पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ पाङको ततरकोटमा बस्दै आएका समुन्द्र परियार अहिले २० वर्षका भए । उमेरले यो बेला बलशाली हुने भए पनि समुन्द्र भने हिँड्दा हिँड्दै बाटोमै लड्छन्, राम्रोसँग खुट्टा टेक्न पनि सक्दैनन् । पछिल्ला तीन वर्ष यता उनको स्वास्थ्य थप जटिल बन्दै जाँदा बेला बेलामा पल्टिने समस्या आयो ।
स्थानीय नुवार सुवेदीथर माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत हुँदा हुँदै उनले आफ्नो अध्ययनलाई पनि निरन्तरता दिन सकेनन् । यसो हुनुको कारण हो उनको शरीरमा रहेको पाइप फेर्नुपर्ने बेला टरिसक्दा पनि पाइप ननिकालिनु । २०६० सालमा जन्मिएका उनी एक वर्ष उमेर नपुग्दै बिरामी परे। परीक्षणको क्रममा टाउकोमा पानी जमेको थाहा भएपछि त्यसको समाधानको लागि आन्तरिक रूपमा टाउकोबाट जोडिएको पाइप पेटमा लगेर छोडिएको छ ।
स्थानीय पाङ युवा क्लबका अध्यक्ष जयराम सुवेदीले समुन्द्रको उमेर १७ वर्षको हुने बेलासम्म शरीरमा पाइप रहने र त्यसपछि भने निकाल्नुपर्ने चिकित्सकले समुन्द्रको परिवारलाई बताएको उद्धृत गरे । १७ वर्षको उमेरपछि पाइप छोटो हुने र उनको स्वास्थ्य समस्या आउन सक्ने भनेर चिकित्सकले उपचारकै बेलामा बताएको भए पनि आर्थिक समस्याकै कारण पाइप निकाल्न नसकेको पाइएको उनको भनाई छ । पाइप निकाल्नुपर्ने अवधि टरेपछि समुन्द्र हिँड्दा–हिँड्दै लड्न थालेका छन्, खुट्टा यसै लरबराउँछन्, भर्खरै भनेका कुरा बिर्सिन थालेका छन् अनि एकोहोरिएर बस्ने भएका छन् ।
‘१७ वर्षको उमेरमै फेर्नुपर्ने भनिएको पाइप अझैसम्म पनि उनको शरीरमै छ । त्यो पाइप छोटो हुँदै गएपछि समुन्द्र बिरामी पर्न थालेका छन’, अध्यक्ष सुवेदीले भने, ‘उनीहरूको आर्थिक अवस्था निकै कमजोर भएकाले उपचारमा समस्या भएको भनेर हामीलाई जानकारी आएको थियो । केही खर्च जुटाउन सकिन्छ की भनेर हामीले सहयोग सङ्कलन अभियान सुरु गरेका छौँ ।’
काठमाडौँस्थित शिक्षण अस्पतालमा उनको शल्यक्रिया गरेर पाइप निकाल्नेबारे कुराकानी हुँदा पाँच÷छ लाख रुपैयाँ खर्च हुन सक्ने बताएको भए पनि उनीहरूको आर्थिक अवस्था त्यही रकम पनि निकाल्न सक्ने छैन । उनको वर्तमान अवस्थाको बारेमा बुझ्न र केही औषधि चलाउँदा नै करिब एक लाख रुपैयाँ खर्च भइसकेको छ ।
समुन्द्र जिल्लाकै जलजला गाउँपालिकामा जन्मिएका हुन् । उनका बुबाको निधन भएपछि आर्थिक अवस्था झनै कमजोर बनेपछि पाङमा रहेको मामाघरमा सरे। तर पाङमा उनीहरू बस्दै आएको जस्तापाताले बिछ्याएर बनाएको छाप्रो पनि अर्कैको जग्गामा छ ।
‘यो जन्मिँदै यसका बुवा बित्नुभयो । हामीलाई दुई छाक टार्न पनि गाह्रो छ । गरिब भएपछि बाँच्नै गाह्रो भयो । हामी माइतमा आएर बुबाको सहारामा बस्न थाल्यौँ । यहाँ पनि टिनको छाप्रोमा छौँ, यो बसेको जग्गा त अर्कैको हो’, समुन्द्रकी आमा सरस्वती बि.क.ले भनिन, ‘छिटो अप्रेसन नगरे यसलाई जे पनि हुन सक्छ भनेका छन् । त्यही पाइप छोटो भएर होला अहिले बेला बेलामा चक्कर लागे जसरी बाबु पल्टिन्छ । हिँड्दा खुट्टा चलाउनै गाह्रो हुन थालेको छ ।’
दैनिक मजदुरीको भरमा बिहान बेलुकाको छाक टार्दै आइरहेको परिवारले यति धेरै रकम जुटाउन सक्ने अवस्था छैन । मजदुरी नगर्दाको दिनमा छाक बस्ने अवस्था रहेको परिवारले काठमाडौँ लगेर शल्यक्रिया गराउन नसक्ने अवस्था रहेको तर समुन्द्रको स्वास्थ्य अवस्था भने झन् भन्दा झन् जटिल बन्दै गएकोले पाङ युवा क्लबले आर्थिक सहयोगका लागि सबैसँग अपिल गरिरहेको छ । रासस
सम्बन्धित खबर
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
गण्डकी प्रदेश प्रमुखको स्वास्थ्य सुधारोन्मुख, भेटघाट बन्द
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द
गण्डकी प्रदेश प्रमुख भट्ट अस्वस्थ
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो