रास्वपा महामन्त्री मुकुलको निष्कर्ष : रास्वपा सकिँदैछ, ८४ सम्म विवेकशीलकै हालत हुन सक्छ

रास्वपा महामन्त्री मुकुलको निष्कर्ष : रास्वपा सकिँदैछ, ८४ सम्म विवेकशीलकै हालत हुन सक्छ

ओली र प्रचण्डसँग भन्दा बालेनसँग मिल्नु ठिक

mukul-dhakal

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले वैकल्पिक राजनीतिक शक्तिको रुपमा उम्रिएको रास्वपा र रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको ‘विश्लेषण प्रतिवेदन’ तयार पारेका छन्।

पार्टी गठन र राजनीतिक अभियानको यो दुई वर्षमै रास्वपा ‘विवेकशील’ पार्टीको नियतिमा पुग्नै लागेको उनको निष्कर्ष छ।

एकातिर चर्को स्वरमा ‘मिसन–८४’को बाँसुरी बजाइरहँदा, अर्कोतिर महामन्त्री ढकालले गृहमन्त्रीसमेत रहेका लामिछाने र रास्वपा जमातको असली रुप देखाइदिएका छन्।

इलाम क्षेत्र नम्बर २ को चुनावी परिणामपछि राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई देशव्यापी कार्यकर्ता भेटघाट गरेर समीक्षा गर्न खटाएको थियो। त्यसपछि उनी देश दौडाहामा निस्किएका थिए।

‘समीक्षा यात्रा’ सकेर ‘विश्लेषण प्रतिवेदन’ तयार पारेका उनले अर्को निर्वाचन नआउँदै ‘रास्वपा विघटन’को संघार पुग्नसक्ने चेतावनी दिएका छन्।

स्थापनाको छोटो समयमै संघीय संसद्‍का २१ सिट जित्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी संकटतिर धकेलिएको प्रतिवेदन महामन्त्री मुकुल ढकालले ल्याएका छन् ।

महामन्त्री ढकालले परम्परागत राजनीतिक दलको बाटोमै हिँड्दा रास्वपाको हविगत पनि ‘विवेकशील भाग–२’ बन्नसक्ने अनुमान गरेका छन्।

उनको प्रतिवेदनलाई उपसभापति डिपी अर्यालनिकट एक केन्द्रीय सदस्यले विश्लेषण प्रतिवेदन नभनी ‘भ्रमपूर्ण प्रतिवेदन’ भनेका छन्।

सभापति लामिछानेको ‘कोर टीम’बाट निकालेपछि महामन्त्री ढकालले बिरक्तिएर आम–जनमानसमा भ्रम सिर्जना गर्न खोजिरहेको ती सदस्यले आरोप लागएका छन्।

‘महामन्त्रीजी ठूलो भ्रममा हुनुहुन्छ! उहाँ गुटबन्दीमा रमाउने स्वभावको मान्छे हो। उहाँ देशभर डुलेर काठमाडौँ फर्किनुभयो, त्यो त ठिकै थियो। तर त्यो समीक्षा यात्रा नभइ, कुण्ठा यात्रा हो। उहाँले प्रतिवेदनको नाममा एउटा चिठ्ठी लेखेको सुनिरहेका छौँ। तर त्यो उहाँको भावुक सन्देश होइन, रुन्चे सन्देश हो,’ ती केन्द्रीय सदस्यले भने।

रास्वपाका कतिपय केन्द्रीय सदस्यहरूले महामन्त्री ढकालको कार्यशैलीलाई रुचाएका छैनन्। उनीहरू ‘केटाकेटीलाई महामन्त्री’ बनाउँदाको परिणाम भन्छन्।

‘पार्टी सभापति रवि लामिछाने र महामन्त्रीको सम्बन्धमा चिसोपना आएपछि उहाँ बोल्ड निर्णय, बोल्ड निर्णय भन्दै हिँडेको देखियो! खास के हो त्यो बोल्ड निर्णय भनेको?,’ सभापति लामिछानेको कोर टिमका एक सदस्यले भने।

महामन्त्री ढकाल ६ गतेदेखि देश भ्रमणमा निस्किएका थिए। असार ६ गतेसम्म उनी ३९ जिल्लामा नेता तथा कार्यकर्तासँग भेटघाट र कुराकानी पनि गरेका छन्।

करिब साढे २ हजार मान्छेसँग दोहोरो कुराकानी गर्नका लागि ढकालले लगभग ८० किलोमिटर पैदल यात्रासहित ४ हजार २१६ किलोमिटर सडक यात्राको दूरी नापेका छन्।

गत वैशाख १० गते इलाम क्षेत्र नम्बर २ मा जमानत जफत हुने गरी रास्वपा हारेको थियो । त्यसपछि रास्वपाले नेताहरूलाई देशब्यापी अभियानमा होमेको थियो । रास्वपाले कार्यकर्ता भेटघाट र समीक्षाका लागि खटाएपछि ढकाल देश यात्रामा होमिएका थिए ।

उनले ‘समीक्षा यात्रा’ टुंग्याएर तयार पारेको‘विश्लेषण प्रतिवेदन’ सभापति लामिछानेलाई बुझाएका हुन् ।

ओली र प्रचण्डसँग भन्दा बालेनसँग मिल्नु ठिक

महामन्त्री डा. ढकालले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग सत्तामा सम्झौता गर्नुभन्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर रहेको निष्कर्ष सहितको प्रतिवेदन तयार पारेका छन्।

 महामन्त्री ढकालले पुराना दलहरूसँग भन्दा स्वतन्त्रहरू सँगको सहकार्यलाई अगाडि बढाउनुपर्ने निचोड निकालेका हुन्।

महामन्त्री ढकालले २०८४ को निर्वाचनभन्दा पहिला नै काठमाडौंका मेयर बालेन शाह, धनगढी उपमहानगरका मेयर गोपी हमालसँग सहकार्यको हात फैलाउनुपर्ने उल्लेख गरेका छन्। स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरको मेयर जितेका हर्क साम्पाङबारे भने महामन्त्री ढकालको प्रतिवेदन मौन छ।

‘समीक्षा बैठकमा सहभागी अधिकांशको मत पनि बालेनसँगको सहकार्यलाई लिएर थियो। बालेनको टिमसँग हामी नियमित सम्पर्कमा रहे पनि बालेन आफैको भनाइअनुसार उनी राजनीतिमा छैनन्। र उनी स्थानीय तहका प्रमुख हुन्। उनको विचारमा या गैरराजनीतिक पद हो,’ महामन्त्री ढकालको प्रतिवेदनमा उल्लेख छ।

मेयर बालेन राजनीतिमा आउँछन् वा आउँदैन् भन्ने अहिलेको प्रश्न रहेको उनले बताएका छन्। राजनीतिमा आए फरक दल खोलेर आउँछन् कि आउँदैनन् भन्ने चासो आमनागरिकमा रहेको पाइएको महामन्त्री ढकालको भनाइ छ।

‘बालेन राजनीतिमा आए स्थानीय तह गैरदलीय हुनुपर्छ भनेर बोकेको आफ्नो राजनीतिक एजेन्डा त्याग्छन् कि त्याग्दैनन्। २०८४ को स्थानीय तह चुनावमा स्वतन्त्रहरूको छुट्टै टोली बनाएर स्थानीय त गैरदलीय हुनुपर्छ भन्ने आफ्नो अभियानलाई अगाडि बढाउन सक्छन्। २०८९ चुनावताका मात्रै आफ्नो पार्टी खोल्ने सम्भावना छ,’ महामन्त्री ढकालको भनाइ छ।

मेयर बालेनसँगको सहकार्यको कुरा गरेर मात्र नपुग्ने उनी बताउँछन्। त्यसका लागि बालेनले उठाएका राजनीतिक एजेन्डामा पार्टी सहमत हुन्छ कि हुँदैन पनि उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ छ।

‘हामी स्थानीय तहलाई गैरदलीय रूपमा अघि बढाउन तयार छौं कि छैनौं पनि महत्त्वपूर्ण छ। अराजनीतिकरणको मूल मुद्दा पार्टीको पनि भएकाले स्थानीय तह गैरदलीय हुनुपर्ने पार्टीको मूल मुद्दासँग मेल खान्छ,’ उनले भनेका छन्।

पछिल्ला दिनमा अराजनीतिकरणको मुद्दा पार्टीले बिर्सिएको सन्दर्भ पनि उल्लेख गरेका छन्। रास्वपाले पनि सानादेखि ठूलासम्म ठाउँमा कता न कता राजनीति सुरू गरिसकेको बताएका छन्।

‘हामी हाम्रो मूल मुद्दा अराजनीतिकरणमा फर्कने, स्वतन्त्र पार्टी स्वतन्त्रहरूको पार्टी बनाउने, स्थानीय निकाय गैरदलीय बनाउनेमा सहमत हुँदै स्थानीय तह गैरदलीय बनाउने र स्वतन्त्र पार्टी पनि स्थानीय तह चुनावमा भाग नलिने हिम्मतसहितको निर्णय गर्न सके बालेनसँगको सहकार्य त्यति पर छैन,’ उनले भने।

मेयर बालेनले उठाउँदै आएको बागमतीलगायत नदी किनारका अनधिकृत बस्ती हटाउने विषय सरकारमा भएकाबेला सहयोग गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ।

सभापति रवि लामिछाने पहिलो पटक गृहमन्त्री भएका बेला पनि मेयर बालेनले बागमती लगायत नदी किनारका बस्ती हटाउने विषयमा छलफल भएको थियो। तर त्यतिबेला ठोस छलफल भने भएन।

अहिले सरकारमा भएका बेला बालेनलाई नदी तटका बस्ती हटाउन सहयोग गर्नुपर्ने उनले बताएका छन्।

‘त्यसो गर्ने हो भने बालेनसँगको सहकार्यको बाटो खोल्न सकिन्छ। बालेन, गोपी हमाल र हामी मिल्न सक्ने हो भने २०८४ मा स्पष्ट बहुमतको संकेत छ र यो मिलन २०८३ तिर मात्र हुँदा पुरानाले हामीविरूद्ध त्यति धेरै खेल्न सक्दैनन्। तर माहौल अहिलेबाटै बनाउन जरुरी छ,’ उनले भनेका छन्।

बालेनसँग दूरी बढाएर अघि बढ्दा त्यसले पार्टीलाई थप क्षति मात्रै गर्ने उनले बताएका छन्।

‘आजको दिनमा ओली र प्रचण्डसँग सम्झौता गर्नको सट्टा मेयर बालेनसँगको सहकार्यलाई प्राथमिकता दिनु हाम्रो लागि हितकर छ,’ महामन्त्री ढकालले प्रतिवेदनमा उल्लेख गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds