कांग्रेस-एमाले सत्ता परिवर्तनको कसरतमा, नयाँ सरकार बन्दै !

२/४ दिनभित्रै सत्ता समिकरण फेरबदल

कांग्रेस-एमाले सत्ता परिवर्तनको कसरतमा, नयाँ सरकार बन्दै !

प्रधानमन्त्री बन्न ओलीलाई देउवा आरजुको प्रस्ताव

deuba oli

काठमाडौं । नेकपा एमाले र नेपाली कांग्रेस सरकार परिवर्तनको कसरतमा जुटेका छन्। एमाले र कांग्रेसका शीर्ष नेता सरकार परिवर्तनको कसरतमा जुटेका हुन्।

नेपाली कांग्रेस पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र दोस्रो तहका नेताहरुसँग संवाद अगाडि बढाइरहेको छ। दोस्रो तहका नेताहरूबीच भएको संवाद सकारात्मक भएपछि शीर्ष नेताको छलफल अगाडि बढेको हो। शनिबार र आइतबार पनि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो। उनीहरुबीच सैद्धान्तिक रुपमा सहमति अगाडि बढिसकेको स्रोतको भनाई छ।

दुई ठूला दल नमिलेसम्म सधैँ तेस्रो र चौथो पार्टीले सरकारको नेतृत्व लिइरहेर अस्थिरता निम्त्याउने भएकाले देउवा र ओली सहकार्यको निष्कर्षतिर पुगेका हुन् । दुई दल मिलेर सरकार चलाए संविधान परिमार्जन र परिस्कृत गर्न गर्न सकिने प्रस्ताव एमाले अध्यक्ष ओलीले कांग्रेस नेतृत्वलाई यसअघि नै राखेका थिए । यसमा देउवाले पनि सकारात्मक संकेतसहित नयाँ अभ्यासतिर जानुपर्ने निष्कर्ष जेठ मसान्तमै सुनाएका थिए ।

यस अगाडि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि कांग्रेससँग छलफल गरेको सुईंको पाएपछि एमाले नेताहरुपनि सक्रिय बनेका हुन्। स्रोतका अनुसार २/४ दिनभित्रै सत्ता समिकरण फेरबदल हुनेछ।

उच्चस्रोतका अनुसार एमाले र कांग्रेसबीचको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएर अगाडि बढ्न दुबै दल सहमति भएको बताइएको छ। कांग्रेस सभापति देउवा पत्नी एवम् सांसद आरजु राणाले पनि ओलीलाई असार १५ मा भेटेर सरकारको नेतृत्वका लागि तयार रहन बताइसकेकी छन् ।

यस अगाडि शेखर कोइराल पक्षले एमालेसँग सहकार्य गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका थिए तर, यस पटक भने देउवा आफैंले ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको स्रोतको भनाई छ। उनीहरुबीच संसद्को बाँकी आधा-आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको बताइएको छ। केहि दिनभित्रै सानो मन्त्रिमण्डल बनाएर अगाडि बढ्न दुई दलभित्र गृहकार्य जारी रहेको छ।

प्रचण्डले केहि दिन अगाडिसमेत सरकार परिवर्तनको संकेत गरेका थिए। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सरकारको नेतृत्व लिएदेखि नै हटाउन खोजेपनि आफूसँग जादुमय नम्बर रहेकाले त्यो सम्भव हुन नदिएको अभिव्यक्ति दिएपछि दुई दलबीच संवाद थप बढेको हो। ‘केही दिन पछि सरकार जाँदै छ रे भन्ने र तपाई हाम्रो दिमागमा कन्फ्युजन क्रियट गर्ने पूरै कोसिस भएको छ। यो भन्न थालेको म प्रधानमन्त्री भएदेखि नै हो। तर तरिका मिल्यो भने पूरै अवधि बसिन्छ। ढुक्क भएर काम गरे हुन्छ। हामीलाई हटाउन सजिलो छैन। थोरै छ भनेर चिन्ता गर्नुपर्ने छैन। जादुवाला नम्बर छ। त्यो जादुले अनेक गरेर मिलाई हाल्छ।’

कांग्रेसका एक पदाधिकारीले भने सरकार परिवर्तन गर्न दुवै दल एक मत भएपनि मोडालिटीको विषय टुंगो लगाउन बाँकी रहेको जानकारी दिए ।

‘राजनीतिक स्थिरता दिनका लागि मुख्य दुई दलबीचको सरकार जनताले हेर्न चाहेका छन्। जनतामा प्रणाली प्रति नै वितृष्णा जागिरहेकाले दुई ठूला दलले सरकार चलाउनु आवश्यकता रहेको छ।’उनले भने,‘कसको नेतृत्वमा सरकार बन्ने र कुन मोडालिटीमा अगाडि बढ्ने भन्ने टुंगो लगाउन बाँकी रहेको छ।’

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेसले आज दिउँसो पदाधिकारी र पूर्वपदाधिकारी बैठकसमेत बोलाएको छ। बैठकमा सत्ता परिवर्तन र समसामयिक राजनीतिक विषयमा निर्णय हुने एक नेताले जानकारी दिए। बैठकमा सभापति देउवाले ओलीसँग भएको छलफलबारे जानकारी गराउनेछन्।

नयाँ सत्ता समीकरणको प्रयास भइरहेको चर्चाबीच आज बिहान प्रचण्ड र ओलीबीच पनि छलफल भएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds