पोखरा रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण भएको छ ।
कक्षा १२ का विद्यार्थीको आयोजनामा भएको कार्यक्रमको उद्घाटन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अनाथ र असहाय बालबालिकालाई संरक्षण र शिक्षादीक्षा प्रदान गर्दै एसओएस गण्डकीले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको सह्राहना गरे । ‘एसओएस गण्डकीले प्राप्त गर्दै आएको सफलतामा संस्थाले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन । पोखरामा चार सयभन्दा बढी विद्यालयहरू छन् । म सबै विद्यालयमा पुगेर सम्भव छैन । व्यवसायलाई भन्दा सामाजिक सेवालाई प्राथमिकता दिने एसओएसजस्ता प्रतिष्ठित शिक्षण संस्थामा समय भ्याएसम्म आफू पुगेर सांकेतिक रूपमा सम्पूर्ण विद्यार्थीलाई महानगरको अभिभावकका हैसियतले शुभेच्छा प्रकट गर्दै आएको छु ।’
एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यले नवआगन्तुक विद्यार्थीको अबको २ वर्षे शैक्षिक यात्रा उपलब्धिपूर्ण बनोस् भनी कामना गरे ।
पूर्वविद्यार्थीद्वय डा. कृष्णराज अधिकारी र डा. दीपक गौतमको पनि कार्यक्रममा सहभागिता थियो । वीर अस्पतालबाट आन्तरिक औषधी विज्ञानमा एमडी गरेका अधिकारी हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् भने चीनको बेइजिङ फरेस्ट्री विश्वविद्यालयबाट वनविज्ञानमा विद्यावारिधि प्राप्त गरेका गौतम हाल वनविज्ञान अध्ययन संस्थानमा प्राध्यापन गर्छन् । डा. अधिकारीले एसओएस गण्डकीमा अध्ययनरत आफ्नो ब्याचका २६ जना विद्यार्थीमध्ये आज २१ जना डाक्टर बनेर बिरामीको सेवामा जुटिरहेका छन् भन्ने खबर सुनाउन पाउँदा निकै गौरवबोध हुने बताए ।
प्राचार्य चूडामणि सुवेदीले एसओएस कक्षा ११ मा भर्ना हुन आउने विद्यार्थीलाई स्वागत गर्न पाउँदा आफू निकै हर्षित भएको बताए । उनले विद्यार्थीले एसओएस गण्डकीमा प्राप्त भौतिक र मानवीय सुविधाको उच्चतम् उपयोग गर्नेमा आफू विश्वस्त रहेको बताए ।
कक्षा ११ का सचेत सुवेदीले अध्ययन–अध्यापनका क्षेत्रमा एसओएस पोखराकै सर्वाेत्कृष्ट शैक्षिक गन्तव्य रहेकामा आफू विश्वस्त रहेको बताए । उनी सोही विद्यालयबाट एसइईमा ४ जिपिए हासिल गर्ने विद्यार्थीसमेत हुन् । छात्राका तर्फबाट स्मृति लम्सालले आफ्ना सपना सुनिश्चित गर्ने शिक्षणसंस्थाका रूपमा एसओएस गण्डकीलाई नै छनोट गरेको बताइन् । उनले डिज्नील्यान्ड एकेडेमीबाट एसइईमा ४ जिपिए ल्याएकी थिइन् ।
प्लस टु संयोजक खगेन्द्रराज बरालले नवआगन्तुक विद्यार्थीलाई स्वागत गरे । कार्यक्रममा पोखरा १५ का अध्यक्ष तोरणबहादुर बानियाँ, पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य मन्दिरा परियार, एसओएस युवालय गण्डकीका प्रमुख बाबुराम बराल, शिक्षक तथा कर्मचारी कल्याणकारी युनियन एसओएस गण्डकीका एकाइ अध्यक्ष मिलन खत्री, एसओएस गण्डकीका सहप्राचार्यद्वय वीरसिंह बूढा र प्रभास पौडेल, एसओएस बालग्राम गण्डकीकी आमा प्रतिनिधि पार्वती पाण्डेलगायतका अन्य विशिष्ट व्यक्तित्वहरूको समेत सहभागिता थियो।
कक्षा १२ का छात्राद्वय अपी कुँवर र प्राश्ना पौडेलद्वारा सञ्चालित उक्त कार्यक्रममा नवआगन्तुक विद्यार्थीको स्वागतमा विभिन्न सांस्कृतिक प्रदर्शनीसमेत प्रस्तुत गरिएको थियो । विज्ञान संकायअन्तर्गत जीवविज्ञान र कम्प्युटर समूहको अध्ययन–अध्यापन हुने यहाँ कक्षा ११ मा हाल भुक्तानी र छात्रवृत्ति कोटामा गरी १ सय ४० भन्दा बढी विद्यार्थी पढ्छन् ।
कार्यक्रममा गायक रामभक्त जोजिजूको निर्देशनमा विद्यार्थीले वाद्यवादनसहित राष्ट्रिय गान प्रस्तुत गरे । जोजिजूले ‘उडेर जून छुन्छु भन्थेँ’ बोलको चर्चित गीत गाए । दीपेङ्का बिजुच्छेले नेवारी समुदायमा प्रचलित शास्त्रीय शैलीको ‘कुमारी नृत्य’ प्रस्तुत गरी समारोहमा आकर्षण थपिन् ।
सम्बन्धित खबर
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी