पोखरामा राइड सेयरिङ एप पठाओ/इनड्राइभको विरोधमा यातायात व्यवसायीआन्दोलित

आन्दोलन

पोखरामा राइड सेयरिङ एप पठाओ/इनड्राइभको विरोधमा यातायात व्यवसायीआन्दोलित

मुख्यमन्त्री र जिल्ला प्रशासन घेराउ, निजी सवारीलाई भाडाका यात्रु बोक्न रोक्नुपर्ने माग

cdo office gherau

पोखरा, १० साउन । पोखरामा राइड सेयरिङ एप पठाओ इनड्राइभको विरोधमा यातायात व्यवसायी आन्दोलित भएका छन् ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई बढाउन दिने गरी कार्यविधि बनाउन थालेसँगै उनीहरु आन्दोलनमा उत्रेका हुन् । बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेका व्यवसायीले सडकमा गाडी तेर्स्याएर  सरकारलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

गण्डकीका यातायात व्यवसायीहरूले भौतिक पूर्वाधार विकास तथा यातायात सचिव शंकर पण्डितलाई बिहीबार ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउनुअघि यातायात व्यवसायीहरुले अमरसिंहचोकदेखि र्‍याली प्रदर्शन गरेका थिए ।

उनीहरुले शहरका विभिन्न भाग परिक्रमा गरी पृथ्वीचोक हुँदै सहिदचोकस्थित भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालय पुगेर सचिव शंकर पण्डितलाई ज्ञापनपत्र बुझाएका हुन् । मन्त्री राजीव गुरुङलाई बुझाउने कार्यक्रम भए पनि उनी नआएकाले सचिवलाई पत्र बुझाएर उनीहरु फर्केका हुन् ।

यातायात ऐन बनेको चार वर्षपछि गण्डकी सरकारले निजी सवारी साधनहरु रातो प्लेटका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई यात्रु बोक्न दिनेगरी कार्यविधी तयार गरेको छ । सो कार्यविधी पारित गर्न विहीबार मन्त्री परिषद् बैठक बस्न लागेको सुईंको पाएपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आह्वानमा व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।

प्रदेश सरकारले नीति तथा कार्यक्रमबाट राइड सेयरिङलाई वैधता दिने घोषणा गरेको थियो । त्यसैलाई टेवा पुग्ने गरी कार्यविधि निर्माण भएको र मन्त्रिपरिषद् बैठकले पारित गर्न लागेको आफूहरुले खबर पाएको व्यवसायीले बताएका छन् ।

वैज्ञानिक भाडादर लागु गर्न र निजी सवारीलाई भाडाका यात्रु बोक्न रोक्नुपर्ने माग उनीहरुको छ । राइड सेयरिङ नरोकिए सार्वजनिक यातायातमा कुनै छुट नदिने व्यवसायीको भनाइ छ । आफ्ना माग सम्बोधन नभए साउन १३ देखि सबै गाडी घर र ग्यारेजमा थन्क्याएर प्रदर्शनमा उत्रिने यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्र केसीले चेतावानी दिए ।

केसीले राईड सेयरिङलाई मान्यता दिने हो भने अबदेखि सार्वजनिक सवारी साधनमा ज्येष्ठ नागरिक, एकल महिला, विद्यार्थी, जनयुद्धका घाईते, अपाङ्गता भएकाहरुलाई छुट दिन नसकिने चेतावनी दिए । बरु त्यसवापत राज्यले दिएको ३३ प्रतिशत कर छुटपनि खारेज गर्न तयार रहेको उनले बताए । ‘राईड सेयरिङ र सार्वजनिक सवारी साधन एउटै भएपछि हामीलेचाहिं किन छुट दिनुप¥यो ? यो खारेज गर्छौं’–उनले भने । यातायात व्यवसायीले अर्बौं रुपैयाँ लगानी गरेको तर नीजि सवारीलाई वैधानिकता दिएर तहस्नहस् पार्न लागिएको उनको आरोप छ । उनले भने,‘नागरिकको सम्पतीको सुरक्षा गर्ने जिम्मेवारी राज्यको हो तर राज्य नै नागरिकको सम्पती तहस्नहस् गर्न लागिपरेको छ ।’

यातायात व्यवसायीहरुले माग सुनुवाई नभए साउन १३ गतेबाट अनिश्चितकालिन यातायात बन्द गर्ने चेतावनी दिएका छन् । महासंघ गण्डकीका अध्यक्ष केदार पौडेलले भने,‘हाम्रा सवारी साधन आ–आफ्ना घरघरमा थन्काउँछौं र लामा तथा छोटा दुरिका सवारी साधन सञ्चालन गर्दैनौं ।’

प्रदेश सरकारले सवारी ऐन २०४९ को दफा ८ विपरीत कानुन बनाएर व्यवसायीलाई पीडित बनाएको सचिव केसीले बताए । गण्डकी सरकारले २ पांग्र्रे र ४ पांग्रे निजी साधनलाई यात्रु ओसारपसार गर्न दिने कार्यविधि तत्काल खारेज गर्नुपर्ने पौडेलले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय सदस्य भानुभक्त बरालले हचुवाको भरमा नीति फेर्दा व्यवसायी मारमा पर्ने बताए । उनले व्यवसायी मारमा पर्ने नीति सच्याउन आग्रह गर्दै अन्यथा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए ।

स्वरोजगार यातायात व्यवसायी तथा मजदुर नेता अर्जुन पौडेलले राईड सेयरिङलाई मान्यता दिएर सरकारले यातायात क्षेत्रलाई भद्रगोल बनाउन खोजेको आरोप लगाए । ‘हामी यो निर्णय तुरुन्त सच्याउन आग्रह गर्छौं । अन्यथा आन्दोलनको विकल्प छैन’–उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds