खुसी मान्छेको मात्र होइन, अन्य प्राणीको पनि खोज हो । खुसी हुने तरिका फरकफरक हुन्छन् । जिन्दगीभर हामी जे कर्म गर्छौँ, त्यो खुसी नै खोजिरहेका हुन्छौँ । कहाँनेर हामी चुक्यौँ भने त्यो खुसी के हो ? यो कुराको बोक्रे पहिचान त भयो तर गुदी पहिचान हुन सकेन ।
खुसीबारे यसको वैज्ञानिक कारण उप्काउन चाहेँ । हाम्रो मस्तिष्कबाट दुई चीज उत्पादन हुन्छ । एउटा जैविक इलेक्ट्रिसिटी हो । त्यसलाई अल्फा, बिटा, थिएटा, डेल्टा र गामा लेभलमा विभाजन गरेको छ । यी हाम्रो मस्तिष्कले बिजुली उत्पादन गरिरहेका ब्यान्ड हुन् । कोही मान्छेले ओलम्पिकमा या कुनै साहित्यकारले कुनै गज्जबको कुरा आविष्कार गर्छन्, कलाकारले कला प्रस्तुत गर्छन् भने उनले त्यो अघिपछि प्रस्तुत गर्न नसकिरहेको र कुनै एउटा विशेष अवस्थामा आउँछ भने त्यसलाई गामा भनिन्छ । यो बेला दायाँबायाँ सबै बिर्सिइन्छ, जे गर्न खोजेको त्यही मात्र सोचिन्छ, अरु केही सोचिँदैन । धार्मिक दृष्टिमा हेर्दा यसलाई ‘अर्जुनदृष्टि’ भनेर पदावली प्रयोग गर्दै आएका छौँ । अर्जुनले अरु साथीजस्तो नानाभाँती कुरा गरेनन्, उनले भने, ‘गुरुवर, मैले चराको आँखाबाहेक केही देखिरहेको छैन ।’
हो, जसले आफ्नो लक्ष्यबाहेक केही देख्दैन, उसले आफ्नो आधा काम पहिल्यै सकाइसक्यो । अब आधा काम प्रयोग गरेपछि थाहा हुन्छ । अर्जुनदृष्टिको कुरा सयपल्ट होइन, हजारपटक गर्छौं तर हाम्रो अर्जुनदृष्टि किन हुँदैन भन्दा अर्जुनदृष्टि हुन मस्तिष्क बिटाबाट अल्फामा, अल्फाबाट ठेटामा, थिएटाबाट डेल्टामा र डेल्टाबाट पनि पर गामाको लेभलमा इलेक्ट्रिसिटी उत्पादन हुन्छ । त्यो भए हामी सबैसँग अर्जुनदृष्टि हुन्छ । वैज्ञानिकमा भए उसले आविष्कार गर्छ, खेलाडीमा भए खेलमा गोल्डमेडल जित्छ, साहित्यकार भए अब्बल दर्जाको साहित्य, कालजयी कृति जन्मिने गर्दछ ।
सफल हुनु भनेको दिमाग गामा लेभलमा चल्नु हो । खुसी हुनु भनेको के त ? खुसी हुनु भनेको हाम्रो मस्तिष्क अल्फा लेभलमा आउँछ । अल्फा भनेको इलेक्ट्रिसिटी कम उत्पादन हुनु हो । कम हुनु भनेको हामीले शान्तिको अनुभूति गर्छौं, आनन्द महसुस गर्छौं । सेरोटोनिन रसायन ब्लक हुनासाथ तपाईं हामी खुसी हुन सक्दैनौँ । यसको खुसी भनेको न धन, न प्रतिष्ठा, न प्रतिष्ठामा कतै हुँदैन भन्ने धार्मिक हिसाबले पहिल्यै आएको थियो । अहिले वैज्ञानिकले पनि खुसी र दुःख दुवै केमिकलले हो भन्ने वैज्ञानिक रूपले प्रमाणित छ । तनाव छ, दुःख छ भन्ने कुरा आर्थिक, सामाजिक कारणले आएको होला तर यो पीडा स्ट्रोस हर्मोनबाट आउँछ । सफलता, खुसी, पीडा, असफलता बाहिरको संसारमा हुँदैन । यो सबै कुरा मान्छेको दिमागमा हुन्छ । यो कुरा बुझेन भने जिन्दगीभर हामी खुसी खोज्न जानेहरू दुःख पाएर फर्कन्छौँ ।
खुसी हुनु र सुखी हुनु एउटै कुरा होइन । खुसी हुन मःम: खाए हुन्छ, एकछिन नाच्दा र हाँस्दा हुन्छ । सुखी हुनु भनेको जीवनप्रति सन्तुष्ट र आनन्दित हुनु हो । यो दुवै कुरामा पनि बायोकेमिकल चाहिन्छ । त्यो कुरा पनि हाम्रै दिमागमा छ । हामी भाग्न खोजिरहेको दुःख पनि हाम्रै शरीरभित्र केमिकलको रूपमा छ । त्यस कारण हामीले सुखी जीवन बाँच्ने हो भने मनोविज्ञानलाई बुझ्नुपर्छ । जबसम्म हामीले कारण बुझ्दैनौँ, तबसम्म निवारण गर्न सक्दैनौँ । म दुःखी हुनुको कारण मेरा बाबा रिसाएको, श्रीमतीले गडबड गरेकाले, श्रीमान्ले व्यभिचार गरेकाले भन्न सकिन्छ । तर, त्यसो होइन । बिहान पूर्वबाट सूर्य उदाएको र साँझ डुबेको देख्छौँ । न सूर्यको उदय हुन्छ, न डुब्छ । आखिर घुम्ने त पृथ्वी हो । अनि घुम्ने पृथ्वी नदेख्ने, नघुम्ने सूर्य घुमेको देख्छौँ । बाहिरबाट हामीले धेरै धोखा खाइरहेका हुन्छौँ ।
देश विकास हुन युवा खुसी हुनुपर्छ । किनकि जहाँ दुःख छ, उसले विकास गर्न चाहँदैन । अचेलका युवामा जोसजाँगर छैन भन्ने कुरा बोक्रा मात्र हो । गुदी कुरा के हो भने अचेलका युवालाई हामीले खुसी बनाउन सकेनौँ । हाम्रा कलेजले उनीहरूलाई खुसी हुन दिएनन्, प्रेसर मात्र दिए ।
कहिलेकाहीँ म साथीहरूलाई सोध्छु– तपाईंहरूले बोटमा केरा देख्नुभएको छ ? सबैले हात उठाएर देखेका छौँ भन्नुहुन्छ । कसैले बोटमा केरा देख्दैन । सबैले देख्ने केराको बोक्रा हो । सुन्तला कसैले देख्दैन, बोक्रा देख्छन् । त्यस कारण मान्छेले सत्य देख्दैनन्, सत्यको बोक्रा देख्छन् । त्यो बोक्रालाई सत्य भन्ठान्छ, जसको कारणले ऊ सत्यसम्म कहिल्यै पुग्दैन । सुखको गुदी, मनोविज्ञान के हो त ? संसारमा सबैभन्दा सजिलो चीज खुसी हुनु हो । किनभने खुसी हुन हाँस्दा, नाच्दा पुग्छ । हामीलाई किन गाह्रो पर्यो ? किनभने हामी धेरै विचार गर्छौं । खुसी हुन एकाग्र हुनुपर्छ । म बोलिरहँदा म त्यहाँ केन्द्रित भइनँ भने मैले बोल्नै सक्दिनँ । स्रोताले सुन्न ध्यान दिएन भने स्रोता खुसी हुँदैन ।
खुसी भनेको केमिकल भएकाले पैसा चाहिँदैन । खुसी हुन हामी पैसा कमाउन खोज्छौँ । खुसी हुन जुन चीज गरिरहेको छ, त्यसमा एकाग्र हुनु नै काफी छ । सन् १९७० को दशकमा अमेरिकामा रिकार्ड निक्सनको पालोमा ड्रग्स प्रतिबन्ध लगाउने घोषणा भयो । त्योबेला अफिमबाट बन्ने किसिमकिसिमका ड्रग्स प्रयोग गरिरहेका थिए । तर, वैज्ञानिकहरूको खोजी ड्रग्समा किन लागे भनेर रह्यो । त्यो सेवनपछि डोपमिन भन्ने केमिकल निस्किन्छ । डोपमिन सक्रिय भए खुसी भइन्छ, सक्रिय नभए खुसी भइँदैन । ड्रग्सले खुसी दिने हो कि केमिकलले दिने हो ? बोक्रामा खुसीको कारण ड्रग्स हो तर वास्तविक कारण दिमागभित्रको त्यो केमिकल हो । यो बुझेपछि वैज्ञानिकले सारा युवा बटुले । उनीहरूलाई बिहान कतै नहेरी दौडने भनेर अह्राए । केही समयपछि भाग्दाभाग्दा नलडेसम्मको विन्दुमा दौडन लगाए । जसले ड्रग्स लिन्थे, प्राय:ले छोड्थे, किनकि दौडँदादौडँदा डोपमिन सक्रिय हुन्छ । त्यसलाई अचेल ‘रनर्स हाई’ भनिन्छ । भाग्दा पनि निस्कने केमिकल त्यही हो ।
ड्रग्समा मान्छे किन लाग्छ ? उसले भाग्दा त्यही केमिकल उत्पादन हुन्छ, जुन ड्रग्समा हुन्छ भन्ने थाहा पाउँदैन । मान्छेलाई ड्रग्समा जान आवश्यक नै छैन । आमाबाबाले छोराछोरी, शिक्षकले विद्यार्थीलाई सिकाउन सकेनन् । ड्रग्स लिनु र भाग्नु समान हो । ड्रग्स लिँदा तपाईं खुसी भए पनि परिवार दुःखी हुन्छ । त्यही कारण कुन बाटो रोज्ने भन्ने कुरामा युवा भ्रममा परे भने हामी बोक्रालाई सत्य मानेर बसेका छौँ ।
मान्छेमा जति बढी नकरात्मकता आउँछ, त्यति बढी काम गर्न छोड्दिन्छ । जस्तैः डिप्रेसन भएका मान्छे हिँड्दा पनि बिस्तारै हिँड्छ, हात पनि बिस्तारै चलाउँछ, खाँदा पनि बिस्तारै खान्छ । शरीरको मोसन नै सुस्त हुन्छ । जब डिप्रेसनको उल्टो हुन्छ, त्योबेला फटाफट हिँड्छ । भनाइको मतलब तपाईं कति खुसी हुनुहुन्छ भन्ने कुरा तपाईंको स्पिडले बताउँछ । जति बढी नकारात्मक विचार आउँछ, त्यति काम गर्ने जाँगर घट्छ । काम गर्ने जाँगर नचलेपछि तपाईं असफल हुनुहुन्छ ।
देश विकास हुन युवा खुसी हुनुपर्छ । किनकि जहाँ दुःख छ, उसले विकास गर्न चाहँदैन । अचेलका युवामा जोसजाँगर छैन भन्ने कुरा बोक्रा मात्र हो । गुदी कुरा के हो भने अचेलका युवालाई हामीले खुसी बनाउन सकेनौँ । हाम्रा कलेजले उनीहरूलाई खुसी हुन दिएनन्, प्रेसर मात्र दिए । घरले पनि सुत्नुपर्ने बच्चालाई बिहानै उठाएर स्कुल पठाउँछ । यी सबैबाट आमाबाबा, परिवार, प्रशासनबाट तनाव दिने काम भयो । देशलाई विकास गर्न खुसी पनि चाहिन्छ ।
पोखरा आएर जति पोखरा खोजिन्छ, हामी खोज्दाखोज्दै बाहिर जान्छौँ । खुसी पनि त्यही हो । खुसी खोपडीमा छ । त्यसलाई खोज्ने होइन । जे गर्दा दुःखी भइन्छ, त्यो नगरौँ । के काम गर्दा दुःखी हुन्छौँ ? दुःख रातजस्तो हुन्छ । वैज्ञानिकहरूले अँध्यारो छैन भन्छन् । त्यो प्रकाशको अभाव मात्र हो भन्छन् । दुःख भन्ने चीज हुँदैन, त्यो खुसीको अभाव मात्र हो ।
(पोखरामा जारी ११औँ संस्करणको नेपाल लिट्रेचर फेस्टिबलमा ‘युवा र खुसी’ सत्रमा योगी विकाशानन्दले दिएको प्रवचनको अंश)
सम्बन्धित खबर
कहाँ हराएको छ हाम्रो खुसी ?
मगर समुदायको माघेसंक्रान्ति र पुतली नाँच: योमाखार र पेल्माखारसंग सम्बन्ध
‘मैले देखेको पोखरामा हाम्रो भूमिका’
मर्दी बेस क्याम्प यात्रा संस्मरण: झरीको कष्टकर यात्रा बिर्साउने त्यो घुम्टो उघारेको हिमाल
पोखरामा अवस्था खराब बन्दा मेरो ‘कोरोना अनुभव’
मानुङ्गले दिएको सन्देश र व्यासको पर्यटन सम्भाव्यता
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी