प्रहरीमा चार एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

बढुवा

प्रहरीमा चार एसएसपी डीआईजी बढुवाका लागि सिफारिस

एसएसपी दान कार्की आफ्नो ब्याचबाट पहिलो नम्बरमा

dig sifaris

काठमाण्डौँ । नेपाल प्रहरीका चार जना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार एसएसपीहरूलाई बढुवा सिफारिस गरेको हो ।

सिफारिस सूचीअनुसार पहिलो नम्बरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा कार्यरत कृष्णहरि शर्मा पोखरेल  सिफारिस भएका छन् । दोस्रो नम्बरमा प्रहरीको महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी दानबहादुर कार्की सिफारिस भएका छन् ।

तेस्रो नम्बरमा प्रहरी प्रधान कार्यालयकै महिला तथा बालबालिका निर्देशनालयमा कार्यरत डा मनोज केसी सिफारिस भएका छन् । चौथो नम्बरमा प्रधान कार्यालयकै तालिम निर्देशनालयमा कार्यरत राजन अधिकारी बढुवा सिफारिस भएका छन् ।

दान कार्की आफ्नो ब्याचबाट पहिलो नम्बरमा छन् । उनी एसपी रहँदा कास्कीको प्रहरी कमाण्डर पनि रहे ।

मेरिटसँगै कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको र यसले सङ्गठनलाई बलियो बनाउने प्रधान कार्यालयको विश्वास रहेकाे जनाइन्छ ।

तीन डीआईजीको दरबन्दी अहिले रिक्त भए पनि यही १० जेठमा अर्का डीआईजी सुरेन्द्र मैनाली उमेर हदका कारण अवकाशमा जाने भएपछि मैनालीको ठाउँमा रिक्त हुने दरबन्दीलाई समेत मिलान गरेर चार जनालाई बढुवाका लागि सिफारिस गरिएको हो ।

२०५१, २०५२, २०५३ र २०५४ मा प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना भएका चार ब्याचका ३० भन्दा बढी  एसएसपीहरु प्रतिस्पर्धामा थिए । २०५२ मा इन्पेक्टर भएका शर्मा, २०५४ को टोलीका कार्की, केसी र अधिकारी बढुवाका लागि सिफारिसमा परेका हुन् ।

बढुवाका लागि उनिहरुभन्दा अघिको ब्याचका एसएसपीहरू भोलाबहादुर रावल, ध्रुवराज राउत, गणेश चन्द, सिद्धिविक्रम शाह,सुशीलसिंह राठौर र उमाप्रसाद चतुर्वेदी समेत दौडमा थिए । उनीहरू छुटे ।

२०५१ र २०५३ मा प्रहरी निरीक्षकमा भर्ना भएका ब्याचबाट भने बढुवामा कोही पनि नपरेका हुन् । यो बढुवामा २०५३ सालमा इन्सपेक्टरमा भर्ना भएकाहरु छुटेकाले उनीहरु भावी प्रहरी महानिरीक्षकको प्रतिस्पर्धाबाट अहिले नै बाहिर परेका छन् ।

बढुवाका सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार सूचना प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ