नारायणकाजीको रवि लक्षित टिप्पणी : ठूल्ठूला कुरा गर्नेहरू अहिले आफ्नो पालोमा के गर्दैछन् ?

नारायणकाजीको रवि लक्षित टिप्पणी : ठूल्ठूला कुरा गर्नेहरू अहिले आफ्नो पालोमा के गर्दैछन् ?

Narayankaji-rabi

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफू गृहमन्त्री हुँदा पञ्चायतकालदेखिकै अनियमितता भएको फाइल खोलेको दाबी गरेका छन् ।

आज (शनिबार) काठमाडौंमा राष्ट्रिय युवा परिषद् र युवा गैरसरकारी संस्था महासंघ नेपालले संयुक्तरुपमा आयोजना गरेको ‘युथ लिडरसिप समिट–२०२४’ लाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भने, ‘म गृह मन्त्रालयमा हुँदा पञ्चायतकालदेखिको सबैलाई निकालेर कहाँ कहाँ गडबडी भएको छ । पैसा र राज्य आफूसँग छ वा पैसाको बलमा राज्यसँग पहुँच छ भने जे गरे पनि हुन्छ भन्ने मान्यतालाई भत्काउन खरबौँको जग्गा सरकारको बनाइयो । संलग्नलाई जेल हालियो । भुटानी शरणर्थी प्रकरणमा संलग्नलाई जेल हालियो ।’

उनले आफ्ना मान्छे आउने देखियो भने त्यो फाइल खोल्ने कि नखोल्ने भनेर देश विकास नहुने बताए । गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै उनले भने, ‘अरू बेलामा ठूल्ठुला कुरा गर्नेहरु आफ्नो पालो आएपछि चाहिँ भयो गरौं कि नगरौं भन्ने अनि कसरी हुन्छ ? त्यसमा पनि ध्यान जानुपर्छ ।’ उनले मुलुकको सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पारेर स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने अहिलेको मुख्य प्राथमिकता रहेको बताएका छन् । उपप्रधानमन्त्री श्रेष्ठले न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गर्नैपर्ने बताए ।

गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै उनले भने, ‘अरू बेलामा ठूल्ठुला कुरा गर्नेहरु आफ्नो पालो आएपछि चाहिँ भयो गरौं कि नगरौं भन्ने अनि कसरी हुन्छ ? त्यसमा पनि ध्यान जानुपर्छ ।’

मुलुकमा युवा उद्यमशीलता विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा विशेष व्यवस्था गरिएको जानकारी दिँदै उनले बजेटले उत्पादन वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएको बताए । राजनीतिक परिवर्तन पछाडि मुलुकले तीव्र आर्थिक फड्को मार्न नसकेको यथार्थ स्वीकार गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, ‘यसमा आलोचना गरौं तर मुलुकको गौरवपूर्ण इतिहासप्रति गर्व गरौँ, सकारात्मक विषयलाई मनन गरौँ, समस्यालाई सच्याएर अगाडि बढौं ।’

उपप्रधानमन्त्री श्रेष्ष्ठले जनताको संघर्षको बलमा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै आर्थिक समृद्धिको मार्गमा अघि बढ्नु वर्तमानमा सबैको आवश्यकता भएको उल्लेख गरे । ‘राजनीतिक प्रणालीलाई प्रजातन्त्रिक त बनायौँ, तर यसले सामाजिक आर्थिक रुपान्तरणका पक्षमा माध्यम र साधनको काम गर्नुपर्थ्यो, त्यसो हुन सकेको छैन’, उनले भने, ‘आर्थिक समृद्धिलाई तीव्र पारेर समृद्धिको मार्गमा पुर्‍याउनु पर्छ ।’

मुलुकमा वैचारिक र सांस्कृतिक रुपान्तरणको आन्दोलनको खाँचो रहेको औँल्याउँदै उपप्रधानमन्त्री श्रेष्ठले समाजका सबै पक्षभित्र रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । ‘राजनीतिक दलभित्र शुद्धीकरणको अभियान चलाउनुपर्छ, राजनीति सफा नगरी विकास र समृद्धिको कार्यभार पूरा हुन सक्दैन’, उनले भने, ‘मुलुकलाई आर्थिकरुपमा सबल बनाउन राजनीतिक संस्कारमा परिवर्तन हुनैपर्छ, यसमा युवाको सक्रिय सहभागिताको आवश्यक छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. तोसिमा कार्कीले मुलुकलाई आर्थिक रुपमा सबल बनाउन नेपालका राजनीतिक दलहरु सक्षम रहेको बताइन् । ‘नेपाललाई समृद्धि बनाउन हामी सक्षम छौँ, चुनौती छन् तर त्यसलाई अवसरमा परिणत गर्न सक्छौँ’, उनले भने। मुलुकको आर्थिक उन्नतिमा प्रमुख भूमिका खेल्न सक्ने युवा जनशक्तिलाई पछाडि राखेर समृद्धि हासिल गर्न नसकिने भन्दै सांसद कार्कीले अब युवा नेतृत्वका लागि अगाडि आउनुपर्ने बताइन् । ‘युवा राजनीतिमा मात्रै होइन, स्वास्थ्य, शिक्षा, कृषि, विज्ञान प्रविधिलगायत समाजका विविध क्षेत्रमा अगाडि आउनुपर्छ’, उनले भने, ‘यसका लागि सरकार र सरोकारवाला निकायले युवामैत्री नीति र वातावरण बनाउनु पर्छ ।’

परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाको क्षमता, नेतृत्व, सीप विकास, उद्यमशीलता र स्वरोजगारबा बाटोमा उन्मुख गराउन सीमित साधनस्रोतका बाबजुद परिषद् क्रियाशील रहेको जानकारी दिए । उनले तीनै तहका सरकारले युवा मैत्री वातावरण तयार गर्नेमात्र नभई स्वदेशमै उद्यमशील र स्वरोजगार बनाउन भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए ।

गणतन्त्र स्थापनापश्चात् मुलुकले राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा ठूला उपलब्धि हासिल भएको उल्लेख गर्दै परिषद्का उपाध्यक्ष बस्नेतले भने, ‘शासकीय भूमिका तथा राज्यका निकायमा महिला, मधेसी, दलित, जनजातिलगायत अल्पसङ्ख्य तथा लोपोन्मुख समुदायको प्रतिनिधित्व बढेको छ ।’ युवा पिँढीलाई भविश्यका कर्णधारका रुपमा मात्र सीमित नगरी वर्तमानको साझेदार र हिस्सेदार बनाउन सक्दा मात्रै युवा जनसांख्यिक लाभबाट मुलुकले फाइदा लिन सक्ने उनको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds