एमाले र काँग्रेसबाट काे–काे बन्दै छन् मन्त्री ?

एमाले र काँग्रेसबाट काे–काे बन्दै छन् मन्त्री ?

कास्कीबाट विद्या भट्टराई र जीवन परियारको चर्चा, पदम गिरी सञ्चार मन्त्री बन्ने सम्भावना

Oli deuba

केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बन्दै गर्दा नेकपा एमालेभित्र मन्त्री बन्ने र मन्त्रालय पाउने विषयमा नेताहरूबीच अन्तिम कसरत जारी छ ।

एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल करिब निश्चित भएको एक पदाधिकारीले बताए । सकेसम्म विगतमा कम अवसर पाएका युवा, महिला र अरू समुदायका सांसदलाई मन्त्री बनाउने गृहकार्य छ ।

एमालेबाट अर्थमा पौडेलसँगै शिक्षामा विद्या भट्टराई, पदम गिरी सञ्चार, योगेश भट्टराई शहरी विकास मन्त्रालयको नेतृत्वमा रहने चर्चा छ ।

त्यस्तै, गीता शर्मा पनि मन्त्री बन्न सक्ने एमालेका नेताहरू बताउँछन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ उपप्रधानमन्त्री बन्ने भएमा सरकारमा जाने भनिए पनि धेरै जना उपप्रधानमन्त्री नरहने भएपछि उनले के गर्छन् भन्ने तय भएको छैन । ‌

एमाले नेतृ विद्या भट्टराईको छवि बौद्धिक नेतृका रुपमा स्थापित छ ।  लगातार २ पटक प्रत्यक्ष निर्वाचन जितेकी भट्टराईको शैक्षिक क्षेत्रमा राम्रो दख्खल  छ। एमालेको भागमा शिक्षा मन्त्रालय परेमा त्यसमा उनैलाई पठाउने उच्च सम्भावना छ ।

प्रतिनिधि सभामा उपसभामुखको निर्वाचन हुँदा एमालेले भट्टराईलाई उमेद्वार बनाएको थियो । जुन चुनावमा अंक गणित पक्षमा नहुँदा हार्ने निश्चित थियो ।

पदम गिरी दुई पटक मन्त्री बनेपनि समय असाध्यै छोटो रह्यो । पर्वतबाट दुई पटक प्रतिनिधि सभा निर्वाचन जितेका गिरी पहिलो पटक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र दोस्रो पटक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका थिए ।

नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधि सभा निर्वाचनमा लगातार दुई पटक हराएका गिरीले यसपटक सञ्चारमन्त्रालय पाउने सम्भावना छ । अध्यक्ष ओली गिरीसँग सन्तुष्ट रहेको बताइन्छ ।

मन्त्री छान्न गठबन्धनको गृहकार्य

सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीका साथ कांग्रेस र एमाले मन्त्रालय भागबन्डा र मन्त्रीहरूको छनोटमा जोडतोडले लागेका छन् ।

मधेशकेन्द्रित पाँच दल जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी (नेपाल), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीलाई पनि सोमबार नै सरकारमा सहभागी गराउने गरी कांग्रेस र एमालेबीच समझदारी भएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस र एमालेबीच मन्त्रालय भागबन्डामा करिव–करिब समझदारी बनिसकेको बताए । कुल २१ मन्त्रालयमध्ये सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ८ मन्त्रालय र कांग्रेसले ९ मन्त्रालय लिने मोटामोटी समझदारी बनेको हो ।

बाँकी चार मन्त्रालय मधेशकेन्द्रित दललाई छुट्याइएको छ । एमालेले अन्य साना दललाई पनि सरकारमा ल्याउनुपर्ने अवस्थामा मन्त्रालय घट्नेछ । जनमतलाई संघीय सरकारमा समेत सामेल गराइने भएमा उसलाई एमालेको भागको एक मन्त्रालय दिने समझदारी बनेको बताइएको छ ।

उता, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकले पनि मन्त्रीहरू छनोट गर्दा ओलीको ‘स्पिरिट’ र भावनालाई पक्डन सक्ने, अब्बल कार्यसम्पादन गर्ने, प्रत्यक्ष निर्वाचितका साथै भूगोल समावेशी प्रतिनिधित्वलाई आधार बनाएको छ ।

सरकारमा गएर राम्रो काम गर्न सक्ने, प्रदेश र समावेशी आधार मानेर सरकारमा सहभागी हुने मन्त्री छनोट गर्न सभापति देउवा आन्तरिक विमर्शमा लागेका छन् ।

कांग्रेसबाट प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू पठाइने !

कांग्रेस सभापति देउवाले पार्टीका पूर्वउपसभापति प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू पठाउने मनस्थिति बनाएका छन् । देउवाको पूर्वनिर्णय तलमाथि नभएमा गठबन्धन निर्माणमा व्यस्त बनेका संसदीय दलका प्रमुख सचेतक लेखकलाई गृह मन्त्रालयको जिम्मेवारी दिएर पठाउने करिब निश्चित जस्तै छ ।

देउवा–पत्नी आरजु राणा देउवालाई परराष्ट्रको जिम्मेवारी दिने सम्भावना उच्च रहेको देउवा निकट एक नेताले बताए । ‘कुनै बाधाबिघ्न नपरेमा तीन जना मन्त्री हुने निश्चितजस्तै छ,’ उनले भने, ‘अरूको नाममा अन्तिम समयसम्म पनि तलमाथि हुन सक्ने अवस्था छ ।’

कांग्रेसले गृह र परराष्ट्रका अतिरिक्त ऊर्जा–जलस्रोत तथा सिँचाइ, सहरी विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, कानुन न्याय तथा संसदीय मामिला, संघीय मामिला तथा सामान्य प्रशासन र अर्को कुनै एक मन्त्रालय लिने गरी छलफल अघि बढेको छ भने एमालेले अर्थ, सञ्चार तथा सूचना प्रविधि, भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, रक्षा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र युवा तथा खेलकुद मन्त्रालय लिने मोटामोटी समझदारी छ । यिनमा पार्टीबाट मन्त्री पठाउने व्यक्तिका आधारमा आइतबार केही मन्त्रालय साटफेर हुन सक्ने कांग्रेसका एक पदाधिकारीले बताए ।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले केन्द्रीय कार्यसम्पादन समितिले तय गरेको मापदण्डका आधारमा सभापतिले सबैसँग परामर्श गरेर आइतबारसम्ममा मन्त्रीहरू छनोट गर्ने बताए । ‘एकैचोटि मन्त्रिपरिषद्लाई पूर्णता दिने गरी नै मन्त्री छनोटको गृहकार्य भइरहेको छ, सकेसम्म प्रधानमन्त्रीले शपथ लिएकै दिन सोमबार मन्त्रिपरिषद्ले पूर्णता पाउने गरी दुवै दलको तयारी छ,’ महतले भने ।

कांग्रेसभित्र मन्त्री बन्नका लागि गुटगत ‘लबिङ’ पनि तीव्र देखिएको छ । एक पटक पनि मन्त्री हुन नपाएका सांसदहरूले नयाँलाई अवसर दिनुपर्नेमा नेतृत्वलाई दबाब दिँदै आएका छन् । भ्रष्टाचार काण्डका आरोपित, विभिन्न मुद्दाका विवादित, सार्वजनिक छवि धूमिल भएका र पटक–पटक मन्त्री भइसकेकालाई यस पटकको मन्त्रिपरिषद्मा नपार्न कांग्रेस सांसदहरूको जोड छ । देउवाले कांग्रेस महामन्त्री गगन थापालाई उपप्रधानसहित मन्त्रीहरूको नेतृत्व गरेर सरकारमा पठाउने प्रयास गरे पनि थापा तयार नभएपछि पूर्वउपसभापति सिंहको नेतृत्वमा पठाउने तयारी गरेका हुन् ।

कांग्रेसले ९ मन्त्रालय पाउँदा संस्थापनइतरका लागि तीनवटा मन्त्रालय दिने मनस्थितिमा सभापति देउवा रहेको उनीनिकट स्रोतको दाबी छ । इतरपक्षका नेता शेखर कोइराला र महामन्त्री थापाले संस्थापनइतर पक्षलाई कति मन्त्रालय दिने भन्नेबारे तय भइनसकेका कारण नाम छनोट नभएको बताएका छन् । यद्यपी, इतर पक्ष बैठकले ४ मन्त्रालयमा दाबी गरेको छ ।

कोइरालाले सहमहामन्त्री जीवन परियार, सांसद चन्द्र भण्डारी, तेजुलाल चौधरीलगायतलाई प्राथमिकतामा राखेका छन् भने महामन्त्री थापाको रोजाइमा युवा नेता प्रदीप पौडेल छन् । पौडेललाई मन्त्री बनाउन थापाले यसअघि पनि जोड गरेका थिए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको कांग्रेस सहभागी सरकारमा पार्टीबाट मन्त्री छनोट गर्दा समावेशी र क्षेत्रीय सन्तुलन नमिलेकाले यस पटक सन्तुलनलाई प्राथमिकतामा राख्न नेतृत्व सचेत देखिन्छ । त्यसबेला कांग्रेसले एक जना दलितलाई पनि मन्त्री बनाएको थिएन ।

यस पटक सहमहामन्त्री जीवन परियारलाई दलितबाट मन्त्री बनाउन जोड दिइएको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारमा सहभागी हुन चासो नदेखाएपछि सहमहामन्त्री परियारको सम्भावना बढेको हो । युवा तथा दलित चेहरा परियारलाई मन्त्री बनाउन देउवा सकारात्मक भएकाे स्रोतको दावी छ । समानुपातिक सांसद परियार कास्की निर्वाचन १ थुम्कीका हुन् । सांसद परियारले पनि आफुले पार्टी नेतृत्वसँग मन्त्रीको आकांक्षा व्यक्त गरेको बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ