झलनाथ खनाल प्रतिष्ठानको सर्पपालनमा भ्रष्टाचार, पाँच जना दोषी ठहर

झलनाथ खनाल प्रतिष्ठानको सर्पपालनमा भ्रष्टाचार, पाँच जना दोषी ठहर

मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री सहित ५ जना दोषी ठहर

jhalanath khanal pratisthan

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार भएको ठहर भएको छ । मंगलबार विशेष अदालतले यस प्रकरणमा मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री विजयकुमार यादवसहित ५ जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र रायलाई पनि दोषी ठहर गरेको हो ।

अन्य दुईजनाले भने सफाइ पाएका छन् । सफाइ पाउनेमा लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेश सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठ रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७६–०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपूरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन गरिएको थियो ।

तर आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले कानुनविपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेर १७ करोड ९८ लाख ३३ हजार निकासा गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध २१ असोज २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले यसमा पाँचजनालाई दोषी ठहर गरेको हो ।

दोषी ठहर भएकाहरूको सजाय निर्धारणका लागि २५ असारमा इजलास बस्ने कार्यतालिका छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ