ओली र प्रचण्डले रविलाई सोधे- रास्वपा पार्टीमा के भएको हो?

ओली र प्रचण्डले रविलाई सोधे- रास्वपा पार्टीमा के भएको हो?

रविले भने – मुकुलका पक्षमा खासै पार्टीभित्र माहौल छैन

kp-oli-prachanda-rabi

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्ला दिनमा देखा परेका घटनाक्रमबारे चासो राखेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आइतबार दिउँसो प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच छलफल भएको थियो। यो छलफलको अन्तिमतिर उपप्रधान तथा गृहमन्त्री रहेका रास्वपा सभापति रवि लामिछाने पनि सहभागी भएका थिए।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई पार्टीभित्र देखा परेका घटनाक्रमबारे सोधेका थिए।

‘तपाईंहरूको पार्टीभित्र के भएको हो खासमा?,’ प्रधानमन्त्री र अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई सोधेका प्रश्न उद्धृत गर्दै स्रोतले भनेको सेतोपाटीले समाचार सार्वजनिक गरेको छ ।

जबाफमा सभापति लामिछानेले खासै ठूलो केही नभएको प्रतिक्रिया दिएका थिए।

‘महामन्त्रीले प्रतिवेदन बुझाउनु भएको हो, खासै केही भएको छैन। केही साथीहरूले महामन्त्रीको प्रतिवेदन बुझ्न हुन्न भनिराख्नु भएको थियो, तर मैले बुझेँ,’ सभापति लामिछानेका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘प्रतिवेदन बुझाउने महामन्त्रीका पक्षमा खासै पार्टीभित्र माहौल छैन।’

रास्वपा महामन्त्री डा. मुकुल ढकालले ३९ जिल्लाका नेता तथा कार्यकर्तासँग छलफल गरेर त्यसको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए। पार्टीमा बुझाउनुअघि नै सञ्चारमाध्यमहरूमा प्रतिवेदनका कुरा सार्वजनिक गरेकोलगायत विषयलाई लिएर महामन्त्री ढकालमाथि गत शुक्रबार पार्टीको अनुशासन समितिले स्पष्टीकरणसमेत सोधिसकेको छ।

महामन्त्री ढकालले बुझाएको प्रतिवेदनलगायत विषयमाथि छलफल गर्न रास्वपाले केन्द्रीय समिति बैठक पनि बोलाएको छ। महामन्त्री ढकालले सभापति लामिछानेसँग अब बस्ने केन्द्रीय समिति बैठक लाइभ गर्न प्रस्ताव गरेका छन्।

दुई घन्टाको छलफलमा के भयो कुराकानी?

शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच चलेको तीन घण्टा लामो छलफलको पृष्ठभूमिमा यो भेटवार्ता भएको हो।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच अहिलेकै सत्ता गठबन्धनलाई टिकाएर लैजानेबारे कुराकानी भएको प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्।

उनकाअनुसार राजनीतिक दलका नेताहरूबीच भेटघाट हुँदैमा विश्वासको वातावरण नबिग्रिने विषयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच समझदारी बनेको छ।

‘सत्तापक्ष र प्रतिपक्षका नेताहरूबीच भेटवार्ता हुनु सामान्य कुरा हो, सत्ताबाहेक अरू पनि राजनीतिक ऐजेण्डाहरू हुन्छन्,’ दाहालले भनिन्, ‘बाहिर चर्चा भएजस्तो यो गठबन्धन छोड्ने या नयाँ गठबन्धन बनाउने भन्ने केही पनि कुरा भएको छैन।’

लामिछाने सहितको संवाद पनि गठबन्धनलाई थप बलियो बनाउने भन्ने बारेमा केन्द्रित रहेको उनको भनाइ छ। उनीहरूबीच सोमबार बिहान ९ बजे छलफल गर्ने समझदारी बनेको छ।

शनिबार अध्यक्ष प्रचण्डसहितका नेताहरू सहभागी हुने पूर्वनिर्धारित कार्यक्रममा नगएर एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवासँग आफ्नै निवास बालकोटमा भेटेका थिए।

उक्त भेटमा के छलफल भएको थियो सार्वजनिक भइसकेको छैन। तर त्यो भेटपछि प्रधानमन्त्री र उनी अध्यक्ष रहेको माओवादी केन्द्र तरंगित बनेको छ।

अध्यक्ष ओली सिहंदरबार जानुअघि आइतबार बिहान प्रधानमन्त्री दाहाल र ओलीबीच टेलिफोन वार्तासमेत भएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds