पोखरा फूलबारीबाट अन्तर्राष्ट्रिय कल बाइपास गर्दै आएका दुई नेपाली समातिए, नाइके श्रीलंकाका

अवैध कारोबार

पोखरा फूलबारीबाट अन्तर्राष्ट्रिय कल बाइपास गर्दै आएका दुई नेपाली समातिए, नाइके श्रीलंकाका

बाहिर कपडा दोकान, भित्र बाइपास गर्ने काम, झण्डै ६ सय एनसेलको सिमसहित सबै उपकरण बरामद

call bypass

पोखरा बसेरै अन्तर्राष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) गरेको आरोपमा २ जना उपकरणसहित पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गैरकानुनी रूपमा आगमन कल बाइपास संचालन गरेको आरोपमा  रुपन्देही लुम्विनी सांस्कृतिक नगरपालिका–४ का २७ वर्षीय एमरान अहमद र पर्साको सखुवा प्रसौनी गाउँपालिका–५ का ३७ वर्षीय विशाल शाहलाई पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको टोलीले पोखरा फूलबारीबाट उनीहरूलाई पक्राउ गरिएको कास्कीका एसपी मोहन थापाले जानकारी दिए ।

उनीहरू पोखरा महानगरपालिका-११, फूलबारी सिद्देश्वर मार्गस्थित विशाल गौतमको घरमा कोठा भाडामा बसेर कल बाइपास गर्दै आएका थिए ।  बाहिर कपडा दोकान देखाएर भित्री रुपमा कल तथा एसएमएस बाइपास गर्ने काम गरेको प्रहरी बताउँछ ।

उनीहरूले कल बाइपास गरिरहेको भन्ने सूचना सिआइबीले पाएको थियो। उक्त सूचना पाएपछि खटिएको टोलीलेबाट दुई जनालाई पक्राउ गरेको हो। उनीहरूलाई १ सय २८ पोर्ट क्षमताको २ वटा डिभाइसमा एनसेलको सिम प्रयोग गरी अन्तर्राष्ट्रिय कल तथा एसएमएस बाइपास भइरहेका बेला प्रहरीले पक्राउ गरेको हो ।

६४ पोर्ट भएको अवैध कल बाइपास गर्ने उपकरण गेटवे थान २ वटा र त्यसको उपरकरणमा जडान भएको सिमहरु थान ६४, सोको चार्जर थान १ थान प्रहरीले बरामद गरेको छ ।

प्रहरीले कल तथा एसएमएस बाइपास गर्न प्रयोग गर्न ५ सय ९७ वटा एनसेलको सिमसहित प्रहरीले अन्य विभिन्न उपकरण बरामद गरेको छ ।

प्रारम्भिक अनुसन्धानमा फेब्रुअरी १ देखि अन्तर्राष्ट्रिय कल बाइपास हुने गरेको देखिएको प्रहरीको भनाइ छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई एक महिना अगाडि नै कल बाइपास भइरहेको जानकारी प्राप्त भएको थियो ।

यसअघि कल बाइपासका यस्ता घटनामा बढी बंगलादेशी नागरिक संलग्न भएको देखिएको भए पनि यसपटक श्रीलंकन नागरिक संलग्न भएको देखिएको प्रहरीको भनाइ छ । डिभाइस तथा प्राप्त उपकरणको सबै अनुसन्धानपछि कति बराबर कहाँ कहाँ कल भएको भन्ने केही थप खुल्न सक्ने प्रहरीको भनाइ छ ।

उनीहरुलाई दूरसञ्चार ऐन २०५३ को दफा ४७ को उपदफा २ अनुसार मुद्धा चलाइने एसपी थापाले जानकारी दिए । अवैध रुपमा कल बास्पास गरेमा ५ वर्ष कैद र बिगो बराबर जरिवाना हुने व्यवस्था छ ।

के हो भीओआईपी ?

फरक–फरक दूरसञ्चार कम्पनीहरूको आ–आफ्नै नेटवर्क हुन्छ । नेपालको उदाहरण हेर्ने हो भने यहाँ नेपाल टेलिकम, एनसेल जस्ता दूरसञ्चार सेवा प्रदायक छन् ।

नेपाल टेलिकमका ग्राहकले एनसेलका प्रयोगकर्तालाई फोन गर्दा पनि लाग्छ र एनसेलका ग्राहकले एनटीसीका ग्राहकलाई फोन गर्दा पनि लाग्छ । दूरसञ्चार कम्पनीले अर्को कम्पनीको नम्बरबाट आफ्नो नेटवर्कमा फोन आउजाउ हुने व्यवस्था मिलाएका हुन्छन् । यसलाई अन्तरआबद्धता भनिन्छ । देशभित्रका सञ्चालनमा रहेका विभिन्न दूरसञ्चार सेवा प्रदायकबीच अन्तरआबद्धता भएजस्तै संसारभरका दूरसञ्चार सेवा दिने कम्पनीबीच यस्ता अन्तरआबद्धता हुन्छ ।

जस्तो भारतको कुनै नम्बरबाट नेपाल टेलिकमको नम्बरमा फोन आउजाउ हुन्छ । यस्तै, एनसेलको नम्बरबाट पनि भारत वा अरू देशका नम्बरमा फोन आउजाउ हुन्छ ।

यसबापत दुवै दूरसञ्चार कम्पनीलाई फाइदा हुन्छ । जस्तो– एनसेलको नम्बरबाट कसैले कतारको नम्बरमा फोन गर्‍यो भने एनसेलले ग्राहकबाट जति पैसा प्राप्त गर्छ त्यसको निश्चित प्रतिशत जुन देशको जुन कम्पनीको नम्बरमा उक्त कल गएको हो त्यो कम्पनीले पनि प्राप्त गर्छ ।

विदेशबाट नेपाल आउने कलमा पनि यही नियम लागू हुन्छ । जस्तो– भारतको भोडाफोनको नम्बरबाट नेपाल टेलिकमको नम्बरमा कसैले फोन गर्‍यो भने भोडाफोनले उक्त ग्राहकबाट जति रकम काट्छ त्यो रकमको निश्चित प्रतिशत नेपाल टेलिकमले पनि प्राप्त गर्छ ।

अन्तर्राष्ट्रिय कलमा यस्ता दुई नेटवर्कलाई संयोजनका लागि वैधानिक गेटवे हुन्छ । सामान्य भाषामा भन्दा गेटवे भनेको कल आउजाउ गर्ने बाटो हो ।

कसरी हुन्छ अवैध कल बाइपास ?

एउटा नेटवर्कदेखि अर्को नेटवर्कलाई जोड्ने काम गेटवेको हो । नेपालमा दुरसञ्चार प्राधिकरणबाट अनुमति लिएर टेलिफोन सेवा प्रदायक कम्पनीहरु एनसेल, एनटीसीलगायतले अन्तर्राष्ट्रिय कल नेपालमा भित्र्याउने गरेका छन् ।

यो वैधानिक गेटवे हो । तर, कुनै गिरोहले त्यसरी नेपाल बाहिरबाट आउने कललाई वैधानिक गेटवेतिर प्रवेश गर्न नदिई आफ्नो रुटमा डाइभर्ट गर्छन् । र, अन्तर्राष्ट्रिय कललाई लोकल कलका रुपमा सम्बन्धित टेलिफोन वा मोबाइलसम्म पुर्‍याउँछन् ।

अर्थात्, भीओआईपी सञ्चालकले यस्ता कललाई वैधानिक बाटोबाट जान नदिइ इन्टरनेट जोडिएको उपकरणको सहायताले अवैध ‘गेटवे’ बाट पठाउँछन् । यही प्रक्रियालाई नै अवैध कल बाइपास भनिन्छ ।

यसरी पनि बुझ्न सकिन्छ, दूरसञ्चारको गेटवेलाई बाइपास गरेर सिधै अवैध बाटोबाट सम्बन्धित ल्याण्डलाइन वा मोबाइलमा कल टर्मिनेट गराउने प्रक्रियालाई अवैध कल बाइपासको रुपमा बुझ्न सकिन्छ ।

त्यस्ता गिरोहले अन्तर्राष्ट्रिय कललाई आधिकारिक गेटवेबाट प्रवेश गर्न नदिई भीओआईपी (भोइस ओभर इन्टरनेट प्रोटोकल) वा जीओआईपी (जीएसएम ओभर इन्टरनेट प्रोटोकल) र दुरसञ्चार प्रदायकका सीम कार्ड प्रयोग गरेर अवैध बाटोबाट भित्र्याउँछन् ।

यसरी दुरसञ्चार वा एनसेलको सर्भरमा टर्मिनेट हुँदै सम्बन्धित व्यक्तिको फोनमा कल टर्मिनेट हुनु पर्नेमा सिधै प्रयोगकर्तामा कल टर्मिनेट गराउने गरिन्छ । त्यसपछि प्रयोगकर्ता समक्ष फोन आउँदा समेत लोकल नम्बर नै देखिन्छ ।

यसको तथ्यांक सम्बन्धित दूरसञ्चार सेवा प्रदायकलाई हुँदैन । यसबाट दूरसञ्चार कम्पनीले प्राप्त गर्ने आम्दानी भीओआईपी सञ्चालकले प्राप्त गर्छन् । त्यसैले नेपाल सरकारलाई फाइदाको अंश करका रूपमा पनि प्राप्त हुन्न । यसका लागि उच्च गतिको नियमित इन्टरनेट आवश्यक हुन्छ ।

कामदार मात्रै पक्राउ

अवैध भीओआईपी चलाएको आरोपमा पक्राउ पर्नेको संख्या उच्च देखिए पनि यस्ता सञ्जालका प्रमुख व्यक्तिले भने उन्मुक्ति पाइरहेका छन् । कल बाइपास गर्ने धन्दामा लगानीकर्ता विदेशी हुने भएकाले नेपालमा उसका लागि काम गर्नेहरू मात्रै पक्राउ पर्दै आएको सीआईबीका प्रहरी अधिकारी बताउँछन् ।

प्रहरीका अनुसार विदेशीहरूले नै नेपालमा कल बाइपासको गेटवे मेसिनसहित आएर यहाँ जडान गरिदिन्छन् । नयाँलाई उनीहरूले नै केही समय बाइपास गर्ने तालिम दिएर जान्छन् र नेपालीले चलाउँछन् । “अहिलेसम्म पक्राउ परेका सबै विदेशीको निर्देशनमा चलाउने ग्राउन्ड लेभलका व्यक्तिहरू मात्रै हुन्,” प्रहरी भन्छ ।

प्रहरीका अनुसार सिंगापुर र थाइल्यान्डमा बसेर क्यारियरहरूसँग मिलेर लगानीकर्ताले कल बाइपास गर्ने सेटिङ मिलाउँछन्, जहाँ नेपाल प्रहरीको पहुँच पुग्ने सम्भावना कम हुन्छ ।

बंगलादेशी, भारतीय, श्रीलंकालीहरूलाई भने लगानीकर्ताले बाइपासका डिभाइस दिएर पठाएका हुन्छन् । साथै, डिभाइसवालाले नै नेपालमा बाइपास सञ्चालन गर्नेलाई ३० देखि ४० प्रतिशतसम्म रकम दिने गरेका छन् ।  कल बाइपास अन्य ठूला आपराधिक सञ्जाल विस्तार गर्ने माध्यम बन्न सक्ने खतरा छ । भन्छन्, “आतंकवादी गतिविधि, लागूऔषध कारोबार, राज्यलाई असर गर्ने गम्भीर प्रकृतिका घटना घटाउन यस्तो प्रविधियुक्त अपराधलाई माध्यम बनाउन सक्छन् ।”

अधिकारीहरुका अनुसार नेपालमा कल बाइपास गर्नु अवैध भए पनि अहिले अवैध कल बाइपास गर्न मुख्य सर्भर राखिने गरेका सिंगापुर, थाइल्याण्ड, बंगलादेश, श्रीलंका लगायतका देशमा वैध छ । यसले पनि अप्ठ्यारो बनाएको छ ।

कसरी रोक्ने ?

विदेशबाट कल आउँदा नेपाली नम्बर देखिएमा भीओआईपी नै प्रयोग भएको बुझ्नुपर्छ । यसरी भीओआईपीको प्रयोग गर्दै विदेशबाट कल आए आवाज स्पष्ट नसुनिने हुन्छ । यसमा गोपनीयताको सम्भावना पनि कम हुन्छ ।

दुईबीचको कुराकानी तेस्रो व्यक्तिले सुनिरहेको पनि हुन सक्छ । वैदेशिक रोजगारीमा जाने नेपाली धेरै छन् । नेपालमा विदेशबाट बढी कल आउने कारण एउटा यो पनि हो ।

दशकअघि नाम चलेकै इन्टरनेट प्रदायकको नाम कल बाइपासमा जोडिएको थियो । तसर्थ, इन्टरनेट सेवा दिने नाममा यस्तो धन्दामा सक्रियता वा सहयोग गरिरहेको छ कि भन्नेबारे पनि बहस हुनु जरुरी रहेको प्रहरी अधिकृतहरूको बुझाइ छ । यसले दूरसञ्चार सेवा प्रदायक संस्था मात्र नभई देशले समेत कर गुमाइरहेको छ । त्यसैले दूरसञ्चार प्राधिकरणले यसलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे सोच्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन् ।

सन्दर्भ सामाग्रीः अनलाइनखबर, नेपाल म्यागेजिन अनलाइन, कान्तिपुर लगायतका सञ्चारमाध्यम

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds