लेकसाइडमा हप्ता असुलेको आरोप लागेका डीएसपी श्रेष्ठको सरुवा

प्रहरी-क्लब सञ्चालक विवाद

लेकसाइडमा हप्ता असुलेको आरोप लागेका डीएसपी श्रेष्ठको सरुवा

पर्यटन व्यवसायीको आधिकारिक प्रतिक्रियाः 'हामीले उजुरी गरेका छैनौँ, यस विषयले गम्भिर बनायो'

dsp rajendra shrestha ptc (2)

पोखरा । गत साता वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्र श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बेनामे उजुरी परेको सार्वजनिक भयो ।

‘पोखराका पर्यटन व्यवसायीहरु’ नामबाट असार २७ गते लेखिएको उक्त बेनामे उजुरी असार ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गरिएको बताइन्छ । प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालय गण्डकी बोधार्थ छ ।

उजुरीमा व्यवसायीहरुले डिएसपी श्रेष्ठलाई व्यवसायीहरूले प्रतिव्यक्ति मासिक ५० हजारदेखि १ लाख रुपैयाँसम्म बुझाउने गरेको, पैसा माग्ने उद्देश्यले क्लब, डान्सबार, दोहोरी गेट र भित्रसम्मै चेकिङको नाममा आतंक मच्चाउने र पैसा नदिने व्यवसायीमाथि कारवाहीको नाटक गर्दै आएको लगायतका आरोप लगाइएको छ ।

यसबीचमा साउन ४ गते डिएसपी श्रेष्ठको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रधान कार्यालय अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा काज सरुवा गरेको हो । अब वडा प्रहरी कार्यालय बैदामको नेतृत्व डीएसपी सन्तोष निरौलाले गर्नेछन् । श्रेष्ठ र निरौलालाई परस्पर काज सरुवा गरिएको हो ।

प्रहरी नियमावली अनुसार इन्चार्ज भएर बस्ने प्रहरी अधिकृतहरूको सरुवा १ वर्षमा हुने व्यवस्था छ । श्रेष्ठ गत वर्ष असोजमा पोखरा आएका हुन् । त्यसअघिका डीएसपी बेदप्रकाश जोशी मणिपाल अस्पताल आन्दोलन प्रकरणमा इन्स्पेक्टर मदन श्रेष्ठको अनुशासनहीनताका कारण कमाण्डमा कमजोरी देखिएपछि सरुवा गरेर श्रेष्ठलाई बैदामको जिम्मेवारी दिइएको थियो । जोशी झैं श्रेष्ठको पनि एक वर्ष नभई सरुवा भयो ।

‘घुस मागेको भनेर पर्यटन व्यवसायीको तर्फबाट आवेदन परेको भन्ने विषयले गम्भिर बनायो’

डीएसपी श्रेष्ठ विरुद्ध पोखराका पर्यटन व्यवसायीको नाममा असार ३० मै अख्तियारमा उजुरी परेकोमा पर्यटन व्यवसायीहरु भने एक हप्तापछि बल्ल बोलेको छ ।

सोमबार पोखरा पर्यटन परिषद् र पर्यटन व्यवसायी संस्थाहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै परिषद्मा अहिले १४ वटा संस्थाहरु संगठित रहेको स्पष्ट पार्दै कसैले पनि डीएसपीबाट घुस मागेको भनी गुनासो गरेको जानकारीमा नरहेको बताएको छ ।

कुनै पनि व्यक्तिले आफ्नो स्वार्थका लागि अमुर्त श्रोतको आधारमा दिएको निवेदनलाई नै आधार मानी कसैलाई कारबाही गर्दा भविष्यमा इमान्दारीका साथ काम गर्ने व्यक्तिको मनोबल नगिरोस् भन्नेमा सबै सचेत हुनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

 

मान्छे कुट्ने क्लबका बाउन्सर पक्रँदा डीएसपी सरुवाको खेल ?

लेकसाइडमा अहिले चलेको क्लब ‘क्लब सिक्स्टिन’ का सञ्चालक नै डीएसपी सरुवामा लागिपरेको श्रोतको दाबी छ । डीएसपी श्रेष्ठले ‘क्लब सिक्स्टिन’मा कार्यरत दुई जना बाउन्सरलाई मुद्दा चलाएको कारण सञ्चालक रुष्ट बनेको र जसरी पनि डीएसपीलाई सरुवा गर्न लागिपरेको श्रोत बताउँछ ।

गत असार १५ गते बिहान क्लब आएका ग्राहकलाई कुटपिट गरेपछि दुई जना बाउन्सरहरू मुस्ताङ घर भएका रिजन गौचन र पोखरा १० बस्ने योमन गुरुङलाई वडा प्रहरी कार्यालय, बैदामले मुद्दा चलाएको बताइएको छ । ती बाउन्सरहरुले पोखरा वडा नं. ११, फूलबारी बस्ने २१ वर्षीय आयुष थापालाई हेलमेटले कुटेका थिए ।

बाउन्सरलाई मुद्दा चलाएपछि क्लब सञ्चालक रमेश कार्कीले प्रहरी प्रधान कार्यालय, गण्डकी प्रहरी कार्यालयलाई बोधार्थ बनाएर अख्तियारमा बेनामे उजुरी हाली डीएसपीलाई सरुवा गर्ने लबिङ गरेको प्रहरी स्रोतले सञ्चालक कार्कीको नामै किटेर बताएको छ ।

तर, क्लब सञ्चालक पक्षबाट भने मिलापत्र भइसकेको घटना निहूँ बनाएर आयुष थापालाई जबजर्स्ती किटानी जाहेरी दिन लगाएर बाउन्सरहरू गौचन र गुरुङलाई थुनामा राखेको बताउँछ । कुटिएका थापालाई आफै जाहेरी दिन लगाएर बाउन्सरहरुलाई दुःख दिएको क्लब सञ्चालक पक्षको दाबी छ ।

‘पोखराका पर्यटन व्यवसायीहरु’ नामबाट व्यवसायिक स्वार्थमा क्लबका सञ्चालक लागिपरेपछि पोखरामा आधिकारिक रुपमा सञ्चालित पर्यटन व्यवसायी सम्बद्ध संघसंस्थाको छाता संगठन पोखरा पर्यटन परिषद् र अन्य संघसंस्थाले यसरी आपत्ति जनाएका हुन् ।

‘रात्रीकालीन व्यवसाय गर्दा मापदण्ड पालना भएन, आवश्यक समय परिवर्तन गरिपाउँ’

यसैबीच, पोखरा पर्यटन परिषद्मा आवद्ध १४ संस्था र पर्यटनसँग सम्बन्धित अन्य संस्था गरी १७ संस्थाले परिषद्कै लेटरहेडमा गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी दुर्गा सिंहलाई रात्रीकालीन व्यवसाय समय परिवर्तनका लागि अनुरोध गरेका छन् ।

यसको सिधा अर्थ, ध्वनी प्रदुषण तथा होहल्ला हुने व्यवसाय रातभरी सञ्चालन हुनबाट रोक्न भन्ने नै हो । क्लब सिक्स्टिनका सञ्चालकले पर्यटन व्यवसायीको नाममा बेनामे उजुरी हालेर प्रहरी प्रमुख सरुवा गर्ने खेलमा लागेपछि पर्यटन व्यवसायीहरु पनि रातभर ध्वनी प्रदुषण र होहल्ला गर्ने यस्ता क्लबहरूलाई रातभर खोल्न नदिन लागेको सहजै बुझ्न सकिन्छ ।

डिआईजीलाई बुझाइएको निवेदनमा भनिएको छ – पोखरालाई पर्यटन राजधानी घोषणा गरिरहँदा २४ सै घण्टा खुल्ला राख्ने घोषणा गरिएको थियो । विगतमा डान्स बार, डिस्को, क्लब जस्ता ध्वनीजन्य व्यवसायहरु रातभर खुल्ला हुने तर शान्त रुपमा पर्यटकको सेवा गर्ने फाइन-डाइन रेस्टुरेन्टहरु ११ बजे नै बन्दा गरिँदा यस्ता रेस्टुरेन्टलाई मध्येरातसम्म खोल्न दिने माग पर्यटन क्षेत्रको पक्कै थियो तर, विना मापदण्ड होहल्ला हुने र शान्ति सुरक्षामा खलल हुने गरी रातभरी खुल्ला राख्ने र वातावरण धमिल्याउने गरी रातभरी व्यवसाय खोल्ने माग पर्यटन परिषद् र पर्यटन सबद्ध व्यवसायिक संस्थाहरुको थिएन ।’

पर्यटन व्यवसायीहरुले थप भनेका छन् – ‘रात्रीकालीन व्यवसाय सञ्चालन गर्ने व्यवसायीले ४२ बुँदा शर्तहरु अनिवार्य रुपले पालना गर्ने भनिएकोमा अनुशासित हुन सकिएन । अनुगमन भएको पनि थाहा छैन । रातभरी विभिन्न प्रकारका संगीत बजाएर पर्यटनक एवं स्थानीय नागरिकले सुत्न, आराम गर्न, पढ्न र आफ्नै घरमा पनि बस्न नपाउने अवस्था बनेको छ । यस विरुद्ध सबैले निवेदन पनि दिएका छन् तर अवस्थामा सुधार आएको छैन, बरु झन् खराब हुँदै गएको छ । झनै पर्यटन व्यवसायीका नाममा व्यक्तिगत लाभका लागि वा रिस साँध्न अमुर्त श्रोत देखाएर गम्भिर कामहरु भएका छन् । डीएसपी राजेन्द्र श्रेष्ठले घुस मागेको भन्ने कुरामा कुनै पनि व्यवसायीले गुनासो नगरेको प्रस्ट पार्दछौँ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds