भीरकोटमा विद्यालयस्तरीय शैक्षिक तथ्यांकसम्बन्धी ३ दिने अभिमुखीकरण तालिम

भीरकोटमा विद्यालयस्तरीय शैक्षिक तथ्यांकसम्बन्धी ३ दिने अभिमुखीकरण तालिम

talim bhrkt

स्याङ्जाको भीरकोट नगरपालिकामा आयोजित विद्यालयस्तरीय तथ्यांक अनलाइन प्रविधिमा आधारित आईईएमआईएस (IEMIS) सम्बन्धी ३ दिने अभिमुखीकरण तालिम आज सम्पन्न भएको छ ।

भीरकोट स्थित ४३ भन्दा बढी विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थितिमा ३ दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा अनलाइन प्रविधिमा आधारित IEMIS को प्रयोग तथा अद्यावधिक अभिलेखिकरण गर्न सहजीकरण गराइएको अभिमुखीकरण तालिमका सहजकर्ता विष्णु भट्टराईले जानकारी दिए ।

हालैमात्र अपडेटेड भर्सनमा आएको सो प्रविधिमा विद्यालय तथा विद्यार्थीको अभिलेख भण्डारण र अभिलेखिकरणमा कुनै द्विविधा उत्पन्न नहोस् भन्ने उद्देश्यले अभिमुखीकरण तालिम आयोजना गरिएको सहजकर्ता भट्टराईले बताए ।

तालिमको पहिलो दिनमा विद्यालयको अभिलेखिकरण गराई सुरु गरि IEMIS को ड्यासबोर्डमा रहेका हरेक चरणहरुलाई प्रयोगात्मक विधिमार्फत अभ्यास गराइएको हो । उक्त अनलाइन सफ्टवेयरमा विद्यालयको शैक्षिक, भौतिक अवस्था, विद्यालयमा कार्यरत शिक्षकहरुको अभिलेखिकरण, विद्यार्थीहरुको रेकर्ड अध्यावधिक, परिक्षा सञ्चालन तथा नतिजा सार्वजनिक गर्ने लगायतका विभिन्न चरणहरु समाविष्ट छन् ।

भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कर्माचार्यले समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगरभित्रको शिक्षा क्षेत्रमा आफूले सुधारको निरन्तर प्रयास गरिरहेको बताउँदै पालिकालाई जिल्ला मात्र नभई प्रदेशकै शैक्षिक हव बनाउने अभियानमा शिक्षकहरुलाई साथ दिन अनुरोध गरे । कार्यक्रममा नगरप्रमुख कर्माचार्यले आफ्नो जागिरभन्दा बढी पेशागत मर्यादा ख्याल राख्दै शिक्षकहरु कर्तव्यनिष्ठ बन्न सके शिक्षा क्षेत्रमा व्यापक परिवर्तन आउने बताए ।

यस्तै, शिक्षकको देन नै शिक्षा सुधारको उपाय भएको बताउँदै नगर शिक्षा शाखा प्रमुख उपसचिव विष्णुप्रसाद कोइरालाले शिक्षा क्षेत्रमा अनवरत सक्रिय रहन शिक्षकहरुलाई अनुरोध गरे । उनले आफ्नो तर्फबाट हुने हर प्रयासहरु गर्ने स्पष्ट पार्दै शिक्षकहरुको हर कठिनाईसङ्ग आफू साथमा रहेको बताए ।

तीन दिनसम्म चलेको उक्त अभिमुखीकरण तालिमको हरेक दिन रिपोर्टिङ गर्ने व्यवस्था मिलाइएको थियो । तीन दिनसम्मको रिपोर्टिङ संक्षेपमा प्रस्तुत गर्दै शिक्षक जीवन अर्यालले उक्त कार्यक्रमको आयोजना र सहजीकरणका लागि भीरकोट नगरपालिकालाई आभार व्यक्त गरेका थिए । उनके यस्ता खालका कार्यक्रमको निरन्तरताले शिक्षकको पेशागत उन्नयनको पथ खडा हुने समेत बताएका थिए ।

विद्यालयस्तरीय शैक्षिक तथ्यांकसम्बन्धी ३ दिने अभिमुखीकरण तालिमको सहजीकरण भीरकोट नगरपालिका शिक्षा शाखाका प्रास विष्णु भट्टराईले गरेका थिए । उक्त कार्यक्रममा ४३ बढी शिक्षकहरुको उपस्थिति रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds