घट्न थाले अन्नपूर्ण पदमार्गमा पर्यटक

घट्न थाले अन्नपूर्ण पदमार्गमा पर्यटक

trek

Photo: Google

लमजुङ । पाँच जिल्ला जोडिएको पर्यटन क्षेत्रमा महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा पछिल्लो समय पर्यटक घट्न थालेका छन् । यहाँ २ सय ५० हाराहारीमा दैनिक पर्यटक आउने गरेकामा वर्षा सुरु हुन थालेपछि १५–२५ जना मात्र आउन थालेका मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ ।

वर्षा सुरु हुन लागेपछि यहाँ यतिबेला दैनिक १५ देखि २५ जनासम्म पर्यटक आउने गरेका केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताए । उनले भने, ‘केही साता अघिसम्म २ सय ५० जना आउने गरेकामा उक्त संख्याबाट घटेर दैनिक ४०÷५० को हाराकारीमा आएको थियो । त्यो संख्या पनि घट्ने क्रममा छ ।’

मंगलबार पदमार्गका लागि ९ जना मात्र पर्यटक आएका गुरुङले जानकारी दिए । उनका अनुसार यो संख्या पनि अझै घट्दै ५/६ जनामा आउन सक्नेछ । भदौ लागेपछि पुनः पर्यटककीय चहलपहल सुरु हुने भन्दै भदौअघि पर्यटक आगमन कम हुँदै जाने उनको भनाइ छ ।

विगतमा यस पदमार्गमा दैनिक ५÷६ सय पर्यटक आउने गर्दथे । कोरोना महामारीपश्चात् थलिएको यस क्षेत्रको पदमार्गमा महामारीपछि पुरानो गतिमा पर्यटक आगमन हुन सकेको छैन । विदेशी तथा आन्तरिक पर्यटकको चहलपहल हुने यस पदमार्गमा पर्यटक घट्न थालेसँगै पदमार्गसँगै आसपासका होटल, रेष्टुरेन्ट समेत सुनसान हुन थालेका पर्यटन व्यवसायीको भनाइ छ ।

लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेका पर्यटन व्यवसायी बाबुराम तामाङले पर्यटक आगमन भइरहँदा दैनिक ३०–४० हजार आम्दानी हुने भन्दै यतिबेला पर्यटक घट्दा ५–१० हजार मात्र हुने गरेको बताए । बर्खा लागेपछि झन आम्दानी ठप्प हुने उनको भनाइ छ ।

पर्यटन व्यवसायी पच्चबहादुर गुरुङले भने, ‘तीन दिन अघिसम्म केही पर्यटक होटलमा आए पनि सोयता व्यापार ठप्पै भएको छ ।’ यस वर्षको पर्यटनको याममा १० लाख आम्दानी भएको जनाउँदै उनले वर्षाभरि सोही रकमले घरखर्च चलाउने बताए । उनका अनुसार भदौ लागेपछि पुनः पर्यटक आगमन हुने र व्यापार व्यवसाय चलायमान हुनेछ ।
बर्खा लागेसँगै बाटो अप्ठ्यारो, बाढी पहिरो आउनेलगायत समस्या हुने भएकाले पर्यटक ठप्प हुने केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख गुरुङले सन् २०२४ को जनवरीदेखि जुन ४ सम्म यस पदमार्गमा १० हजार २ सय ७९ जना विदेशी पर्यटक आएका छन् । उक्त अवधिमा आएका पर्यटकमध्ये सबैभन्दा धेरै फ्रान्सका १ हजार ४९, इजरायलका ८ सय ३१, जर्मनीका ७ सय ७१, चाइनाका ६ सय ९६ रहेका उनले बताए । सन् २०२३ को जनवरी १ देखि जुन ४ तारिखसम्म २ हजार २ सय ४१ जना पर्यटक आएका थिए ।

पर्यटकहरू हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको संस्कृति, परम्परा र रहनसहन, प्राकृतिक सुन्दरता हेर्ना साथै मनाङबाट मुस्ताङ, कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा आउने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारमा छ ।

पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी ५ जिल्ला जोडिएको छ । काठमाडौं हुँदै सवारीसाधनमा लमजुङ बेंसीसहरमा पर्यटक आउने गर्दछन् । यस पदमार्गमा विगतको तुलनामा कोरोनापश्चात् कम पर्यटक आगमन हुन थालेका छन् । आर्थिक मन्दी, पदमार्ग जीर्ण, सडकले केही ठाउँमा पदमार्ग मासिनुलगायत कारणले कम पर्यटक आएका हुन सक्ने पर्यटन व्यवसायी बताउँछन् । रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds