सत्ता समिकरण फेरिएपछि कुन दलले के धारणा बनाउँदैछन् ?

सत्ता समीकरण परिवर्तन प्रभाव

सत्ता समिकरण फेरिएपछि कुन दलले के धारणा बनाउँदैछन् ?

नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय

deuba oli 5

कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति साेमबार मध्यरातमा भएको छ। दुई दलका दोस्रो तहका नेताहरुले राति नै लिखित सहमतिको मस्यौदा पनि तयार गरेका छन्।

दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ।

कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग भएको समझदारीबारे पार्टी पदाधिकारीहरुलाई जानकारी गराएका छन् ।

आज बिहान आफ्नै निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले एमालेसँग भएको समझदारीबारे जानकारी गराएका हुन् ।

नेताहरुका अनुसार देउवाले एमाले र कांग्रेसबीचको समझदारीअनुसार बन्ने सरकारको नेतृत्व आलोपालो गर्ने जानकारी गराएका थिए । तर पहिले सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे चाहिँ खुलेको छैन । यद्यपि गएरातिदेखि नै पहिलो कार्यकाल एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने र त्यसपछि देउवाले सरकारको नेतृत्व गर्ने समझदारी भएको स्रोतहरुले बताएका छन् ।

बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार बन्ने बताए । नभए संविधान अनुसार प्रकृया अघि बढ्ने उनले बताए ।

एमालेसँग भएको सहमति अनुमोदन गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

कांग्रेसले नेकपा (एमाले) सँग भएको सहमतिलाई अनुमोदन गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

प्रवक्ता प्रकाशशरण महतका अनुसार बुधबार बिहान ९ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो।

‘एमालेसँग भएको सहमतिलाई अनुमोदन गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ,’ प्रवक्ता महतले भने। तत्काल केन्द्रीय समिति बैठक बस्न नसकेका खण्डमा कांग्रेस विधानअनुसार महत्वपूर्ण निर्णय केन्द्रीय कार्यसम्पादन समितिबाट पनि गर्न मिल्छ। कार्यसम्पादनको निर्णय लगत्तै बस्ने केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने विधानको व्यवस्था छ।

एमाले सचिवालय बैठक बस्दै‍

नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्ने भएकाे छ। बैठक आज अपरान्ह ३ बजे भएको हो। बैठकमा नयाँ सत्ता समीकरणबारे छलफल हुने पार्टीका एक नेताले जानकारी दिएका छन्।

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति साेमबार मध्यरातमा भएको छ। आजको बैठक सोही विषमा केन्द्रित रहनेछ।

माओवादी केन्द्रको पदाधिकारीबैठक

माओवादी केन्द्रको पदाधिकारी बैठक सकिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल पदबाट राजीनामा नदिने भएका छन् ।

नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन भएर नयाँ सरकार बनाउने सहमति भइसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने भएका हुन् ।

मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले संसद्को सामना गर्ने निर्णय गरेको उपमहासचिव गिरीराजमणि पोखरेलले जानकारी दिए ।

एक वर्ष यता सरकारले भ्रष्टाचारविरुद्ध गरेको कारबाहीको कारण आत्तिएर नयाँ गठबन्धन बनेको ठहर पार्टीले गरेको छ ।

साथै, पार्टीले अन्य राजनीतिक दलहरुसँगसमेत छलफल गर्ने भएको छ । संविधान संशोधनको बारेमा स्पष्ट धारणा बनाउन पनि पार्टीले माग गरेको छ ।

नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस र एमालेको नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ ।  भर्खरै सकिएको सचिवालय बैठकले अब यो सरकारबाट पार्टी बहिर्गमन हुने निर्णय पनि लिएको छ ।

अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि मन्त्रीहरू फिर्ता बोलाउने बैठकपछि पार्टीका सचेतक सन्तोष परियारले बताए ।

उनले भने, ‘घटना अगाडि बढिसकेपछि हामी अब बन्ने गठबन्धनमा रहँदैनौँ । नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढ्ने बित्तिकै हामी यो सरकारबाट बहिर्गमित हुनेछौं ।’

परियारले यो गठबन्धन देश हितमा नरहेको र राजनीतिक स्थायित्व दिने विश्वास पनि नरहेको उल्लेख गरे । दुईवटा ठूला शक्तिहरू सँगै सरकारमा रहनु लोकतान्त्रिक संस्कार नहुने उनको टिप्पणी छ ।

‘हामीले गृह प्रशासनबाट सुशासनका लागि नेतृत्वदायी भूमिका निर्वाह भइरहेको थियो । हामीले जे जसरी काम गरिरहेका थियौँ, त्यो पनि यो विकसित घटनाक्रमको एउटा कारण हुन सक्छ,’ उनले भने ।

राप्रपाको केन्द्रीय पदाधिकारी बैठक बस्दै, पर्ख र हेरको नीतिमा राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय पदाधिकारी बैठक मंगलबार दिउँसाे बस्ने भएकाे छ।

परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न राप्रपाको केन्द्रीय पदाधिकारी बैठक आज दिउँसो २:०० बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको हाे।

वर्तमान सत्ता समीकरणलाई लिएर राप्रपा पर्ख र हेरकाे नीतिमा रहेकाे राप्रपा प्रवक्ता माेहन श्रेष्ठले बताए। परिवर्तित परिस्थितिबारे पार्टीमा अनाैपचारिक छलफल भइरहेकाे उनकाे भनाइ छ।

अध्यक्ष राजेन्द्र लिङदेनले विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति टिप्पणी गरेका छन् । राप्रपाले संविधान संशोधनको माग गर्दै आएको बताए ।

संविधान सुधार गर्नेतर्फ अब बन्ने सरकार अघि बढे आफूहरूले विचार गर्ने उनले उल्लेख गरे । त्यस्तो अवस्थामा आफूहरूले सरकारलाई समर्थन गर्न सक्ने उनले बताए ।

नयाँ सत्तासमीकरणमा नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि सहभागी गराउन सके राम्रो हुने उनको सुझाव छ ।

दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गए राति सत्तासाझेदारीको सहमति भएपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।

जसपाले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने

जनता समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको परिवर्तित अवस्थामा बनेको नयाँ समीकरणलाई आफूहरूको साथ रहने बताए । उनले भने, ‘सरकारमा जाने–नजाने कुरा पछि को हो तर अहिले हाम्रो समर्थन नयाँ गठबन्धनलाई रहन्छ ।’

माओवादी–एमाले गठबन्धनको पालामा जसपा नेपाल विभाजन भएको थियो । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले जसपा नेपाल आफूले फुटाएको भनी अभिव्यक्ति दिएका थिए ।

जसपा नेपालका अध्यक्ष यादवले पनि आफ्नो पार्टी सत्ता गठबन्धनले विभाजन गरेको आरोप लगाउँदै आएका छन् ।

सत्ता गठबन्धनमध्ये माओवादी अहिले एक्लै देखिएको छ । एमाले र कांग्रेसले गठबन्धन बनाएका छन् । त्यो गठबन्धनमा कुन कुन दल रहने भन्ने निश्चित भएको छैन । यद्यपि जसपा नेपालले आफू नयाँ गठबन्धनसँगै रहने बताएको छ ।

कांग्रेस–एमाले गठबन्धनले ६ वटा प्रदेश सरकारको नेतृत्व बाँडफाँट गरेका छन् तर मधेस प्रदेश भने मधेसवादी दलका लागि छाडेका छन् । अहिले मधेस प्रदेश सरकारको नेतृत्व जनमत पार्टीले गरेको छ ।

नयाँ गठबन्धनले मधेस प्रदेशमा जनमतलाई निरन्तरता दिने हो कि त्यहाँ पनि समीकरण परिवर्तन गर्ने भन्ने टुङ्गो लागेको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds