मुख्यमन्त्री अधिकारीद्वारा पोखरा १६ मा निर्मित पूल तथा सडकको उद्घाटन

विकास निर्माण

मुख्यमन्त्री अधिकारीद्वारा पोखरा १६ मा निर्मित पूल तथा सडकको उद्घाटन

'विकास गाउँमा जाने तर गाउँका बासिन्दा शहर झर्ने'

6

पोखरा महानगरपालिका वडा नम्बर १६ मा गण्डकी प्रदेश सरकारद्धारा सम्पन्न भएका सडक तथा पूलको उद्घाटन गरिएको छ ।

शनिबार पोखरा महानगरपालिका वडा नम्बर १६ र पूर्वाधार विकास कार्यालय कास्कीको संयुक्त आयोजनामा भएको कार्यक्रम मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भूतेखोला मोटरवेल पूल, भित्तेबजार सडक स्तरोन्नती र घुरकुना दाद्रे र्‍याले सडकको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजीव गुरुङ समेत सहभागी थिए ।

पूर्वाधार विकास कार्यालय कास्कीका सि.डि.इ.शोभियत खड्काले तीनवटै योजनाको वस्तुस्थिति, खर्चको अवस्था लगायतका विषयमा प्रष्ट पारेका थिए । खड्काका अनुसार तीनवटै योजना आर्थिक वर्ष ०७९–०८० मा सुरु भएर आर्थिक वर्ष ०८०–०८१ मा सम्पन्न भएका योजना हुन् ।

भित्तेबजार सडक स्तरोन्नती काम अमित विल्डर्स खासाङ गाउँपालिका मुस्ताङको निर्माण व्यवसायीले सम्पन्न गरेका हुन् । यो योजनाको ठेक्का सम्झौता रकम ३ करोड ८१ लाख रुपैयाँ भएपनि ३ करोड ७१ लाखमा करिब ७ सय मिटरसडक स्तरोन्नती सम्पन्न भएको हो । बाटोको कुल चौडाई ८ मिटर रहेको छ ।

भूतेखोला मोटरवेल पूल निर्धारित समय भन्दा चार महिना अगाडि सम्पन्न भएको बताइएको छ । भदौरे निर्माण सेवा पोखराका निर्माण व्यवसायीले यो योजनाको ठेक्का प्राप्त गरेका थिए । ३ करोड २८ लाखमा सम्पन्न भएको पूल १४ मिटरको लम्बाइको रहेको छ ।

घुरकुना दाद्रे ¥याले सडक ३ करोड ५८ सम्झौता भएपनि ३ करोड ७६ लाख लागत लागेको थियो । यो योजनामा लागत बढ्नुको कारण बस्ती बग्न सक्ने जोखिम देखिएर ग्याबिनको काम थप गर्नु परेकोले भएको प्रष्ट पारिएको छ । कुल ३ किमी सडक मध्ये ८ सय ४० मिटरमा कालोपत्रे तथा बाँकीमा ग्राबेल र नाला निर्माण गरिएको हो । यो सडक अर्मलाकोट हुँदै आटीघर मौजा, दुधपोखरी, सिक्लेस, हुँदै मनाङसम्म जाने सडक हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले विकास गाउँमा जाने तर गाउँका बासिन्दा शहर झर्ने क्रम बढेको भन्दै यो क्रम रोकिनुपर्ने औंल्याए । विकास गाउँमा पुगेपछि त्यसको फाइदा लिँदै अर्गानिक खेती, होमस्टे लगायतका कार्य मार्फत पर्यटन मैत्री वातावरण निर्माण गरेर गाउँमा घुम्नको लागि पाहुना पुग्ने अवस्था सिर्जना गर्नुपर्ने बताए । ‘पूर्वाधार गाउँमा हुने तर मानिसहरु गाउँ छोडेर जाने भयो, यसलाई रोक्नुपर्छ’ उनले भने ।

अर्मलामा बेला–बेलामा प्राकृतिक विपत्ति आएकोतर्फ संकेत गर्दै उनले प्रकृतिको दोहोन ठीक तरिकाले हुनुपर्नेमा जोड दिए । जनसंख्या वृद्धि भएपनि खोलाघरलाई कायमै राख्न उनको सुझाब छ । निकास मिचेर नभई निकास दिएर मात्र विकास गर्नुपर्ने उनले खुलाए । दबाब आयो भन्दैमा जोखिम बढी भएको ठाउँमा घरहरु निर्माण गर्ने अनुमति नदिन प्राविधिकहरुलाई समेत निर्देशन दिए ।

‘प्रकृतिको आफ्नै नियम छ, जहाँ पनि घर बनाएको कारण समस्या आउने गरेको छ, जति जनसंख्या बढेपनि खोलाघरलाई कायमै राख्नुपर्छ, निकास मिच्ने होइन व्यवस्थित गर्ने हो’ उनले भने ।

मुख्यमन्त्री अधिकारीले पोखरा १६ को विकासको लागि आफ्नो तर्फबाट हुन सक्ने सहयोगकको लागि सदैव तयार रहेको बताए ।

पोखरा १६ का वडा सदस्य रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा, पोखरा १६ का पूर्व वडाध्यक्ष जीवन आचार्य र स्थानीय लिलाधर आचार्यले पोखरा १६ मा भएका विकास निर्माणका कार्य र भोग्नुपरेका समस्याका बारेमा बोलेका थिए ।

कार्यक्रममा सहजीकरण श्यामलाल लामिछानेले गरेका  थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds