अहिले पनि गाउँघरतिर कटहरलाई गाडी चढाउन मान्दैनन् । त्यसै लैजानु भन्दा पनि लाने कोही हुन्नन् । सबैका घरदेखि वनमा समेत कटहर खेर गइरहेको छ । अहिलेको सिजन रुख कटहरको हो । फालिएकै कटहरबाट गोरखाको सहिद लखन गाउँपालिका ४ ताक्लुङमा चाहिँ वाइन बनाउन थालिएको छ । वडाको पहलमा विदेशबाट फर्केर आएका युवाहरूले वाइन बनाउन थालेका हुन् ।
गाउँभरिका कटहर खरिद गरेर वडामा जम्मा पारिएको छ । प्रतिकिलो वडाले किसानलाई २ रुपैयाँ दिएको छ । ‘एउटै डल्लाबाट २५ देखि ३० रुपैयाँसम्म किसानले कमाउँछन् । विदेशबाट फर्केकाको सीप पनि प्रयोग भयो । किसानको उत्पादन पनि खेर गएन,’ वडाध्यक्ष यामबहादुर थापाले भने, ‘अहिले परीक्षण गरिएको हो । अर्को वर्षदेखि अझै व्यावसायिक बनाउने योजना छ ।’
गाउँघरमा घरेलु मदिरा अहिले पनि उत्पादन भइरहेको छ । नयाँ प्रविधिको प्रयोग गरेर वाइन बनाउन लागिएको थापाले सुनाए । ‘गाउँमा बाहिरबाट रक्सी ल्याएर खाँदा रकम बिदेसिएको छ । स्थानीय रक्सी उत्पादन भए गाउँमै पैसा बस्छ,’ उनले भने, ‘गाउँमा प्रयोग गरेर बढी भएको वाइन मनकामना र गोरखा बजारसम्म लैजान्छौँ । पालिकाबाट स्वीकृति लिने प्रक्रिया पनि अघि बढाएका छौँ ।’
अघिल्लो वर्ष प्रत्येक घरमा १० वटा कटहरको रुख रोप्न वडाले नै सहयोग गरेको थियो । ‘परम्परागत खेती प्रणालीलाई प्रतिस्थापन गरी व्यावसायिक र वैकल्पिक खेतीबाट किसानको जीवनस्तर उकास्ने योजना छ,’ उनले अघि थपे, ‘अघिल्लो वर्ष हामीले रुख कटहर लगाउन प्रोत्साहन गर्यौँ । यो वर्षदेखि उत्पादित कटहर वडाले नै खरिद गरिदिएको छ ।’ अहिले १ टन कटहर खरिद गरिने वडाले जनाएको छ । त्यसबाहेक ताक्लुङ सहकारीले ५ सय किलो सुन्तला सहयोग गरेको छ । त्यसबाट पनि वाइन नै उत्पादन हुनेछ ।
‘अहिले ४ सय लिटर जति उत्पादन हुन्छ । उत्पादन भएका वाइन गाउँका पारखीलाई चखाउने हो,’ थापाले भने, ‘उत्पादन भएपछि ल्याब टेस्टमा पठाउँछौँ । यसको स्वाद र अर्गानिकपनालाई बजारमा बेच्ने योजना बनाएका हौँ ।’ वाइन उत्पादन हुन १५ दिनदेखि डेढ महिनासम्म लाग्ने जानकारहरू बताउँछन् । वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै श्रम गरिरहेका तिलबहादुर थापा वडाको योजनाले खुसी छन् ।
‘कटहर टिपेर गभाउन हालेका छौँ । पाकेपछि बियाँ छुट्टाएर गुदीलाई मर्चामा मिसाएर जाँड बनाउने हो,’ उनले भने, ‘१०–१५ दिनपछि पकाएर निकाल्न मिल्छ । प्रविधि जानियो भने राम्रो हुने रहेछ ।’ सधैँ कुहिएर जाने कटहरबाट वाइन बनाउने सुन्दा गाउँले पनि अचम्मित छन् । ‘कुहिएर जान्छ सधैँ । आफन्तलाई दिने, नलगेको कुहिन्छ । अहिले वडाले किन्दा त गाउँले दङ्ग परिरहेका छन्,’ उनी भन्छन्, ‘कहिल्यै मेसै नभएको कुरा देख्दा अचम्म हुने नै भयो ।’ परीक्षण सफल भए आगामी वर्षदेखि ठुलो परिमाणमा वाइन उत्पादनको काम गरिने थापाले सुनाए । रासस
सम्बन्धित खबर
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
गण्डकी प्रदेश प्रमुखको स्वास्थ्य सुधारोन्मुख, भेटघाट बन्द
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द
गण्डकी प्रदेश प्रमुख भट्ट अस्वस्थ
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो