ओलीको नेतृत्वमा मुलुकले उन्नतिको बाटो समात्नेछ : देउवा

ओलीको नेतृत्वमा मुलुकले उन्नतिको बाटो समात्नेछ : देउवा

‘सात बुँदेप्रति एमाले पनि इमानदार बन्ने विश्वास छ’

share-bahadur-deuba-congress-parliament-2081

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा मुलुकले उन्नतीको बाटो समात्ने बताएका छन् ।

आइतबार प्रधानमन्त्रीले प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै देउवाले ओली मिहिनेती, अध्ययनशील र अनुभवी भएकाले उनको नेतृत्वको सरकारले मुलुकलाई उन्नतीतर्फ लैजाने बताएका हुन् ।

‘सम्माननीय प्रधानमन्त्री अत्यन्त मिहिनेती अध्ययनशील र अनुभवी हुनुहुन्छ, उहाँको मन्त्रिपरिषदमा रहेका साथीहरु योग्य र सक्षम हुनुहुन्छ । उहाँहरुको नेतृत्वमा मुलुकले उन्नतीको बाटो समात्नेछ भन्ने विश्वास लिएको छु ।

मुलुकको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्र चलायमान बनाउन स्थिर सरकार आवश्यक परेको देउवाले बताए ।

राजनीतिलाई स्थिरताको बाटोमा उन्मुख गराउन अहिलेको सरकार गठन भएको भन्दै देउवाले त्यो लक्ष्यमा सरकार सफल हुने पनि बताए ।

१७ असारमा कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिप्रति कांग्रेस दृढ रहने भन्दै देउवाले एमाले पनि दृढ रहने विश्वास व्यक्त गरे ।

‘असार १७ गते कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमति कार्यान्वयनप्रति कांग्रेस दृढ छ र रहिरहनेछ भन्ने प्रतिवद्धता व्यक्त गर्दछु । साथै नेकपा एमाले पनि यस कुरामा दृढ रहनेछ भन्ने कुरामा विश्वस्त छु’, उनले भने ।

कांग्रेस सभापति शेरबहादुर देउवाले संसदमा बोलेको पूर्ण पाठ

सम्माननीय सभामुख महोदय,

सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूले आज नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्नका लागि प्रस्ताव राख्नुभएको छ । आम नेपाली जनताको अपेक्षा स्थिर सरकार, तीव्र आर्थिक विकास, रोजगारीको सिर्जना, भौतिक संरचनाको शीघ्र निर्माण नै हो । हामीले यस दिशामा प्रगति हासिल गर्नाका साथै आज देखिएको निराशा आशामा बदलिने छ ।

वर्तमान सरकारले यो दिशामा तीव्रताका साथ काम अगाडि बढाउँदै जनतामा आशा र भरोसा जागृत गर्ने छ भन्ने मैले विश्वास लिएको छु । देश विकासको लागि सबैभन्दा पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी छ । आजको संसदको संरचनालाई हेर्दा स्थिर सरकारका लागि संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन भएको छ ।

वर्तमान सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउने छ, मुलुकमा दिगो शान्ति कायम गर्दै गतिशिल अर्थतन्त्रका माध्यमबाट देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्ने छ । यसबाट राजश्वमा थप वृद्धि भइ जनचाहना अनुसारका विकास निर्माणका काम गर्न पनि सकिने छ ।

भ्रष्टाचार नियन्त्रण गर्दै मुलुकलाई सुशासनतर्फ अग्रसर गराउन आवश्यक छ । संविधान प्रारम्भ भएको आठ वर्ष पुरा भएको छ । यसका सवल तथा दुर्वल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वभाविक अभ्यास हो । संविधान संसोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समाबेशीतालाई थप सुदृढ गरिने छ ।

संविधान संसोधन गर्दा नेपालमा क्रियाशिल सबै राजनीतिक दलहरु बीच सम्बाद र सहमतिबाट गर्न उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौं । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा सहमति भएको अवगत नै छ । सोही अनुसार नेकपा एमालेका नेता के.पी.शर्मा ओली नेपाली कांग्रेस समेतको समर्थनमा संविधानको धारा ७६ को २ अनुसार असार ३१ गते प्रधानमन्त्रीमा नियुक्त भइ विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रस्तुत हुनु भएको छ ।

सम्माननीय प्रधानमन्त्री के.पी.शर्मा ओलीको नेतृत्वको वर्तमान सरकारले जनचाहना बमोजिम राष्ट्रिय हित अनुकुलको सुशासनयुक्त सरकार सञ्चालन गर्ने नै छ । वर्तमान सरकारले विधिको शासन, संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुनहरुको निर्माण, लगानीको उचित वातावरण तयार पार्दै आज देखिएको आर्थिक शिथिलतालाई गतिशिल बनाउँदै रोजगारीका थप अवसरहरुको सिर्जना र एउटा चलायमान अर्थतन्त्रको निर्माणमा ठोस योगदान दिने मैले विश्वास लिएको छु ।

सम्माननीय प्रधानमन्त्री अत्यन्त मेहनति, अध्ययनशिल र अनुभवी हुनुहुन्छ । उहाँको मन्त्रिमण्डलमा रहेका साथीहरु पनि योग्य र सक्षम हुनुहुन्छ । उहाँको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्ने छ भन्ने मैले विश्वास लिएको छु । राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउनका लागि गठन भएको वर्तमान सरकार सफल हुने मैले विश्वास लिएको छु । तसर्थ असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिको कार्यान्वयन प्रति नेपाली कांग्रेस दृढ छ, दृढ रहिरहने छ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

साथै नेकपा एमाले पनि यस कुरामा दृढ रहने छ भन्ने कुरामा म पूर्ण रुपले विश्वस्त छु । त्यसैले नेपाली कांग्रेसले सम्माननीय प्रधानमन्त्रीले माग्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्ने छ । साथै अन्य दलहरुलाई सम्माननीय प्र्रधानमन्त्रीज्यूले राख्नु भएको विश्वासको मतको पक्षमा मतदान गर्न अपील समेत गर्दछु ।

धन्यवाद !
जय नेपाल !

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds