पोखरा । सरकारले तीन वटा प्रदेशका प्रमुखहरुलाई सोमबार पदमुक्त गर्दै नयाँ नामहरु सिफारिस गरेको छ ।
मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेश र सुदूरपश्चिमका प्रदेश प्रमुखहरू पदमुक्त गर्न र नयाँ नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
पदमुक्त भएकाहरुमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्र र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी छन् । उनीहरू तिनै जना तत्कालीन सत्ता साझेदार दल कांग्रेससँग निकटताका आधारमा नियुक्त भएका थिए।
पृथ्वीमान गुरुङ २०८० साल साउन १३ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए । उनीसँगै लुम्बिनीमा अमिक शेरचन नियुक्त भएका थिए ।
सोमबारको मन्त्रिपरिषद बैठकले अब रिक्त हुने पदहरूमा प्रदेश प्रमुख नियुक्त गर्नका लागि पनि राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
गण्डकी प्रदेशका लागि डिल्लीराज भट्ट, मधेश प्रदेशका लागि सुमित्रा भण्डारी र सुदूरपश्चिम प्रदेशका लागि नजिर मियाको नाम सिफारिस गरेको हो ।
को हुन् प्रदेशका नयाँ प्रमुख भट्ट ?
गण्डकीका प्रदेश प्रमुखमा सिफारिस डिल्लीराज भट्ट सुदूरपश्चिमकै पुराना वामपन्थी नेताका रूपमा चिनिन्छन् । उनी दुई वर्ष अघि राष्ट्रियसभा निर्वाचनमा एमालेबाट उम्मेदवार पनि थिए ।
जित्ने अवस्थामा राष्ट्रिय सभाको उम्मेदवारको सूचिमा नअटाएका एमालेका तिनै पुराना नेता भट्ट हार्ने बेला भने पार्टी नेतृत्वको पहिलो रोजाइमा परे । र, उम्मेदवार बनाइए । परिस्थिति प्रतिकुल भए पनि पार्टी निर्णय उनले सहर्ष स्वीकार गरे । अन्ततः पराजित पनि भए ।
हाल केन्द्रीय सल्लाहकार परिषद् सदस्य रहेका उनै ७६ वर्षीय भट्टलाई अध्यक्ष केपी शर्मा ओलीले अहिले प्रदेश प्रमुख बनाएर न्याय गरेका छन् ।
वि.सं. २००४ सालमा डोटीको जोरायल गाउँपालिका रिठामा जन्मिएका भट्ट हाल धनगढी उपमहानगरपालिका बस्दै आएका छन् ।
२०२६ सालमा पार्टी सम्पर्क पुगेका भट्टले २०२८ सालमा पार्टीको सदस्यता लिए । २०३० देखि ०४६ सालसम्म भूमिगत भएर नेकपा मार्क्सवादीमा सक्रिय रहेका उनी २०४८ सालमा नेकपा एमालेसँग एकीकरण भएपछि डोटी जिल्ला संयोजक भए । एकीकरणपछि गठन भएको नेकपा एमालेको पहिलो जिल्ला संयोजकका रूपमा एक वर्ष काम गरेका भट्ट त्यसपछि भएको निर्वाचनमा जिल्ला कमिटीको उपसचिव भए ।
त्यही क्रममा २०५१ सालमा सुकुम्वासी समाधान आयोगको डोटी जिल्ला अध्यक्ष भए । पछि उनी पार्टीको जिल्ला सचिवमा निर्वाचित भए ।
२०५६ सालमा एमालेले भट्टलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनायो । तर उनी नेपाली काँग्रेसका उम्मेदवार सिद्धराज ओझासँग पराजित भए । उनी निरन्तर पार्टीका लागि खटिइरहे ।
भट्टले नेकपा एमालेको सेती अञ्चल कमिटी स्कुल विभाग प्रमुखको भूमिका पनि निर्वाह गरेका थिए । नेकपा एमाले र माओवादी केन्द्र बीच एकीकरण भएपछि गठन भएको नेकपाका उनी सुदूर पश्चिम अनुशासन आयोग प्रमुख समेत भए ।
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने