कास्कीको मादीस्थित एक फार्ममा पालिएका सबै बाख्रा मरेका छन् । मादी गाउँपालिका–१२ लिपेयनीस्थित स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका बाख्रालाई क्रोनिक निमोनिया रोग लागेपछि फार्मका सबै बाख्रा मरेका हुन् ।
दुई सय ८० बाख्रा, बाेका, पाठापाठी रहेको फार्ममा तीन वटा मात्र बाख्रा जिउँदा छन् । घाँस, दाना, पानी नखाने, सिंगान बगाउने र र्याल काट्न थालेपछि बाख्रा एकाएक झोक्राउँदै मर्न थालेको फार्म सञ्चालक नारायण बरालले बताए । ‘एक/डेढ महिनाको अन्तरालमा करिब तीन सय बाख्रा मरे’ उनले भने ।
पशु चिकित्सक ल्याएर जाँच गर्दा क्रोनिक निमोनिया पत्ता लागेको उनले बताए । पशु चिकित्सकलाई सम्पर्क गरेपछि बाख्राको घााटीमा इन्जेक्सन लगाए पनि सुधार नभएको उनले बताए । चिकित्सकको भनाई उदृत गर्दै उनले भने, ‘निमोनिया भएको हो घाँटीबाट इन्जेक्सन लगाएका छौं अरु विकल्प देखिएन ।’ करिब ५ करोडको लागतमा २०७४ बाट फार्म सञ्चालन गरेका बरालले ठूलो संख्यामा बाख्रा मर्दा डेढ करोड क्षति भएको बताए ।
उनका अनुसार गतवर्ष यो समय ३८ लाख रुपैयाँ आम्दानी गरेका थिए । यसवर्ष ५० लाख कमाउने लक्ष्य थियो । एउटा माउ बाख्रालाई डेढ, दुई लाखसम्म हालेर किनेको बताउँदै उनले भने, ‘अष्ट्रेलियन जातको बोएर बाख्रा हुन् । यसबाट आम्दानी राम्रो भएको थियो एकाएक रोग लागेपछि लगानी नै डु्ब्ने डर भयो ।’

यस फार्ममा चार जना कामदार छन् । बरालले केही बाख्रोको बीमा गरेपनि तीन महिनाभन्दा साना पाठापाठीको नभएको जानकारी दिए । नेपाल इन्स्यूरेन्स कम्पनीमा १०/१२ हजारको मात्र बीमा गरिएको सञ्चालक बरालले बताए । यस फार्मलाई पालिकाले सम्मानस्वरुप दुई वर्षअघि २ लाख रुपैयाँ दिएको थियो । ‘हालसम्म कहिकत्तैबाट अनुदान पाएको छैन’ उनले भने ।
पेसाले शिक्षक बरालले विसं २०७४ देखि व्यावसायिक रुपमा बाख्रापालन व्यवसाय गर्दै आएका थिए । बाख्रासँगै उनले कुखुरापालन गरेका छन् । बरालले गत वर्ष बाख्रापालनबाट रु ३८ लाखको आम्दानी गरेकोमा यसवर्ष रु ५० लाखको बिक्री गर्ने योजना बनाएका थिए ।
“सानो उमेरदेखिनै कृषि गर्ने चाहनाले बाख्रा र कुखुरा पाल्न सुरु गरेँ । अहिले एकाएक सबै सकियो, ठूलो क्षति हुँदा धेरै पीडा भएको छ”, बरालले भने । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले मरेका पशुको प्रयोगशालामा ल्याएर थप परीक्षण भइरहेको जानकारी दिए ।

हालसम्म निमोनियाका कारणले क्षति पुगेको भए पनि अन्य कारणसमेत खोजी भइरहेको पाण्डेले बताए । “विज्ञ केन्द्रमा समेत ढिला गरी जानकारी आएको थियो । त्यसपछि हामीले रोग नियन्त्रणका लागि केन्द्रबाट र प्रयोगशालाबाट समेत पशु चिकित्सकलाई पठाएर परीक्षण गरेका हौँ । धेरै ढिला भएकाले उपलब्धि भएन”, उनले भने ।
सो वडाका अध्यक्ष कृष्णराज दाहालले बरालद्वारा सञ्चालित बाख्रा फार्म पालिकाकै नमुना भएको भन्दै उक्त क्षतिले आफूहरुलाई समेत दुखित बनाएको बताए । पीडित किसानलाई राहतका लागि पालिका, प्रदेश सरकार लगायतसँग पहल गरिने दाहालले बताए।
मादी–१२ का वडा सदस्य मिलन ढकालले स्थानीय र प्रदेश सरकारसँग राहतको माग गरिएको बताए ।
उनले सञ्चालन गरेको फार्म गाउँपालिकाकै नमुना रहेको ढकालको दाबी छ । ‘यही फार्मको सिको गर्दै गाउँका अरु युवाले पनि व्यावसायिक फार्म सञ्चालन गर्नुभएको छ’ उनले भने, ‘गाउँमा केही गर्नुपर्छ भन्ने जोशले युवा लागेका छन् । विपत्ले कहिलेकाँही अप्ठ्यारो परिस्थिति पार्छ ।’

सम्बन्धित खबर
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज
देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते