त्रिशूलीमा खसेको बसका २० यात्रुको शव भेटियो, १४ जनाको मात्रै सनाखत

दुर्घटना

त्रिशूलीमा खसेको बसका २० यात्रुको शव भेटियो, १४ जनाको मात्रै सनाखत

अझै ४२ यात्रुको अवस्था अज्ञात

simaltal-inkk

चितवन । सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका हालसम्म २० यात्रुको मात्रै शव भेटिएको  छ । जसमध्ये १४ जनाको मात्रै सनाखत भएको  छ ।

आज अर्का एक यात्रुको शव फेला परेको छ । भरतपुर महानगरपालिका-२६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव आज भेटिएको हो । शवको सनाखत हुन बाँकी छ ।

गत असार २८ गते विहान नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ मा सिमलतालमा पहिरोले दुई वटा यात्रुबाहक बस बगाएको थियो । ६२ जना यात्रुसहित बस त्रिशूलीमा बेपत्ता भएको थियो । बस पानीमा खसे पछि ३ जना यात्रु भने पौडिएर बाँच्न सफल भएका थिए ।

नदीमा अझै ४२ यात्रुको अवस्था अज्ञात छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटार र नेपाली सेनाका विपद् व्यवस्थापन गण रसौलीका तालिम प्राप्त सुरक्षाकर्मीले विभिन्न प्रविधिको प्रयोग गरेर बसको खोजतलास गरे पनि घटना भएको ७ दिनसम्म पनि बस फेला पार्न सकेका छैनन् ।

वीरगञ्जबाट २७ यात्रुसहित काठमाडौं जान आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाण्डौंबाट ३८ यात्रु लिएर रौतहटको गौर जान आउँदै गरेको बा ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बनाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds