स्याङ्जा ट्राफिकद्वारा एक करोड दश लाख राजस्व संकलन

स्याङ्जा ट्राफिकद्वारा एक करोड दश लाख राजस्व संकलन

Tax-rajaswo_syj-foto

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले एक वर्षमा एक करोड दश लाख ९७ हजार रुपियाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०/०८१ मा संकलित उक्त राजस्व अहिलेसम्मकै धेरै हो । पछिल्लो तीन वर्ष यता राजस्व संकलन बढ्दो क्रममा छ ।

आर्थिक वर्ष २०७८/०७९ मा ७० लाख ८४ हजार र आ.व. २०७९/०८० मा एक करोड ७२ हजार रुपियाँ राजस्व संकलन भएको थियो । गत आर्थिक वर्ष २०८०/०८१ मा ट्राफिक प्रहरीले सबैभन्दा धेरै मोटरसाइकल र सबैभन्दा कम ट्याक्टर चालकलाई कारबाही गरेको छ । सो आवमा पाँच हजार मोटरसाइकल र एक हजार एक सय ६६ ट्याक्टर चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक केशरबहादुर मल्लले जानकारी दिए ।

कार्यालय प्रमुख मल्लका अनुसार सो अवधिमा तीन हजार छ सय आठ जिप तथा कार, एक हजार ९ सय ३२ बस, एक हजार पाँच सय २४ ट्रक तथा टिप्पर र एक हजार तीन सय ८० अन्य सवारी चालक कारबाहीमा परेका छन् ।

एक वर्षमा जिल्लामा १८ वटा दुर्घटना भएको कार्यालय प्रमुख मल्लले जानकारी दिए । तीन बस, तीन जिप तथा कार, ट्याक्टर र टेम्पो दुई/दुई, एउटा ट्रक साथै मोटरसाइकल सात वटा दुर्घटनामा परेका थिए । दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने सख्त तथा सामान्य गरी १३ जना घाइते भएका छन् । यसभन्दा अघिल्लो आर्थिक वर्षमा २१ सवारीसाधन दुर्घटना हुँदा १२ जनाको मृत्यु र १३ जना घाइते भएका थिए ।

दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम प्रभावकारी बनाउनुका साथै ट्राफिक नियमलाई कडाइका साथ पालना गराउँदा गत वर्ष दुर्घटना कम भएको ट्राफिक कार्यालय प्रमुख नायब निरीक्षक केशरबहादुर मल्लले जानकारी दिए । उनले चेकजाँचका क्रममा पाँच वर्ष भन्दा बढी रिन्यु/नविकरण फेल भएका सवारीबाट मात्र २७ लाख ४५ हजार ९ सय ९६ रुपियाँ राजस्व संकलन गरेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds