पाेखराका सडक स्तरोन्नति गर्न विश्व बैंकले ७७ करोड सहयाेग गर्ने

पाेखराका सडक स्तरोन्नति गर्न विश्व बैंकले ७७ करोड सहयाेग गर्ने

Pokhara Newroad

विश्व बैंकको आर्थिक सहयोगमा पोखरामा सडक स्तरोन्नति हुने भएको छ । पोखरा महानरपालिका–१७ दोबिल्लाबाट सुरु भएर बाघमारा–तिक्लाङ–बडहरकोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृति मावि) तगारेगौडा–तल्लो गगनगौडाँसम्मको सडक स्तरोन्नतिका लागि सम्झौता भएको हो ।

पोखरामा निर्माण हुने यस सडक विश्व बैंकको लगानीमा बन्न लागेको तेस्रो परियोजना हो । सो सडकको स्तरोन्नतिका लागि पोखरा महानगरपालिका र निर्माण कम्पनी आशिष निर्माण सेवा प्रालि भरतपुरबीच सम्झौता भइसकेको छ । सडक आगामी तीन सय ९० दिनमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

विश्व बैंकको रु ७७ करोड ६८ लाख ९२ हजार आठ सय ३७ लागत सहयोगमा दुईवटा खण्डमा सडक निर्माण हुने पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जानकारी दिए । उनका अनुसार परियोजनाअन्तर्गत करिब १२ दशमलव ४४ किलोमिटर सुविधासम्पन्न सडक निर्माण हुनेछ ।

सडकको पहिलो खण्डमा वडा नं ३३ को कार्यालयबाट उपल्लो पुँडीटारसम्म नौ दशमलव छ सय २७ किलोमिटर र दोस्रो खण्डमा पहिलो खण्डको अन्तिम विन्दुबाट तल्लो गगनगौडा (पृथ्वीराज मार्ग) सम्म दुई दशमलव आठ सय १३ किलोमिटर सडक निर्माण हुनेछ । सात मिटर चौडाइको सडक ‘अस्फाल्ट पिच’ हुनेछ । सडकको दायाँबायाँ ड्रेनसहितको दुई–दुई मिटरको ‘फुट ट्रयाक’ हुनेछ ।

सडक स्तरोन्नति सम्झौतापछि परियोजनाको ‘ज्वाइन्ट सर्भे’को काम सुरु भइसकेको महानगरले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत थापाले भने, “अबको केही दिनमा फिल्डमा काम सुरु हुनेछ । सडक स्तरोन्नति तोकिएको समयमा सम्पन्न गर्न र निर्माणमा गुणस्तर कायम गर्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेका छौँ ।”

पोखरा महानगरमा विश्व बैंकको सहयोगमा यस अघि तालचोक बेगनास सडक र शिशुवा–सिसाघाट सडक निर्माण दुई परियोजना सञ्चालनमा छन् । दोबिल्लाबाट वडा कार्यालयसम्मको बाटो सडक विभागले निर्माण गरिरहेको छ । तीनकुनेबाट दोबिल्ला पुलसम्मको बाटो भने प्रदेश सरकारको लगानीमा निर्माण भइरहेको छ । रासस

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds