दमकल दुर्घटनास्थल पुग्दा जहाज जलेर ध्वस्त भइसकेको थियोः प्रत्यक्षदर्शी

दमकल दुर्घटनास्थल पुग्दा जहाज जलेर ध्वस्त भइसकेको थियोः प्रत्यक्षदर्शी

जहाज भुइँमा बजारिएको ४ मिनेटपछि मात्र प्रहरीलाई जानकारी, २३ मिनेटपछि मात्र क्याप्टेनको उद्दार

saurya plane crasssss

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिकै भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाले ज्यान गुमाए ।  दुर्घटनाले विभिन्न संशय उब्जाएकै बेला नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाका कारणबारे अहिले नै केही भन्न नसकिने बताएको छ ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका प्रत्यक्षदर्शीहरूले विमानस्थल परिसर भित्रको कन्टेनरमा बजारिएर दुई टुक्रा भएको र आगो लागेको बताएका छन् ।

धावनमार्ग नजिकको कन्टेनर र सँगैको झाडीसहितको कान्लामा नठोक्किएको भए उक्त जहाज सीधै बस्तीमा पस्ने उनीहरू बताउँछन् ।

जहाज ठोक्किएपछि मानिसहरू छरिएका थिए । जहाज भुइँमा बजारिएपछि धुवाँको मुस्लो उठेको र त्यसको केही क्षणमा आगो दन्किएको प्रत्यक्षदर्शीको भनाइ छ ।

पेप्सीकोला क्षेत्रका प्रत्यक्षदर्शीले भने, ‘एक्कासी ड्याङ्ग आवाज आयो अनि माथिबाट कन्टेनर लड्यो । भित्तोमा प्लेन ठोक्किएर तल चौरमा बजारियो ।’

पहिले धुवाँ उठेको र पछि आगो लागेको उनीहरूले बताए बताए । डाँडामाथितिर तुरुन्तै दमकल र एम्बुलेन्स आएर उद्धार गरे पनि त्योभन्दा तलतिर भने ढिलो मात्रै उद्धार भएको उनीहरूको भनाइ छ ।

आगो लागेको करिब पाँच मिनेटमा मात्र दमकल पुग्यो ।  ‘यतातिर दमकल घुमेर आउने क्रममा अलि ढिलै भयो,’ प्रत्यक्षदर्शी भन्छन् , ‘प्लेन जलेर ध्वस्त भइसकेपछि मात्रै दमकल आयो ।’

समयमै दमकल पुगेको भए केहीलाई बचाउन सकिन्थ्यो कि भन्ने प्रत्यक्षदर्शीको अनुमान छ । डाँडाबाट पानी हालेर दुर्घटनास्थलमा पानी पुग्न सकेन । मुख्य आगो लागेको ठाउँ थोरै टाढा थियो ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार जहाज भुइँमा बजारिएको ४ मिनेटपछि मात्र नेपाल प्रहरीले दुर्घटनाको जानकारी पाएको छ ।

यसबीचमा सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा पनि तत्काल उद्धारकर्मी पुग्न सकेको देखिँदैन ।

नेपाल प्रहरीका अनुसार प्रहरीलाई ११ बजेर १५ मिनेटमा दुर्घटनाको जानकारी आएको थियो ।

दुर्घटना बिहान ११ बजेर ११ मिनेटमा भएको प्राधिकरणले जनाएको छ । जलिरहेको जहाजबाट ११ बजेर ३४ मिनेटमा मात्र क्याप्टेन मनिषको उद्दार गरिएको थियो ।

अर्थात् दुर्घटनाको २३ मिनेटपछि मात्र क्याप्टेनको उद्दार भएको छ । ११ बजेर ४० मिनेटमा आगो नियन्त्रणमा आएको थियो । ११ बजेर ५० मिनेटमा चालक दलका दुई जनासहित १९ जना यात्रारत रहेको पुष्टि भएको थियो ।

दुर्घटनाबारे प्राधिकरण के भन्छ ?

अन्तर्राष्ट्रिय विमानस्थलमा टावरनजिकै भएको दुर्घटनाले विभिन्न संशय उब्जाएको छ । मिडिया र सामाजिक सञ्जालमा विमान दुर्घटनाबारे विभिन्न विषय आइरहेका छन् । यता,नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनाका कारणबारे अहिले नै केही भन्न नसकिने बताएको छ ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले विमान दुर्घटना के कसरी भयो भन्ने कुरा अत्यन्त प्राविधिक विषय भएकाले अहिले अनुमानका आधारमा भन्न नसकिने बताए । हल्ला भएजस्तो विमान पुरानो वा समयमै मर्मत नभएको भन्ने कुरामा सत्यता नरहेको उनले स्पष्ट पारे । ‘विमानको धेरै प्रकारको चेक हुन्छ, निश्चित घण्टा, निश्चित साइकल, ल्याण्डिङपछि गरिने चेक हुन्छ,’ सूचना अधिकारी भूलले भने, ‘विमानको छुट्टै आयु हुँदैन, विभिन्न पार्टको आयु हुन्छ, कुन पार्टस् कति सयम अवधिपछि परिवर्तन गर्ने भन्ने हुन्छ ।’

दुर्घटनाग्रस्त विमान ‘एयर ओर्दिनेस’ २०२५ सम्म ‘भ्यालिड’ भएको विमान हो । अहिले पनि एक सय १९ घण्टा ‘फ्लाइङ आवर’ बाँकी छँदै समयमै मर्मतका लागि पोखरा पठाउन लागिएको थियो । इञ्जिनियरले २० देखि २५ दिनको विमानको सम्पूर्ण पार्टसको मर्मत (सी–चेक) गर्नका लागि विमान लगिँदै थियो । सूचना अधिकारी भूलका अनुसार दुर्घटनाको प्राविधि हो कि मानवीय कारण भनेर अध्ययन नगरी भन्न सकिँदैन ।

एक सय आठ दुर्घटनामा नौ सय ५९ को मृत्यु

प्राधिकरणका अनुसार नेपालको हवाई उडानको इतिहासमा हालसमम सबै प्रकारका वायुयानगरी एक सय आठ दुर्घटना भएका छन् । ती दुर्घटनामा परी नौ सय ५९ जनाको मृत्युभएको छ ।

दुर्घटनामध्ये विदेशी दर्ता विमान १० दुर्घटनमा तीन सय ७९, हेलिकोप्टरतर्फ ३९ दुर्घटनामा ९२ जनाको मृत्यु, सिङ्गल इन्जिन विमानको आठ वटा दुर्घटना हुँदा २५ जना र ‘फिक्स विङ्ग’ विमान ५० वटा दुर्घटना हुँदा चार सय ५१ जनाको मृत्यु भएको छ ।

के हो सी–चेक ?

सौर्य एयरलाईन्सको सीआरजे ७०० ९ एन–एएमई विमान ‘विमानको सम्पूर्ण चेक पार्टसको चेक’ (सी–चेक) का लागि इञ्जिनियरसहितको टोली लिएर पोखरा आउँदै थियो ।

उक्त विमान धावनमार्गबाट उड्ने वित्तिकै दुर्घटनाग्रस्त भयो । हरेक दुई वर्षमा सी–चेक गरिन्छ । कम्पनीसँग यही सिरिजका तीन विमान थिए । एक दुर्घटना र एक जहाज ग्राउन्डेड रहेकाले अब एक मात्रै उडानमा हुनेछ । हाल भद्रपुर र विराटनगरमा दैनिक समान तीन उडान गरिरहेको थियो । सी–चेकका लागि इञ्जिनियरहरुसहितको टोली विमान दुर्घटनामा परेको हो ।

उक्त वायुयान दुर्घटनाको सत्यतथ्य जाँचबुझ गरी प्रतिवेदन पेस गर्न सरकारले पाँच सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ । प्राधिकरणका अनुसार वायुयानलाई दुरुस्त राख्न तोकिएको समयमा तोकिएको परीक्षण नियमित हुने गरे–नगरेको बारे अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले हरेक मुलुकका नियामक निकायलाई सचेत गराइरहेको हुन्छ । नियामक निकायले यसको पनि विवरण राखी त्यस्तो परीक्षण सुनिश्चित गरिरहेको हुन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds