प्रतिभामा लोकतान्त्रिक निर्वाचन प्रक्रियाको अभ्यासः सदनको कप्तान, उपकप्तान चुनावबाटै चयन

प्रतिभाको अलग पहिचान

प्रतिभामा लोकतान्त्रिक निर्वाचन प्रक्रियाको अभ्यासः सदनको कप्तान, उपकप्तान चुनावबाटै चयन

आफ्नो नेता, आफैले छाने

prativa selection (1)

पोखरा, ३ जेठ । विहीवार मध्यान्ह १२ बजेपछि विद्यालयका प्रिन्सिपलले सम्पूर्ण मतदाताहरूलाई लाइनमा आउन आग्रह गरे । विद्यार्थीहरू सबै लाइन लागे । एकातिर छात्राहरू र अर्कोतिर छात्रहरू लहरै उभिए । आमनिर्वाचनमा मतदानस्थल जसरी व्यवस्थापन गरिएको हुन्छ, त्यसरी नै व्यवस्थित थियो । मतपत्र, स्वस्तिक छाप, मतपेटिकालगायतका सामग्री राखिएको थियो ।

उक्त दृश्य पोखराको नदीपुर स्थित प्रतिभा माध्यमिक विद्यालयमा थियो । कक्षा १० को सामाजिक विषयमा भएको निर्वाचन प्रक्रियासम्बन्धी पाठअनुसार विद्यार्थीहरूलाई मतदानको कार्यक्रम आयोजना गरिएको थियो ।

जसबाट कक्षा ६ देखि १० सम्मका आठ सय ६४ विद्यार्थीले आ–आफ्नो सदनका कप्तान र उपकप्तान मतदानबाटै चुने । विद्यालयमा स्थापित रातो, निलो, हरियो र पहेंलो सदनमा वर्गिकृत विद्यार्थीहरुले आफ्नो सदनको नेतृत्व उल्लासपूर्ण तरिकाले मत प्रदान गरी चयन गरेका हुन् ।

‘सैद्धान्तिक ज्ञानले भन्दा प्रयोगात्मक तथा व्यवहारिक ज्ञानले विद्यार्थीमा छिटो सिकाइ हुने भएकाले त्यसतर्फ बढी जोड दिएका छौँ ।’ विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले भने – ‘यसरी लोकतान्त्रिक निर्वाचन प्रक्रियाको अभ्यास मार्फत विभिन्न सदनका कप्तान र उपकप्तानको चयन गरिएको छ।’

विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई निर्वाचन प्रणाली अन्तर्गत मताधिकार भनेको के हो ? मतदान भनेको के हो ? मतदान कसरी गर्ने ? प्रजातान्त्रिक प्रक्रियाबाट जनप्रतिनिधिहरू कसरी निर्वाचित हुन्छन्? भन्ने ज्ञान दिने मुख्य उद्देश्यका साथ नमुना निर्वाचन गरिएको विद्यालयका सहप्राचार्य, सामाजिक विषय शिक्षक तथा कार्यक्रमका निर्वाचन अधिकृत प्रदीप खनालले बताए ।

कक्षा ६ देखि कक्षा १० सम्म अध्ययन गर्ने ८६४ जना विद्यार्थी मतदाता भएको सो कार्यक्रममा विभिन्न सदनका क्याप्टेन र भाइस क्याप्टेनका लागि २/२ जना विद्यार्थीबीच प्रतिस्पर्धा भएको सो निर्वाचनमा विद्यार्थीले लामबद्ध भएर दिउँसो १२ः१० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान गरेको नमुना निर्वाचन कार्यक्रमका व्यवस्थापक विद्यालयका सह–प्राचार्य बुद्धिमोहन पौडेलले बताए ।

‘हामीले किताबमा घोक्ने मात्रै हुन्थ्यो,’ विद्यार्थी शिक्षा पौडेलले भनिन्, ‘तर, हामीले अहिले प्रयोगात्मक नै गर्दा धेरै कुरा बुझिएको छ र व्यवहारमा उतार्न सजिलो भएको छ ।’

नमुना मतदानमा छात्र छात्राहरूका लागि छुट्टा छुट्टै लाइनमा राखी मतदान केन्द्र व्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मतदिने लगायतका विषयहरु सिकाइएको साथै मतदानमार्फत क्याप्टेन र भाइस क्याप्टेन चुन्ने प्रक्रियामा विद्यार्थीहरूलाई नमुना मतपत्र बनाएर मतदान गर्ने तरिका सिकाइएको, विद्यार्थीहरूलाई मतदान गर्न पाउने व्यवस्था सहित मतदाता नामावली प्रकाशन, प्रतिस्पर्धीहरूलाई चुनाव चिन्ह प्रदान गरेर मत माग्ने समयसमेत दिइएको मतदान अधिकृत डम्बर क्षेत्रीले बताए ।

रातो सदनका सुशान्त भुषाल कप्तान चुनिएका छन् । हिमांकन सापकोटाभन्दा जम्मा १ मत मात्रै बढी ल्याएर उनले नेतृत्व लिए । आदर्श क्षेत्री भन्दा अधिक मतका साथ एञ्जल कोइराला उपकप्तान बने ।

निलो सदनका विद्यार्थीहरूले दीप क्षेत्रीलाई कप्तान चुने । चाहना खड्का कप्तानको दौडमा थिइन् । सौरभी कार्की र शिवम रौनियार उपकप्तानमा प्रतिष्पर्धा गरेकोमा शौरभी विजयी भइन् ।

हरियो सदनको नेतृत्व सुमित्र खत्रीले लिए । उनले उम्मेदवार मध्येमै सर्वाधिक पपुलर मत ल्याउँदा युनिक अर्याल कप्तान बन्न सकेनन् । उपकप्तानका लागि निमबुस अधिकारी र प्रणय चालिसे उम्मेदवार रहेकोमा निमबुस चुनिए ।

पहेंलो सदनको कप्तानमा पियुष नेपाली निर्वाचित भए । यभरग्रीन केसी प्रतिद्वन्द्वी थिए । विवश थापा भन्दा बढी मत प्राप्त गरेकी सन्ध्या पण्डित उपकप्तान बनिन् ।

विद्यालयका प्राचार्य सापकोटाको रोहबरमा मत गणना भएको थियो । मतदान अधिकृतको भूमिका सहप्राचार्य प्रदीप खनाल र डम्बर क्षेत्रीले निर्वाह गरेका थिए ।

सह–प्राचार्य बुद्धिमोहन पौडेलको व्यवस्थापनमा भएको कार्यक्रममा विद्यालयका अतिरिक्त्त क्रियाकलाप प्रमुख प्रकाश अधिकारीले कार्यक्रमबारे जानकारी गराएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds