पाखुरीकोट गुरुङ समाजका गतिविधि अब पाखुरीकोट दर्पणमा

पाखुरीकोट गुरुङ समाजका गतिविधि अब पाखुरीकोट दर्पणमा

bimochan-scaled

पोखरा । पाखुरीकोट गुरुङ समाज पोखरा–१३ ले प्रकाशन गरेको पाखुरीकोट दर्पण आइतबार एक समारोहका बीच लोकार्पण गरिएको छ ।

उक्त दर्पणको कार्यक्रमका प्रमुख अतिथि कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपलकुपति गोरे गुरुङ, मानवअधिकार पत्रकार संघ हुर्जाका अध्यक्ष असफल गौतम र दर्पणका प्रधानसम्पादक चिफ इन्स्पेक्टर हरिध्वज गुरुङले संयुक्तरूपमा लोकार्पण गरे ।

प्रमुख अतिथि मनबहादुर गुरुङले सांस्कृतिक पहिचानका हिसाबले पहिलो मोर्चामा रहेको गाउँका रूपमा पाखुरीकोट चिनाए । गुरुङले थपे– ‘संसारमा धनी मानिएकाहरू शिक्षा र मेहनतकै कारण धनी भएका हुन् तर नेपाल जस्तो कृषिप्रधान देशमा उत्पादनमुखी कर्म हराउनु, नेपालीमा शिक्षा आर्जन र मेहनत परम्परा कमजोर हुनु सबैभन्दा ठूलो चिन्ताको विषय हो ।’ उनले समाजमा देखिएका वेथिति अन्त्य गर्न यस्ता समाजको योगदान र भूमिका महत्वपूर्ण रहेको स्मरणसमेत गरे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनीले आमाहरूको पहलमा सभ्य र भव्यरूपमा पाखुरीकोट समाज अगाडि बढ्नु गौरवको विषय भएको बताइन् । उनले राज्य र समुदायका हरेक परिवर्तनमा महिलाको महत्वपूर्ण भूमिका भएर पनि नेतृत्वमा महिलाको न्यून सहभागिता वर्तमानका लागि मात्र नभएर भविष्यका लागि पनि चिन्ता र चिन्तनको विषय भएको धारणा व्यक्त गरिन् ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले समाजको पाखुरीकोट दर्पणलाई ऐतिहासिक अक्षर लेखिएको कृतिका रूपमा चिनाए । पछिल्लो समय राज्यमै बस्ने वातावरण सिर्जना गराउन नसक्दा समाज वृद्धाश्रमजस्तो हुनु नेपालीका लागि दुखद सन्दर्भ भएकाले त्यसतर्फ सचेत रहनसमेत सुझाए ।

दर्पणको विश्लेषण गर्दै असफल गौतमले कृति पछिल्लो पुस्ताका लागि एउटा सन्दर्भ सामग्रीका रूपमा रहेको चित्रण गरे । उनले राज्यमा समृद्धि र सुशासन कायमका साथै सिङ्गो नेपाली वाङ्मयको संरक्षणमा परोपकारी संस्थाको उल्लेख्य भूमिका रहेको बताए । असफलले राजनीतिक चेतनाबाट सर्वपक्षीय व्यक्ति भएकाहरूले राज्यको ढुकुटीलाई तीर्थस्थल जस्तो बनाउनुपर्नेमा आफ्नो चिन्हको नीजि सम्पत्ति बनाउन खोज्नु वर्तमानका लागि दुभाग्यपूर्ण रहेको धारणासमेत व्यक्त गरे ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाका उपाध्यक्ष कृष्णबहादुर गुरुङले समाज स्थापनादेखि १२ वर्षसम्मका गतिविधि समेटेर दर्पण प्रकाशन गरिएको जानकारी दिए ।

संस्थाका अध्यक्ष चिफ इन्स्पेक्टर हरिध्वज गुरुङले समाजको चार वर्षदेखिको निरन्तरताको प्रयास कृति भएको बताए । उनले पहिलो प्रयास पूर्णता नभएका थालनी मात्र भएको बताउँदै सहयोगी सम्पूर्णलाई आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि समाजले दर्पणलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाए ।
सोही समारोहका बीच दर्पण प्रकाशनमा महत्वपूर्ण भूमिका खेल्ने समाजसेवी जुमप्रसाद गुरुङलाई पाखुरीकोट दर्पण सारथि सम्मानबाट सम्मानितसमेत गरिएको थियो ।

संस्थाका सचिव केशबहादुर गुरुङले समाज स्थापनाकालदेखि वर्तमानसम्मका आरोह अवरोधबारे श्रव्यदृश्यसहित अवगत गराएका थिए । कार्यक्रममा समाजका आमा समूहले सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds