काठमाडौँ — सहकारीको बचत रकम अपचलनको छानबिन गर्न कार्यादेश बनाउने समितिका सदस्य तथा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नामै तोकेर जानुपर्ने भनेपछि सहमति नजुटेको बताएका छन् ।
सहकारीको बचत रकम ठगीमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले संसद्का बैठक निरन्तर अवरुद्ध गरिरहेको छ ।
संसद्को अवरोध हटाउन सत्ता र प्रतिपक्षबीच शनिबार संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको थियो । उक्त समितिको कार्यादेश तय गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा समिति बनेको थियो ।
उक्त समितिको आइतबार दुई पटक बसेको बैठकमा कांग्रेसका प्रतिनिधिले कार्यादेशमा रवि लामिछानेको नाम किटेरै जानुपर्ने भनेपछि सहमति नजुटेको एमालेका प्रमुख सचेतक एवं समिति सदस्य बर्तौलाले जानकारी दिए । ‘रवि लामिछानेमाथि नै छानबिन गर्नुपर्छ भनेर नामै किटेर जानुपर्छ भन्ने प्रमुख प्रतिपक्षको कुरा रह्यो । समितिले छानबिन गर्नु पहिला नै ठगीमा जोडिएको, अपचलनमा संलग्न हो भन्ने हिसाबले नाम राख्नुपर्छ भन्ने विषय आएको छ, त्यसमा सहमति हुने स्थिति बन्दैन,’ बर्तौलाले भने ।
संसदीय समिति गठनको गलत नजीर बनाउन नहुने बर्तौलाको भनाइ थियो । ‘संसदीय समितिले एउटा व्यक्तिमाथि लक्षित भएर मात्रै काम गर्ने, छानबिन गर्ने हुँदैन । समग्र सहकारी, जहाँ बदमासी भएको छ, ठगी भएको छ, प्रश्न उठेका छन्, गलत ढंगले कर्जा प्रवाह भई ठगी भएको विषयमा छानबिन गरौं भन्यौं,’ उनले भने । संसदीय समितिले समग्र सहकारीको ठगीको छानबिन गरी सुझावसहित प्रतिवेदन तयार पार्ने कार्यादेश बनाउनुपर्ने सत्तापक्षको भनाइ छ ।
प्रतिपक्षले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएका कास्की, चितवन र रुपन्देहीका चारवटा सहकारीको मात्रै छानबिन गर्नुपर्ने माग राखेको र सत्तापक्षले समस्याग्रस्त सबै सहकारीको छानबिनको अडान राखेको छ ।
सहकारी छानबिनको कार्यादेश तय नहुँदा प्रतिनिधिसभा आइतबार मात्रै दुईपटक सूचना टाँसेर स्थगित गरिएको छ भने राष्ट्रिय सभा सूचना टाँसेर सोमबारसम्मका लागि स्थगित गरिएको छ ।
झारा टार्ने खालको संसदीय समिति मान्दैनौं : रमेश लेखक
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सत्ता पक्ष सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउने कुरामा जिम्मेवारपूर्ण रुपमा प्रस्तुत नभएको आरोप लगाएको छ ।
आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो आरोप लगाएका हुन् । सरकार संसदीय समिति बनाउन तयार भएपनि आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न तयार नभएको उनले उल्लेख गरे ।
‘संसदीय छानबिन समिति बनाउने भन्नेकुरामा सहमति नै छ । त्यसका लागि कार्यादेशसहितको तयारी गरेर जाने भन्नेकुरा भइरहेको छ । सत्तापक्षका साथीहरुको कस्तो देखियो भने झापामा आगो लाग्यो कञ्चनपुरमा निभाउन जाउँ भने जस्तो देखियो । संघीय संसदमा देशभरमा जे विषय उठेको छ । त्यो विषयका बारेमा प्रवेश नगर्ने, बोल्दै नबोल्ने र त्यो बाहेकका अरु कुरामा प्रवेश गरेर झारो टार्ने रुपमा प्रस्तुत हुनुभएकाले कुरा मिलिरहेको छैन’ लेखकले भने । उनले समग्र सहकारीको समस्या पनि कसरी समाधान गर्ने भन्ने कुरा उल्लेख गरेर जानुपर्ने आफूहरूको धारणा रहेको बताए ।
‘जोखिमयुक्त, संकटग्रस्त सहकारीका बारेमा पनि बोलेर जाउँ, त्यसका सँगसँगै सहकारीबाट विभिन्न व्यक्ति, निजी कम्पनीमा रकम अपचलन, हिनामिना, दुरुपयोग भएको छ । त्यसमा उपप्रधान एवं गृहमन्त्रीकै नाम जोडिएकाले कांग्रेसले मुद्दा उठाएको छ, सर्वत्र कुरा उठेको छ भने के हो यसको बारेमा पनि छानबिन गरेर जाउँ भन्ने हो । उहाँहरुको कुरा जिम्मेवारपूर्ण आएन ।’
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो