गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखाली जनताको जनमतको अपमान गरेको आरोप लगाएका छन् ।
गोरखा उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै शुक्रबार पाण्डेले प्रधानमन्त्रीले झुटा वाचा गरेको पनि बताए । ‘चुनावका बेला मैले उहाँको लागि भोट मागेँ, उहाँले मेरो लागि भोट माग्नुभयो,’ उनले भने, ‘उहाँलाई एक पटक सोध्नुपरेको छ, गोरखा क्षेत्र नम्बर २ मा जाँदा त्यहाँका जनतालाई भन्नुहुन्छ के ? चुनावको बेला ५ वर्ष सँगै हिँड्छु, सुरेन्द्रराज पाण्डेलाई गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउँछु, म प्रधानमन्त्री बन्छु भनेर हरेक भाषणमा बोल्नुभयो, त्यो कुरा अब यो क्षेत्रमा आएर के भन्नुहुन्छ ?’
उनले ५ वर्ष निरन्तरताका लागि प्रधानमन्त्री दाहालले प्रयत्न नगरेको बताए । ‘गोरखाली जनताको जनमतको अपमानचाहिँ तपाईं (प्रधानमन्त्री दाहाल)ले गर्नुभयो, जुन वाचा गर्नुभयो त्यो झुटा भयो,’ उनले भने, ‘हामीलाई आपत्ति पनि छैन, राजनीति पनि कसैले कसैको लागि, कुनै पार्टीको लागि गरिदिने पनि होइन, एक दिन न एक दिन आ–आफ्नो ठाउँमा हिँड्नुपर्थ्यो, मैले यत्ति सम्झाउन खोजेको कि देशको प्रमुख मान्छे जसले मुलुकको नेतृत्व गर्छ त्यो मान्छे नै अस्थिरताको कारक हुन थाल्यो भने मुलककहाँ जान्छ ।’ बाचुन्जेल उथलपुथल भइराख्छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले मुलुकको भविष्य के हुन्छ भन्ने अवस्था सिर्जना भएको पाण्डेको भनाइ छ ।
त्यस्तै, मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशमा राजनीतिक सुझबुझ मिलाउन नसके मध्यावधि पनि हुन सक्ने बताए । ‘मैले कसैलाई धम्क्याउन भनेको पनि होइन, गर्छु भनेको पनि होइन,’ उनले भने, ‘अहिलेको बनोट जे छ, संसद्बाट सरकार बन्ने भनेको गणितले हो, अहिले संघमा जुन गठबन्धन बनेको छ यही अघि बढ्यो भने कुनै पनि पार्टीको सरकार बन्न सक्दैन, बहुमत पुग्नै सक्दैन ।’
मध्यावधिमा आफूले लैजान नचाहेको र रोक्ने प्रयत्न गर्ने पनि पाण्डेले बताए । ‘राजनीतिक दललाई भनेको छु निकास खोजौं, प्रयत्न गरौं,’ पाण्डेले भने, ‘उत्तेजना र आवेशमा आएर, एउटाले अर्कालाई लात्ताले हानेर हिँडिदिएँ भनेको भरमा समस्या समाधान हुन सक्दैन, राजनीतिक संकट, सवैधानिक संकट टार्न राजनीतिक दलबीच सहकार्य जरुरत छ ।’
सम्बन्धित खबर
दुई सय १६ जना मोतियाबिन्दुका बिरामीको नि:शुल्क शल्यक्रिया गरिने
राष्ट्रको आजको प्राथमिकता राजनीतिक स्थायित्व, स्थायी शान्ति र दीगो विकासः प्रदेश प्रमुख भट्ट
कृषिको उत्सव आलु महोत्सव
नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकीको क्यालेन्डर विमोचन
ज्ञानेन्द्र तीनकुने घटनाको मास्टरमाइन्ड, नागरिकसरह कारबाही हुन्छ : ईश्वर पोखरेल
रेडक्रस कास्कीमा १ मतान्तरले उर्मिला खड्का विजयी
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता