पोखरा । कास्कीको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालयले ८ जनालाई पक्राउ गरेको छ ।
मंगलबार प्रहरीले उक्त सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, व्यवस्थापक निरु थापा केसी, कर्मचारी सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र शेयर सदस्य मानबहादुर गुरुङलाई पक्राउ गरेको हो ।
सहकारीका सञ्चालक समितिका पदाधिकारीसमेतले बचतकर्ताको रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना गरेको र ठगी गरेको आरोपमा सहकारी रजिस्ट्रारको कार्यालय पोखराले प्रहरीमा जाहेरी दिएको थियो ।
उक्त सहकारीमा १ अर्ब ५४ करोड १५ लाख ८ हजार। १४२ रुपैयाँ ८५ पैसा हिनामिना गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यो ठगी गृहमन्त्री रवि लामिछाने जोडिएको पोखराको सूर्यदर्शन सहकारीको भन्दा ठूलो हो। सूर्यदर्शनले पोखराका १९ हजार बचतकर्ताको १ अर्ब ५३ करोड रुपैयाँ ठगी गरेको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ।
प्रहरीले मंगलबार नै सार्वजनिक सूचना जारी गर्दै सो सहकारीबाट पीडितहरूलाई जेठ २० गतेसम्म उजुरी दिन अनुरोध गरेको छ । सहकारीमा २ हजार ३ सय बचतकर्ता ठगिएको अनुमान गरिएको छ।
प्रहरीले सूचनामा भनेको छ, ‘सहकारीबाट बचत तथा सेयर रकम फिर्ता नपाउनु भएका पीडित व्यक्तिहरूले सहकारीमा रकम जम्मा गरेको आधार देखिने सेयरधनी प्रमाणपत्र, पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्र लगायतको प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतको परिचय खुल्ने कागजसहित कानुन बमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिई जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नु हुन सम्पूर्ण बचतकर्ताहरूमा सूचित गरिएको छ।’
सहकारी रजिस्ट्रारको कार्यालयले सहकारीको रकम हिनामिनामा ५५ जनालाई दोषी देखाएको छ। २०६६ सालमा पन्थीगल्लीबाट सेवा सुरुआत गरेको सहकारीले केही वर्षमै गैह्रापाटनमा आफ्नै भवनमा सरेको थियो।
सहकारीले लेखनाथको तालचोक नजिकै आफ्नै भवनबाट शाखा कार्यालयको रुपमा सेवा केन्द्र सञ्चालन गर्दै आएको थियो। केही महिनादेखि नै सहकारीका सबै कारोबार बन्द भएको थियो। कास्की, तनहुँ र गोरखामा कार्यक्षेत्र रहेको सहकारीले २ वर्षअघि कास्कीको नयाँपुल, पोखरा बगरमा पनि सेवा केन्द्र खोलेको थियो।
डीएसपी बसन्त शर्माले प्रतिवेदन अध्ययनकै क्रममा रहेको र अहिले केही भन्न नसकिने बताए।
सम्बन्धित खबर
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर