स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति

स्याङ्जामा आगलागीका घटना दिनहुँ बढ्दै, लाखौंको क्षति

Aaglagi

स्याङ्जामा पछिल्लो समय आगलागीका घटना दिनहुँ बढेका छन् भने लाखौंको क्षति समेत भएको छ । स्याङ्जामा धेरैजसो सफा गर्ने क्रममा खेतबारीमा रहेका झाडी तथा पातपतिङ्गरहरुमा आगो लगाउँदा त्यहीँबाट फैलने गरेको भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले लामो हिउँदे खडेरीका कारण पछिल्लो समयमा बढेको आगलागीबाट धेरै घरगोठ जलेको बताएका छन् । उनले हालसम्मको विवरणमा १७ घर जल्दा १७ वटै गोठ पनि जलेको बताउँदै आगलागीबाट एकजनाको ज्यान समेत गइसकेको र तीन जना घाइते भएको जानकारी दिए ।

बिरुवा गाउँपालिका -७ कुमेरदुङकी ७३ वर्षीय रेउसरी गुरुङको पातपतिङ्गर जलाउने क्रममा आगलागी भई निभाउँदा ज्यान गएको थियो । त्यस्तै, पुतलीबजार नगरपालिका -११ करेन्डाँडाकी ४० वर्षीय गिता जिटि पनि आगलागीमा परि गम्भीर घाइते भएकी छन् भने कालीगण्डकी गाउँपालिका -५ लुम्सिङकी ५९ वर्षीय राधिका न्यौपाने पनि आगो निभाउने क्रममा गाला र दुवै हातहरु जलेर घाइते हुन पुगेको डिएसपी रानाले बताए ।

पुतलीबजार नगरपालिका -१३ सतौं भुजुङ्गेका ७२ वर्षीय डासी कोइराला बारीको झारपात जलाउने क्रममा आगलागी भई निभाउने समयमा घाइते भएको डिएसपी रानाले जानकारी दिए । उनले आगलागीका कारण जिल्लामा धेरैले भौतिक संरचना, अन्नपात, नगद, जिन्सी, गरगहना जल्दा र पशुचौपायाहरु मर्दा लाखौंको क्षति भोग्नुपरेको जानकारी दिए ।

आगलागीको प्रकृति हेर्दा वन जङ्गलमा लगाइएको आगो अचानक बस्तीमा पस्दा स्थानीयले जनधन गुमाउन परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । कालीगण्डकी गाउँपालिकाको आठचौरका भरत पाण्डेको घरगोठ, तुल्सीराम न्यौपानेको गोठ, थिरालाल न्यौपानेको कुखुरा फर्म जल्दा लाखौंको क्षति भएको छ ।

यस्तै, कालीगण्डकीकै इम्सीलका मणिराम भट्टराईले गोठमा आगलागी हुँदा क्षति भोगेका छन् । पुतलीबजार १ गैरीबजारका रामेश्वर बरालको घरगोठ, बिरुवाकी जेठीमाया गुरुङको घरगोठ, बिरुवा ६ तल्लो बलेउकी बुकमाया नेपालीको घरगोठ, चौमाया नेपालीको घर, एक बहादुर बि.क.को घरगोठ, दुर्गा बहादुर थापाको धन्सार, अर्जुनचौपारीका एक नारायण सुनारको गोठ आगलागीबाट जलेको छ ।

चापाकोट नगरपालिका स्थित मैदानका तीन परिवार र बिरडाँडाका दुई परिवारले घरगोठ गुमाएका छन् । गल्याङ नगरपालिका स्थित छरककी गोमती थापाले घर, बेलबहादुर रानाले घर, नेहारसिंह थापाले गोठ गुमाएका छन् । आगलागीबाट नै गल्याङ ५ जलुके बाथ्थलाका गुण बहादुर रानाको घरगोठ, भिम बहादुर रानाको घर, बेतेलेनीका अनिरुद्र बस्यालको ढुङ्गे घर र गोठसमेत जलेको छ भने आँधिखोला गाउँपालिका स्थित कुन्तिका सिंचाइ योजनाको पाइप जलेर नष्ट भएको छ ।

सम्बन्धित पालिकाहरु, रेडक्रस सोसाइटी, विभिन्न संघसंस्थाले आगलागीबाट घरबिहिन भएकाहरुलाई सहयोग गरेका छन् । त्यस्तै, रेडक्रस स्याङ्जाका सभापति दिनेश अर्यालले आफन्त तथा तत्काल आश्रय लिन नसकेका परिवारलाई थप त्रिपालहरु उपलब्ध गराइएको जानकारी दिए । उनले वैशाख महिनाको हालसम्म ३४ घरपरिवारलाई राहतको प्याकेज उपलब्ध गराइसकेको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ