प्रदेश प्रमुख भट्टद्वारा नयाँ वर्ष २०८१ को शुभकामना

शुभकामना

प्रदेश प्रमुख भट्टद्वारा नयाँ वर्ष २०८१ को शुभकामना

'राष्ट्रिय समृद्धि र सुशासनका निम्ति सबै जुटौँ'

Pradesh Pramukh Dilli Raj Bhatta office

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ वर्ष २०८१ साल आगमनको सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

भट्टले शुभकामना सन्देश जारी गर्दै सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको शुभकामना दिएका हुन् ।

‘हरेक नयाँ वर्षलाई हामीले विगतको समीक्षा गर्ने र नयाँ संकल्पका साथ अगाडि बढ्ने अवसरका रूपमा ग्रहण गर्ने गर्दछौँ। त्यसैले, नव वर्ष सुखद् आशा, अपेक्षा र उमङ्गको उत्सव हो’ – भट्टले भनेका छन् – ‘राष्ट्रको आजको प्राथमिकता संविधानको पूर्ण कार्यान्वयन, राजनीतिक स्थायित्व, स्थायी शान्ति, दीगो विकास तथा प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माण गर्नु रहेको छ।’

नयाँ उमङ्ग र उत्साहका साथ आ–आफ्नो कार्यक्षेत्रमा जुट्दै राष्ट्रिय समृद्धि र सुशासनका निम्ति जुट्न पनि उनले अनुरोध गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ – ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप मजबुत बनाउँदै मुलुकको प्रतिष्ठा अभिवृद्धि गरी समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु हामी सबैको सर्वाेपरी लक्ष्य रहेको छ। यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, भाइचारा र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्न आवश्यक छ।

अर्थतन्त्रमा देखिएको संकट समाधानका लागि सबै पक्ष मिलेर अहम् भूमिका निर्वाह गर्नुपर्नेछ । सबै राजनैतिक दलकाबीच दृढ सङ्कल्प आवश्यक रहेको छ। मुलुकलाई अगाडि बढाउन दलहरूका बीचमा सहकार्य र सहमतिको संस्कृति अझ विकास र विस्तार हुनेमा विश्वस्त छु।

लोकतन्त्रको उच्चतम अभ्यास गर्न, यसलाई फुल्ने, फल्ने वातावरण बनाउन, लोकतान्त्रिक विधि, पद्धति र प्रक्रिया लागू गर्न निरन्तर प्रयत्नरत रहन एवं संवैधानिक मूल्य, मान्यता र नैतिकतालाई आत्मसात् गर्न नयाँ वर्षले सबैलाई प्रेरणा मिलोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds