प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा छलफल गरेका छन् ।
शान्ति प्रक्रियालाई टुंगो लगाउने गरी राष्ट्रिय सहमतिको सरकार बनाउन ओलीले प्रस्ताव गरेका हुन् । बालुवाटारनिकट स्रोतका अनुसार अध्यक्ष ओलीले शान्ति प्रक्रियासहित सबै समस्या समाधानका लागि आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेका छन् ।
स्रोतले भन्यो, ‘मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔँ । त्यसपछि शान्ति प्रक्रियाका सबै समस्या म समाधान गर्छु भनेर अध्यक्ष ओलीले प्रस्ताव गर्नु भएछ ।’
कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि प्रचण्डसंग घनिभूत छलफल थालेका ओलीले यस्तो प्रस्ताव गरेपछि प्रचण्डले पनि उनलाई काउन्टर प्रस्ताव गरेको स्रोतको दाबी छ । प्रचण्डले ओलीलाई यही गठबन्धनबाट प्रधानमन्त्रीको अफर गरेका छन् ।
स्रोतका अनुसार प्रचण्डले ओलीलाई कांग्रेससँग मिल्नुको साटो यही गठबन्धनबाट प्रधानमन्त्री बन्न आग्रह गरेका हुन् ।
एमाले र कांग्रेसबीच करिब सहमति भइसकेपछि ओलीले प्रचण्डलाई उक्त प्रस्ताव गरेको माओवादी नेताहरूको बुझाइ रहेको छ । सोहीकारण प्रचण्डले पनि उक्त विषयमा थप जवाफ नदिएको वालुवाटारनिकट स्रोतको भनाइ छ ।
प्रचण्डको सचिवालय भन्छ : सत्ता समीकरणमा उथलपुथल आउन लागेको विषय गलत
प्रचण्ड र ओलीबीच करिब तीन घण्टा लामो एक्लाएक्लै छलफल भएको हो । एमाले र कांग्रेस मिलेर गठबन्धनको चर्चा चलिरहेका बेला भएको दुई नेताबीच यसमै केन्द्रित रहेर छलफल भएको हो ।
भेटवार्तापछि प्रधानमन्त्री दाहालको सचिवालयले सत्ता समीकरणमा उथलपुथल आउन लागेको विषय गलत भएको दाबी गरेको छ । दुई नेताबीचको छलफल समसामयिक विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आइतबार सिंहदबारमा संक्षिप्त कुराकानी गरेका ओली र दाहालबीच सोमबार लामो छलफल गर्ने तय भएअनुसार ओली बिहान साढे नौबजे बालुवाटार गएका थिए ।
देउवा र ओलीबीच बालकोटमा भएको कुराकानीले नेपाली राजनीतिमा तरङ्ग ल्याए पनि त्यसको असर समीकरणमा नदिएको प्रधानमन्त्री दाहालको स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले बताइन् । ‘दुई शीर्ष नेताबीच सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा लामो कुराकानी भएको हो,’ उनले भनिन्, ‘छलफल एकदम राम्रो भयो ।’ उनले दुई नेताबीच सौहार्दपूर्ण वातावरणमा कुराकानी भएको उल्लेख गर्दै दुई नेता दुवै सदनबाट बजेट पारित हुनेबित्तिकै सरकारको कामलाई तिब्रता दिने टुंगोमा पुगेको बताइन् ।‘बालकोटमा भएको (देउवा र ओली) भेटघाट सामान्य चिया खान भएको रहेछ,’ उनले भनिन्, ‘त्यसको भयंकर चर्चा भइदियो ।’
प्रधानमन्त्रीका अर्का स्वकीय सचिव रमेश मल्लले चर्चा भएजस्तो समीकरणमा दरार नआएको दाबी गर्दै दुई शीर्ष नेताबीच सकरात्मक सन्देश दिनेगरी छलफल भएको बताए । ‘बाहिर चर्चा आएजस्तो समीकरणमा समस्या आएको होइन,’ उनको दाबी छ, ‘दुई शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा राम्रो कुराकानी भयो ।’ उनले दुवै सदनबाट बजेट पारित भएपछि सरकारका कामकारबाहीलाई व्यवस्थित गर्न दुई नेताबीच गम्भीर कुराकानी भएको बताए । पछिल्ला भेटवार्ताबारे ओलीको भनाइ भने सार्वजनिक भएका छैनन् ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी), नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा ओली र दाहालबीच विवाद छ । संसद्बाट छिटो पारित गर्ने पक्षमा रहेका दाहाल ओलीले साथ नदिँदा असन्तुष्ट छन् भने बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको भन्दै ओली आक्रोशित भएका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीचको असार १५ को संवादपछि झस्किएका दाहालले सोमबार ओलीसँग गम्भीर संवाद गरेका हुन् । स्रोतका अनुसार दाहालले सरकारका कामकारबाहीमा समस्या भए सच्याएर जान सकिने भन्दै धितोपत्र बोर्डलगायत अन्य नियुक्ति समझदारकिा आधारमा अघि बढ्ने प्रतिबद्धता गरेका छन् । ‘कांग्रेससित मिलेर समीकरण बनाउन खोज्नु भएको हो भने खुलस्त कुराकानी गरौँ भन्ने प्रधानमन्त्रीको भनाइ थियो,’ स्रोतले भन्यो, ‘सरकारका कामकारबाहीमा असन्तुष्टि हो भने सच्याएर जान सकिन्छ । त्यो काम गर्न समस्या छैन ।’
दाहालले दुई साताअघि एमाले र माओवादीका एक-एक मन्त्री फिर्ता बोलाएर नागरिक उन्मुक्ति र जनमत पार्टीलाई सरकारमा ल्याउने प्रस्तावलाई ओलीले अस्वीकार गरेका थिए । त्यसबेला ओलीले एमालेका मन्त्री भर्खर काम सुरु गरेकाले फिर्ता गर्न नमिल्ने भन्दै सम्भव भए माओवादी मन्त्री हटाउन भनेका थिए । त्यसपछि मन्त्रिपरिषद् हेरफेर स्थगित भएको छ । ओलीले आइतबार एमाले कृषि विभागको कार्यक्रममा सानातिना राजनीनिक नियुक्तिमा नअल्झिन प्रधानमन्त्रीलाई भनेको बताएका थिए । उनले नीतिगत विषयमा छलफल गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
सम्बन्धित खबर
मधेश आन्दोलनको १८ वर्ष पूरा, बलिदानी दिवसको रुपमा मनाइँदै
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रेम सम्बन्ध बिग्रिएपछि युवतीको तस्वीर दुरूपयोग गरी चरित्र हत्या गर्ने युवक पक्राउ
समाजवादी प्रेसका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष नै एमाले निकट चौतारी प्रवेश
रुपन्देहीमा कुटपिटबाट एक भारतीय मजदुरको मृत्यु
पक्षघात उपचारका लागि दुर्लभ र महँगो औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी