कोपा अमेरिका–२०२४ : उपाधि रक्षा गर्ने दाउमा अर्जेन्टिना, अपराजित कोलम्बिया तगारो

कोपा अमेरिका–२०२४ : उपाधि रक्षा गर्ने दाउमा अर्जेन्टिना, अपराजित कोलम्बिया तगारो

क्यानडालाई हराउँदै उरुग्वे तेस्रो

argentina-vs-colombiaa

एजेन्सी ।

अमेरिकामा जारी कोपा अमेरिका फुटबलको फाइनलमा अर्जेन्टिना र कोलम्बियाको भिडन्त हुँदैछ। अमेरिकाको फ्लोरिडास्थित मायमी गार्डेन्समा रहेको हार्डरक स्टेडियममा हुने फाइनल जुलाई १५ अर्थात नेपाली समयअनुसार सोमबार बिहान ५ः४५ बजे हुनेछ।

४८औं संस्करणको कोपाको उपाधिका लागि एकै महादेशका यी दुई बलिया टिम अमनेसामने हुनेछन्। जारी कोपामा अर्जेन्टिना र कोलम्बिया दुवै अपराजित टिम रहेका छन्।

सन् २०२१ ब्राजिलमा भएको कोपाको च्याम्पियन अर्जेन्टिना यसपालि लगातार दोस्रो संस्करण कोपा जित्ने संघारमा पुगेको छ । अर्जेन्टिना यसअघि सन् २०१५ र २०१६ लगातार दुई संस्करण कोपाको फाइनल खेले पनि दुवैपटक चिलीसँग हारेको थियो । यसपटक पनि अर्जेन्टिना लगातार फाइनल पुगेको छ।

यसपालि अर्जेन्टिनासँग लगातार दोस्रोपटक उपाधि जित्ने अवसर पनि छ । २०१५–१६ मा भोगेको हारको नियतिलाई २०२१–२०२४ मा जितको कहानीमा बदल्ने अवसर अर्जेन्टिनासँग छ । त्यो उपलब्धि चुम्नबाट अर्जेन्टिना अब मात्रै एक जितले टाढा छ ।

अर्जेन्टिनाले यसअघि १५ पटक कोपा जितिसकेको छ भने कोलम्बियाले एकपटक मात्रै जितेको छ । यसपटक सबैभन्दा सुखद् इतिहास बनाउने अवसर अर्जेन्टिनासँग छ । किनभने, ४ वर्षको बीचमा तीन ठूला उपाधि जित्ने लक्ष्य अर्जेन्टिनाले केही दिनमा पूरा गर्न सक्छ ।

२०२१ को कोपा जितेको अर्जेन्टिनाले २०२२ मा विश्वकप पनि जितेको थियो। अब २०२४ मा कोपा जितेपछि मात्रै ४ वर्षका बीचमा अर्जेन्टिनाले दुई कोपा र एक विश्वकप गरी तीन ठूला उपाधि चुम्नेछ। लियोनल मेसीको टिमका लागि यो अद्भुत सफलता हुनेछ।

अर्कोतिर कोलम्बिया यसपटक त्यसै फाइनल पुगेको छैन। उनीहरूले पछिल्ला २८ खेलमा अपराजित रहँदै फाइनल यात्रा तय गरेका छन् भने पछिल्ला १३ वटा खेल जितेका छन्। यसपालि अर्जेन्टिनाले लगातार तेस्रो उपाधि जित्न सक्ने अवसर र त्यसका लागि गर्न सक्ने प्रदर्शन भन्दा कोलम्बियाले देखाएको उपाधिको भोक ज्यादा खतरनाक छ।

तेस्रोपटक कोपाको फाइनल खेलिरहेको कोलम्बिया त्यो टिम हो, जसले सेमीफाइनलको पहिलो हाफमै १० खेलाडीमा खुम्चिएर पनि उरुग्वेलाई हराउन सफल भयो। जारी कोपामा कोलम्बियाले २३ वर्षमा पहिलोपटक शीर्ष प्रतियोगिताको उपाधि जित्न अब अन्तिम खेलमा एक सामूहिक खेल देखाए पुग्नेछ।\

क्यानडालाई हराउँदै उरुग्वे तेस्रो

इन्जुरी समयमा लुइस स्वारेज चम्किँदा क्यानडाविरुद्ध टाइब्रेकरमा जित निकाल्दै कोपा अमेरिका–२०२४ मा उरुग्वेले तेस्रो स्थान हासिल गरेको छ ।

आइतबार बिहान अमेरिकाको बैंक अफ अमेरिका रंगशालामा भएको खेलमा उरुग्वे इन्जुरी समयसम्म २–१ ले पछि थियो । तर, इन्जुरी समयको दोस्रो मिनेटमा स्वारेजले गोल गरेपछि उरुग्वे खेलमा फर्कियो । यसपछि थप गोल हुन नसक्दा नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

पेनाल्टीमा उरुग्वेका चारमध्ये चार खेलाडीले नै गोल गर्न सफल रहे । उरुग्वेका लुइस स्वारेज, फेडेरिको भाल्भार्डे, रोड्रिगो बेन्टानकुर र जर्जियन डे अरास्केटाले गोल गरे । क्यानडाबाट भने पाँचमध्ये तीन खेलाडीले मात्र गोल गर्न सफल रहे । क्यानडाका जोनाथन डेविड, मोइस बोम्बिटो र माथ्यु सोइनियरले गोल गरे । इस्माल कोन र अल्फान्सो डेविसको प्रहारले भने जाली चुम्न सकेन ।

त्यसअघि खेलको आठौँ मिनेटमा राड्रिगो बेन्टानकुरले गोल गर्दै उरुग्वेलाई अग्रतामा राखेका थिए । तर, मार्सेलो वियल्साको प्रशिक्षणमा रहेको उरुग्वेको यो अग्रता लामो समय टिक्न भने सकेन । २२औँ मिनेटमा इस्माल कोनले गोल गर्दै क्यानडालाई खेलमा फर्काएका थिए । ८०औँ मिनेटमा जोनाथन डेविडले गोल गर्दै क्यानडालाई २–१ को अग्रतामा राखेका थिए । तर, इन्जुरी समयमा स्वारेजको गोलमा उरुग्वे खेलमा फर्किएको थियो ।

प्रतियोगिताको सेमिफाइनलमा उरुग्वेले कोलम्बियासँग १–० को हार बेहोरेको थियो । क्यानडा भने साविक विजेता अर्जेन्टिनासँग २–० ले पराजित भएको थियो । पहिलोपटक कोपा अमेरिका खेलिरहेको क्यानडाले डेब्युमै सेमिफाइनलसम्मको यात्रा तय गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds