यवस्थापन हुने दावी उनको छ ।
नेकपा (एमाले) केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज कृष्ण थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि जनतामा आशा जगाएको दावी गरे । नयाँ सरकार गठन पश्चात देशको अर्थतन्त्रले लिएको गतिले त्यसको पुष्टि गर्ने उनको भनाई थियो । पार्टीको निर्णयमा बसेर सामुहिक कार्य मार्फत आगामी निर्वाचनमा कास्कीका सबै निर्वाचन क्षेत्र र स्थानीय तहमा एमालेको विजय सुनिश्चत गर्ने उनले प्रष्ट पारे ।
नेकपा (एमाले) केन्द्रीय सदस्य एवं राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज राजीव पहारीले आफुले प्राप्त गरेको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाए । नीतिगत तहमा काम गरे युवालाई नेपालमा नै बस्न सक्ने वातावरण बनाउने पूर्व अध्यक्ष समेत रहेका पहारीको वाचा थियो । आफूले गर्ने कार्यमा निरन्तर खबरदारी गर्न आग्रह गर्नुभएका उनले युवा सङ्घ नेपालको लोकप्रियताको उचाई बढाउन निरन्तर लाग्ने सुनाए । ‘सके इट्टा थप्ने तर मक्कन तथा भत्कन भने कदापी दिन्न’ उनले भने ।
नेकपा (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले राष्ट्रिय युवा सङ्घ नेपालको गरिमालाई बचाउन सबैले मिहेनतका साथ काम गर्नुपर्ने बताए ।
राष्ट्रिय युवा सङ्घ नेपाल जिल्ला कमिटी कास्कीका अध्यक्ष शंकर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी इन्चार्ज विकास अधिकारी, पोखरा महानगर कमिटी अध्यक्ष प्रदीप गुरुङ, कास्की सचिव उमेश गुरुङले बोलेका थिए । कार्यक्रम मार्फत युवा सङ्घ नेपालका इन्चार्जको जिम्मेवारी पूर्व अध्यक्ष राजीव पहारीले प्राप्त गर्नुभएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने