केपी ओलीकै नेतृत्वमा सरकार बन्छ, संविधानले बाधा गर्दैन: काँग्रेस नेता केसी

केपी ओलीकै नेतृत्वमा सरकार बन्छ, संविधानले बाधा गर्दैन: काँग्रेस नेता केसी

'संविधान संशोधनको मूल मुद्दासहित कांग्रेस र एमाले एक ठाउँमा'

arjunnarsing-kc-kaski

पोखरा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले सहमतिअनुसार अब एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । उनले त्यसमा संविधानले कुनै बाधा नगर्ने पनि स्पष्ट पारे ।

नेपाल प्रेस युनियन कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद केसीले दुई ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै भएको बताए ।

‘दुई ठुला दल मिलेर सरकारमा जानु भनेको नेपालको लागि अवसर र चुनौती दुवै हो, यसले जनताको वास्तविक समस्यालाई सम्बोधन गरेर जान सक्यो भने नयाँ अवसर प्रदान गर्न सक्छ’, सांसद केसीले भने, ‘ठुला दल मिलेर सरकार बनाउँदै गर्दा आ–आफ्ना स्वार्थमा लागे चुनौती बन्न सक्छ ।’

सांसद केसीले दुई ठुला दल मिलेर सरकार बनाउँदा जनतामा आशा राख्ने गरी काम गर्न सक्ने बताए । केसीले ठूला दलहरू एकैठाउँमा रहँदा तानाशाही हुन्छन् भन्ने तर्क सही नभएको भन्दै सधैँ अस्थिरता मच्चाउने र दलहरूप्रति वितृष्णा फैलाउने कुरालाई ठूला दलले हेरेर बस्न नहुने बताए ।

अस्थिर सरकारबाट देश विकास तीव्र गतिमा हुन नसक्दा जनतामा निराशा बढेकाले अब बन्न सरकारले जनतामा आशा जगाउने गरी काम गर्न सक्ने विश्वास रहेको समेत उनले दावी गरे ।

उनले प्रतिपक्ष सशक्त हुन नसके लोकतन्त्र जीवन्त हुन नसक्ने समेत उल्लेख गरे । ‘दुई ठुला दल मिलेर सरकार बनाउँदा प्रतिपक्ष कमजोर हुन्छ भन्ने दृष्टिकोण आएको छ, कहिलेकाहीँ यस्तो दृष्टिकोण आउँछ’, उनले भने, ‘सरकार बाहिर रहेका दलले नियम कानून, संविधान अनुसार जनताको भावनालाई उठाउन सक्नुपर्छ,प्रतिपक्ष सशक्त हुन सकेन भने लोकतन्त्र जीवन्त हुन सक्दैन ।’

संविधान संशोधनको मूल मुद्दासहित कांग्रेस र एमाले एक ठाउँमा

केसीले संविधान संशोधनको मूल मुद्दासहित कांग्रेस र एमाले एक ठाउँमा आएको दावी गरे । संविधान निर्माणपछि पनि स्थिर सरकार बन्न नसक्दा जनअपेक्षाअनुसार काम नसकिएको जिकिर गर्दै उनले संविधान संशोधनलगायत विषयमा बृहत् सहमतिका लागि दुई पार्टी एकठाउँमा आएको उल्लेख गरे ।

नेता केसीले शान्ति, विकास र राजनीतिक स्थायित्वका लागि संविधान संशोधन आवश्यक रहेको बताए । नेपालको इतिहासमा अहिलेसम्म बनेका ७ संविधानमध्ये कुनै पनि लामो समय टिक्न नसकेको उनले दावी गरे ।

पोखरा विमानस्थल निर्माणका क्रममा भएका अनियमितता तथा प्राविधिक त्रुटिबारे छानबिन गर्न गठित समितिका सदस्यसमेत रहेका केसीले विमानस्थल निर्माणका क्रममा भएका अनियमितताबारे सत्यतत्य बाहिर ल्याउन समितिले सक्रिय रूपमा काम गरिरहेको जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds