पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१–०८२ का लागि प्रस्तुत गरेको बजेटमा गडबढ भएको प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएको छ ।
बिहीबार प्रदेश सभामा बजेटमाथिको छलफल कार्यक्रममा बोल्दै एमाले प्रदेश सभा सदस्य लिलबहादुर थापा मगरले बजेटमा भएको गडबढका सम्बन्धमा विभिन्न विषय उठान गरेका थिए । उनले बजेटमा देखिएको कमजोरीका कारण सरकार र अर्थमन्त्रीप्रति नैतिकताको संकट देखा परेको बताए ।
सरकारले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यसरी प्रस्तुत गरिएको बजेटको खर्च गर्ने श्रोतको बारेमा उल्लेख गरिएको अंकको जोड कुल बजेटसँग बराबर नभएपछि यो विषयले संसदमा प्रवेश पाएको हो ।
थापामगरले बजेटको श्रोतमा संघ सरकारबाट १२ अर्ब ५८ करोड ५४ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, आन्तरिक राजश्वबाट ५ अर्ब १७ करोड, आन्तरिक ऋणबाट १ अर्ब ७० करोड तथा आर्थिक वर्ष २०८०–२०८१ को योजना बजेटबाट बचेको कार्यान्वयनपछिको बजेट २ अर्ब ९४ करोड मौज्दात भनेर श्रोत उल्लेख गर्दा कुल बजेटसँग हिसाब नमिलेको खुलस्त पारे ।
यो जोड्दा कुल बजेट भन्दा ४९ करोड ९ लाख ७५ हजार अपुग हुन्छ । ‘यहीं नै फुल बजेट भनिएको छ, पुग्यो त? सरकार तर्फबाट जवाफ चाहियो’ उनले भने ।
सरकारले हडबडमा गडबढ भएको भनेर सुख नपाउने उनको तर्क थियो । यो विषयमा स्पष्ट जवाफ नआउँदासम्म संसद चल्न नसक्ने उनको भनाई थियो । आफूले यस अगाडिको संसदमा समेत हिसाब नमिलेको कुरा प्रष्ट रुपमा राखेको स्मरण उनले गरे।
थापाको भनाई पश्चात एमाले गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्द बहादुर नेपालीले स्पष्ट जवाफ नआए बैठक सञ्चालन गर्न नदिने बताए । त्यसपछि बैठक १० मिनेटका लागि स्थगित भयो । तर, १० मिनेटका लागि स्थगित भएको बैठक २ घण्टा भन्दा बढी समय पछि साढे ४ बजे बल्ल सुरु भयो ।
त्यसपछि अर्थमन्त्री डा.टक बहादुर गुरुङले दिएको जवाफमा प्रमुख प्रतिपक्ष दलले चित्त बुझाएन । प्राविधिक त्रुटि भनेर मात्र नहुने त्यसको स्पष्ट जवाफ आवश्यक पर्ने उसको माग थियो ।
एमालेका प्रमुख सचेतक नेपालीले यो विषयमा प्रष्ट नभइकन सदन चल्न सम्भव नभएको बताए । ‘मन्त्रीज्यूको जवाफ पनि आयो एउटा सिधा विषय के छ भने ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार विनियोजित रकममा खर्च गर्ने जुन–जुन श्रोतहरु बजेटमा देखाइएको छ त्यो स्रोतहरु जोड्दाखेरी टोटल बजेट आउन पर्छ की पर्दैन? हाम्रो प्रश्न यहीं मात्र हो । ४९ करोड ७ लाख ७५ हजार रुपैयाँको श्रोत कहाँ गयो? सिधा विषय छ यसमा । के विगतका बजेट यस्तै आउने गर्दथे?’ सचेतक नेपालीको प्रश्न थियो ।
खर्च बेहोर्ने श्रोतहरु जोड्दा कुल बजेट आउनुपर्ने विषय सामान्य भएको भएपनि त्यसमा के भयो ? भन्ने चित्तबुझ्दो जवाफ नआएको उनले खुलाए ।
‘हाम्रो यति मात्र प्रश्न हो की खर्च बेहोर्ने श्रोत जोड्दाखेरी टोटल बजेटको आकार क्यालकुलेटरमा देखिनुपर्यो । त्यो देखाउन सक्नुपर्यो । अर्थमन्त्री ज्यू त्यो देखाउन सक्नुपर्छ । यो विषयमा प्रष्ट नभइकन सदन चल्ने कुरा सम्भव छैन’ उनले भने ।
त्यसपछि प्रतिपक्ष दल एमाले र माओवादी केन्द्रका सासंदले उठेर विरोध जनाए । सभामुख कृष्ण प्रसाद धितालले आसनग्रहण गरेर वातावरण सहज बनाउन आग्रह गर्दा समेत नमानेपछि बैठक स्थगित भयो । अब अर्को बैठक असार ७ गते शुक्रबार साढे ११ बजे बस्नेछ ।
सम्बन्धित खबर
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी