बालोदयकी सभ्यताले ल्याइन् ४ जिपिए

बालोदयकी सभ्यताले ल्याइन् ४ जिपिए

baloday-savyata-1

पोखरा १७, बिरौटास्थित बालोदय माध्यमिक विद्यालयकी सभ्यता लामिछानेले एसइई २०८० मा सर्वोत्कृष्ट ४ जिपिए ल्याउन सफल भएकी छन् ।

बिरौटा निवासी उनी सानैदेखि उक्त विद्यालयमा पढेकी मेधावी छात्रा हुन् । उनले पढाइका साथसाथै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट हुँदै पुरस्कार जित्ने गरेको विद्यालयले जनाएको छ ।

यस्तै, अभिषेक लामिछाने, मन्जिल पौडेल, संकल्प ढकाल, सुविन्द्र सारु र लिलेन थापा गरी ५ जनाले जिपिए ३.९५ ल्याएका छन् । २१ जनाले जिपिए ३.६ देखि ३.९, १३ जनाले जिपिए ३.२ देखि ३.६ र ६ जनाले जिपिए २.८ देखि ३.२ सम्म ल्याउन सफल भए ।

नेपालभरबाट १८६ जनाले ४ जीपीए ल्याएका छन् ।  गत वर्ष कास्कीबाट मात्र ३ जनाले ४ जिपिए ल्याएकोमा यसपालि बढेर २१ जना पुगेको छ ।

मदरल्याण्डका १० जना विद्यार्थीले ४ जिपिए ल्याए । यस्तै, डिज्नील्याण्डका ३, गण्डकी बोर्डिङका २ जना छन् । बालोदय माविसँगै, एसओएस, सैनिक आवासीय मावि, सिर्जना मावि, नेशनल इन्भेन्टिभ र शान्ति निकेतनबाट १/१ जना विद्यार्थीको ४ जिपिए आएको सम्बन्धित विद्यालयले जनाएका छन् ।

एसइईमा नेपालभरबाट परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । देशभरबाट ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । उनीहरूमध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन् । ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) अर्थात् फेल भएको बोर्डले जनाएको छ।

विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको हो । आन्तरिकतर्फ २५ पूर्णाकको परीक्षामा ४० प्रतिशतअर्थात् १० अंक ल्याउनुपर्छ । ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।

विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् । एसइई परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds