यु २० बुद्धिचाल प्रतियोगिता : पहिलो दिन पाँचौ चरणका खेल सम्पन्न

यु २० बुद्धिचाल प्रतियोगिता : पहिलो दिन पाँचौ चरणका खेल सम्पन्न

20240719_095815

पोखरा । अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे) को एक सय औं वर्षको अवसरमा शुक्रबारबाट पोखरामा यु २० खुल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको छ ।

हिमालयन मित्र बाल क्लबको आयोजनामा पोखरा १७ विरौटामा सुरु भएको प्रतियोगिताको पहिलो दिन पाँचौ चरणका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य पञ्चराम गुरुङले खेलले खेलाडीको नेतृत्व विकास सँगै राष्ट्रको नाम उच्च बनाउने बताए । साथै खेलले खेलाडीलाई अनुशासन सिकाउने र अझ बुद्धिचालले विद्यार्थीहरुको बौद्धिक स्तरमा वृद्धि गर्न समेत ठूलो भूमिका खेल्ने सुनाए ।

गुरुङले प्रतियोगिताको विजेतासँग आफुले सोही ठाउँमा बुद्धिचाल खेल्ने बताए । बालबालिकाले आयोजना गरेको प्रतियोगिता सामान्य नरहेको र ग्रासरुटबाट खेलाडी विकास हुनेमा आफु आशावादी रहेको सुनाए ।

क्लबकी उपाध्यक्ष गृस्मा पौडेलले प्रतियोगितामा सबै विद्यार्थीहरुको मात्र सहभागिता रहेकाले यसले पढाइमा समेत ठुलो प्रभाव पार्ने सुनाइन् । बुद्धिचालले व्यक्तिलाई धैर्य, रचना र स्मरणशक्तिमा वृद्धि गर्ने उनको भनाई थियो । प्रतियोगितामा सबैभन्दा कान्छा खेलाडी ६ वर्षका हार्दिक बरालले वडा नम्बर १७ का वडा सदस्य विक्रम गुरुङसँग खेल्दै प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

मुख्य निर्णायक रामबहादुर क्षेत्रीले स्विस लिगको आधारमा प्रतियोगिता भएको जानकारी दिए । उनका अनुसार स्विस लिगमा ९ चरणका खेल हुनेछन् । जसमध्ये पाँचौ चरणसम्मका खेल सकिएको र भोलि बाकीँ चरणका सबै खेल हुने र च्याम्पियनको टुंगो लाग्ने छ । हरेक सहभागी खेलाडीले ९ चरणमा खेल खेल्नुपर्नेछ । दुई दिनसम्म चल्ने प्रतियोगितामा कुल ११० जना खेलाडीको सहभागिता रहेको छ ।

प्रतियोगितामा यु–१० (२५जना सहभागि), यु–१६ (२५जना सहभागि), यु–१९ (४५जना सहभागि) तथा खुल्ला प्रतियोगिता (१३जना सहभागि) हुनेछ । खुल्लातर्फको विजेताले नगद दुई हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले एक पाँच सय र तेस्रो हुनेले एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथो र पाँचौ हुनेले समान पाँच–पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीका लागि एक हजार र ट्रफी पुरस्कार रहेको छ । यस्तै यु१०, १६ र १९ मा प्रथम हुनेले भने पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् । बाल क्लबका अध्यक्ष परिवेश थापाले महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता नभई एकै प्रतियोगिता भएको र जसको बढी अंक आउँछ उही प्रथम हुने बताए । उनले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिए । पोखरा महानगरपालिकाको सहकार्यमा हुन लागेको प्रतियोगितालाई फिडे, नेपाल बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघले अधिकार दिएको छ ।

प्रतियोगितामा राधाकृष्ण कार्भिङ र आमोल दुग्ध उद्योगले सहयोग गरेको छ । दुई दिन चल्ने प्रतियोगिता पोखरा १७ विरौटास्थित ग्यालेक्सि बेन्क्युटमा जारी प्रतियोगिता भोलि समापन हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds