पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परेका जनताको उद्धार र राहत लगायतमा गण्डकी प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् ।
आइतबार प्रदेश सभा बैठकमा बोल्दै नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका अधिकारीले संसदमा सांसदहरुले उठाएका महत्वपूर्ण विषयलाई सरकारले वास्ता नगरेको टिप्पणी गरे । संसदमा उठेका कुरालाई सम्बोधन नगर्ने खालको निष्प्राण सरकार संसदले परिकल्पना नगरेको उनको प्रष्टोक्ति थियो ।
हालै अविरल वर्षाको कारण आएको बाढी, पहिरो तथा डुबानको कारण गण्डकी प्रदेशका कास्की, पर्वत, लमजुङ, स्याङ्जा, बागलुङ लगायतका जिल्लाका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति भएको भएपनि त्यसलाई सम्बोधन गर्न प्रदेश सरकारले जिम्मेवारीपूर्वक काम गर्न नसकेको उनको दावी थियो । उनले तत्काल उद्धार तथा राहतका कार्यक्रम मार्फत पीडितको पीडामा मलम लगाउन आग्रह गरे ।
‘सरकारको तर्फबाट राहत उद्धारका कामहरु धिमा गतिमा भइरहेका छन् । त्यतिमात्र होइन पुनःस्थापनाको समय भइसक्यो, सरकारको उपस्थिति देखिदैन’ उनले भने । पूर्व मुख्यमन्त्री अधिकारीले लमजुङको क्व्होलासोथार लगायत ठाउँमा तुरुन्त पुगेर सरकारको उपस्थिति देखाउन अनुरोध गरे ।
सांसदले सदनमा आवाज उठाउदा समेत सरकार जवाफविहीन भएर बस्ने गरेको उनको भनाई छ । ‘सरकारले आफ्नो दायित्व पुरा नगरीकन दिन काट्ने काम नगरोस्, प्रदेश सभाको सक्रियता तथा गतिशीलतालाई निस्तेज नपारोस्’ अधिकारीले भने ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा समेत थुप्रै कमजोरी देखिएको उनले सुनाए। बजेट निर्माणमा सांसदको भूमिकालाई प्राथमिकता नदिएको उनको गुनासो थियो । जसका कारण २३ वटा कार्यक्रम डुप्लिकेशन हुन पुगेको खुलाए ।
‘प्रदेशको बजेट निर्माणमा प्रदेश सासंदको भूमिका नभएर कोही अमुकको हुन्छ भने त्यो कुरा संसोधन हुनैपर्छ, कुनै पनि हालतमा त्यो कुरा दोहोरीन दिनु हुँदैन’ उनको जोड थियो । संविधानले व्यवस्था गरेको संसद भएको र संसदले सांसदलाई दिएको अधिकार कमजोर बनाउने काम सरकारबाट किमार्थ हुन नहुने उनले उल्लेख गरे ।
‘सासंदका योजना माग्ने तर त्यो अनुसार नहुने काम भइरहेको छ यस्ले न संसद बलियो हुन्छ न सांसद बलिया हुन्छन् । न सरकार सरकार जस्तो हुन्छ । हामी संसदलाई बलियो बनाऊँ । सांसदहरु बलियो बनाउ’ उनको आग्रह थियो । बजेट बनाउँदा को–को हाबी भए त्यसको खोजी गर्नुपर्ने उनले बताए । आइतबार परेको संसद दिवसको अवसरमा समेत विभिन्न प्रसंगमा बोल्दै उनले यसको महत्वको बारेमा भनाई राखे ।
सम्बन्धित खबर
समाजवादी प्रेसका अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष नै एमाले निकट चौतारी प्रवेश
कांग्रेसको निष्कर्ष: एमालेसँग कुनै समस्या छैन, सरकार चलाउन कुनै अफ्ठेरो छैन
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमण घटनाप्रति कांग्रेसको ध्यानाकर्षण
टुँडिखेल र खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई बाँड्न अध्यादेश जारी भयो: मेयर बालेन
कांग्रेसका सबै मन्त्रीलाई बोलाइयो बूढानीलकण्ठ
सरकारले ल्यायो अध्यादेश, सरकारी फाइल ७ दिनभन्दा बढी घुमाउन नपाइने
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी