कास्की जिल्लाभरका सामुदायिक विद्यालयहरूमा माछापुच्छ्रे मावि अब्बल

कास्की जिल्लाभरका सामुदायिक विद्यालयहरूमा माछापुच्छ्रे मावि अब्बल

एसइईमा ९५ प्रतिशत उत्तीर्ण

MachhaPuchchhre-Mavi

पोखरा । एसइई २०८० को नतिजा अनुसार कास्की जिल्लाभरका सामुदायिक विद्यालयहरूमा औसत ५० जना भन्दा धेरै सहभागीले परीक्षा दिएर नतिजा उत्कृष्ट गर्नेको अग्रस्थानमा माछापुच्छ्रे गाउँपालिकास्थित माछापुच्छ्रे माध्यमिक विद्यालय, भुर्जुङ्खोला, कास्की परेको छ ।

एसइई २०८० मा ७९ विद्यार्थीले सहभागिता जनाएको त्यस विद्यालयका ७५ विद्यार्थीले उत्तीर्ण गर्दै गर्दा ९४.९४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको हो । कास्कीका ४ वटा गाउँपालिकाका सामुदायिक विद्यालयहरूमध्ये ५० जनाभन्दा धेरै विद्यार्थी एसइईमा सहभागिता जनाउने विद्यालयमा माछापुच्छ्रे मात्रै थियो । यो विद्यालयमा नेपालका ३२ जिल्लाका विद्यार्थी अध्ययनरत छन् । २४ प्रतिशत दलित तथा ५४ प्रतिशत जनजाति अध्ययन गर्ने उक्त विद्यालय जिल्लाका लागि मात्र नभई नेपालभरका विद्यालयहरूका लागि असल अभ्यास आदानप्रदानको उत्कृष्ट गन्तव्य बनेको छ ।

८१ विद्यार्थी सहभागी भएर ७६ जना अर्थात ९३.९८३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै बिन्ध्यवासिनी माध्यमिक विद्यालय, पोखरा– १६, बाटुलेचौर द्वितीय स्थानमा परेको छ । यो विद्यालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रको मूल्यांकनमा उच्च अंक प्राप्त गर्दै मुलुकभरमा नै प्रथम स्थान हासिल गरेको विद्यालय हो । सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानमा अब्बल रहेको विद्यालयले भौतिक पूर्वाधारको कमीले गर्दा भर्ना हुन आउने सबैलाई भर्ना नगरी उपलब्ध कोटापूर्तिका लागि प्रवेश परीक्षा लिएर मात्र भर्ना लिने गरेको छ ।

तृतीय स्थानमा भने ९९ विद्यार्थी सहभागिता गराउँदै पोखरा नदीपुरको बालमन्दिर माध्यमिक विद्यालय परेको छ । बालमन्दिर ८५ जना विद्यार्थी उत्तीर्ण गराएर ८५.८६ सहित तेस्रो स्थानमा विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । भौतिक पूर्वाधारको अभावमा बालमन्दिरले पनि आवेदक सबै विद्यार्थीलाई भर्ना लिन नसकिने कारण देखाउँदै प्रवेश परीक्षा लिएर सीमित कोटामा विद्यार्थी भर्ना गर्ने गरेको छ ।

१६१ जना विद्यार्थी सहभागी गराउँदै १४४ जना विद्यार्थी उत्तीर्ण गराएको छोरेपाटन माध्यमिक विद्यालय ८३.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर चौथो स्थान प्राप्त गर्न सफल भएको छ ।

७९.४४ प्रतिशतसहित अमरसिंह माध्यमिक विद्यालय, रामघाट पाँचौं, ६८.६३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै त्रिभुवन शान्ति माध्यमिक विद्यालय छैटौं, ६७.३३ विद्यार्थी उत्तीर्ण गराउँदै शीतलादेवी माध्यमिक विद्यालय सातौं, ६५.१४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै ब्रम्हरुपा माध्यमिक विद्यालय, राजाको चौतारा आठौं, ६४.७१ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै भविष्य निर्माण माध्यमिक विद्यालय, कृस्ती नवौं स्थान र ६४.१२ प्रतिशत उत्तीर्ण विद्यार्थीसँगै जनप्रिय मावि दशौं स्थानमा परेको छ ।

कास्की जिल्लाको उत्तीर्ण प्रतिशत भने ५५ प्रतिशत छ । गण्डकी प्रदेशमा ५८ प्रतिशत विद्यार्थी उत्तीर्णसँगै मुस्ताङ प्रथम, ५६ प्रतिशत उत्तीर्ण प्रतिशत सँगै लमजुङ दोस्रो र ५५ प्रतिशत उत्तीर्णसँगै कास्की तेस्रो स्थानमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ