पोखरा, साउन १२ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।
गृहप्रदेश गण्डकीको पोखरामा नेपाल पत्रकार महासंघ कास्कीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले यस्तो बटमलाइन सुनाएका हुन् । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले सवै बिकल्प सकिएपछि संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाइएको प्रष्ट पारे ।
उनले वर्तमान सरकारले एक वर्षभित्रमा परिर्वतनको अनुभूति हुनेगरी काम गर्ने जानकारी पनि दिए । ‘देशलाई अघि बढाउनु छ । जनतामा छाएको निरासा चिरेर उत्साहित बनाउनु छ । त्यो गर्ने भनेको कामबाटै हो । त्यसकारण देश बनाउने अठोटसहित गठन भएको वर्तमान सरकारलाई असफल हुने छुट छैन । प्रधानमन्त्रीले पनि यस बिषयमा हामीलाई स्पष्ट दिशानिर्देश गर्नुभएको छ,’ सञ्चारमन्त्री गुरुङले भने।
मन्त्री गुरुङले राजनीतिक स्थायित्वसहित सुशासन र विकासको गतिलाई तीव्रता दिन संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाइएको बताए । ‘संसदीय अभ्यासमा प्रमुख दुई ठूला दलको सरकार विरलै बन्ने गर्छ । देशलाई अघि बढाउन मिल्नै पर्ने बाध्यात्मक अवस्थामा मात्रै दुई ठूला दल मिलेर सरकार बनाउनु पर्ने अवस्था हुन्छ । बिगतमा पनि त्यही भयो । अहिले पनि हामीले यसलाई अन्तिम विकल्पका रुपमा प्रयोग गरेका हौं,’ एमाले उपमहासचिव तथा गण्डकीका संस्थापक मुख्यमन्त्रीसमेत रहेका सञ्चारमन्त्री गुरुङले भने।
उनले अहिलेको सरकारपनि असफल भए जनतामा चरम निरासा छाउने भएकोले कामको परिणाम ल्याउनै पर्ने अन्तिम बिकल्पमा आफूहरु रहेको बताए। ‘यो सरकार पनि असफल भए मूल धारका पुराना राजनीतिक दलप्रतिको जनविश्वास टुट्छ । जनतामा बाँकी रहेको आत्मबल पनि सकिन्छ । त्यसैले अहिले रमाउने होइन, काम गरेर परिणाम दिने हो भन्ने साझा अठोट प्रधानमन्त्रीले गराउनु भएको छ,’ सञ्चारमन्त्री गुरुङको भनाई थियो ।
नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले सरकारले अर्थतन्त्र सुधार, रोजगारी सिर्जना, सुशासन र विकास गतिविधिलाई केन्द्रमा राखेर काम गर्ने खाका पनि सुनाए ।
यस्तै, उनले डिजिटल नेपालको अवधारणाअनुसार विद्युतीय शासन सञ्चालनमा सरकारले जोड दिने जानकारी दिए । सञ्चार क्षेत्रसँग सम्बन्धित ऐन, कानुनलाई समयसापेक्ष ढङ्गले परिमार्जन गरिने पनि मन्त्री गुरुङको भनाइ थियो ।
‘अहिले पनि पुराना ऐन, कानुनबाट कतिपय सञ्चार संस्था चलिरहेका छन्, तिनलाई संशोधन र परिमार्जन गर्नुपर्छ, आवश्यक परेका कानुन निर्माणमा सञ्चार मन्त्रालयले विशेष पहल लिन्छ’, सञ्चारमन्त्री गुरुङले भने, ‘हुलाकलगायत संस्थालाई आधुनिक ढङ्गले सञ्चालन गर्न आवश्यक छ ।’
मन्त्री गुरुङले दूरसञ्चार सेवालाई थप गुणस्तरीय बनाइने तथा सञ्चारमाध्यमको सवलीकरण र पत्रकारको वृत्तिविकासका लागि कार्ययोजना बनाएर काम गर्ने जानकारी पनि दिए । यस्तै उनले आफू नाम लेखाउन मात्र आएको नभई एक बर्षभित्र ठोश परिणाम ल्याउने प्रतिवद्धतासहित सहयोग र सहकार्यका लागि मिडियादेखि सूचना प्रविधि क्षेत्रका सवै सरोकारवाला पक्षलाई आग्रह गरे।
गुरुङ सञ्चारमन्त्री नियुक्त भएपछि पहिलो पटक गृहप्रदेश गण्डकी आएका हुन् । गृहजिल्ला लमजुङ जाने क्रममा पोखरा आएका सञ्चारमन्त्री गुरुङसँग पत्रकार महासंघले पत्रकार भेटघाटको आयोजना गरी आफ्नो समस्यासमेत सुनाएको छ
सम्बन्धित खबर
मधेश आन्दोलनको १८ वर्ष पूरा, बलिदानी दिवसको रुपमा मनाइँदै
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको तस्वीर दुरूपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ
समाजवादी प्रेसका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष नै एमाले निकट चौतारी प्रवेश
रुपन्देहीमा कुटपिटबाट एक भारतीय मजदुरको मृत्यु
पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी