पोखरामा लिटरेचर फेस्टिभल सुरु, शब्दशक्तिको एघारौं वर्ष

पोखरामा लिटरेचर फेस्टिभल सुरु, शब्दशक्तिको एघारौं वर्ष

फागुन ७ गतेसम्म चल्ने

Nepal Literature Festival (1)

पोखरा । पोखरामा ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ । गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार फेस्टिभलको उद्घाटन गरे ।

फेस्टिभलको उद्घाटनमा मुख्यमन्त्री पाण्डेले साहित्य र राजनीति दुवै नै समाज परिवर्तनको संवाहक भएको बताए । साहित्यले सपना देख्ने र राजनीतिले त्यसलाई पूरा गर्ने उनको भनाइ छ ।

‘साहित्य र राजनीति दुवैको अन्तिम ध्येय नै समाज परिवर्तन हो । साहित्यले समाज परिवर्तनका लागि कल्पना गर्दछ’, मुख्यमन्त्री पाण्डेले भने, ‘राजनीतिले त्यो परिकल्पनालाई पूरा गर्न सहियोग पु¥याउँछ ।’

पोखरामा लिटरेचर फेस्टिभल पोखराकै पहिचानको महोत्सव भइसकेको र यसले पोखराको पर्यटनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘नेपाल लिटरेचर फेस्टिभल अहिले एउटा ‘ब्रान्ड नेम’ भइसक्यो । अहिले पोखराले आफ्नो पहिचानको महोत्सवको रुपमा मान्न थालिसकेको छ,’ उनले भने ।

पोखरालाईमात्रै नभई नेपाललाई नै अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । महोत्सवमा आउने विश्वविख्यात साहित्यकार, कलाकार पोखरा आउँदा प्रचारप्रसारमा पनि सहयोग पुगिरहेको उनको भनाइ थियो ।

‘यहाँ हुने सेसनहरु बौद्धिक, राजनीतिक, प्राज्ञिक वक्ताका कारण नागरिकलाई आकर्षित गरिहेको छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘पोखरा अन्तर्राष्ट्रियस्तरमा झन परिचित हुन सहयोग पुगेको छ ।’ उनले नेपाली कला, संस्कृति तथा बौद्धिक बहसको विकासका लागि महोत्सवले ऊर्जा थपिरहेको बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्कीले साहित्यले समाजलाई सत्मार्गमा देखाउन आवश्यक रहेको बताए । उनले गण्डकी प्रज्ञा प्रतिष्ठान भाषा, ज्ञान विकास गर्न स्थापना भएको सुनाए ।

फेस्टिभलका कार्यकारी निर्देशक निरज भारीले थुप्रै मेहनतले महोत्सवलाई ११औं संस्करणसम्म ल्याउन सकेको बताए । ‘हाम्रा जीवनमा पनि थुप्रै अपूरा, अभावहरु छन् । ती सबैलाई मल्हम साहित्य महोत्सवले गर्छ भन्ने विश्वासले नै हाम्रो अभियान हो’, उनले भने ।

फेस्टिभलकै अवसरमा कार्टुनिस्टका बादशाह परिचय बनाएका कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’को पुस्तक ‘वात्स्यायन एन्ड हिज बाब्र्स’ विमोचन भएको छ । पोखरा महानगर प्रमुख धनराज आचार्यले उक्त कार्टुन संग्रह विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै उनले वात्स्यायन पोखराका अग्ला शिखर भएको बताए । उनले आफू यसअघि विभिन्न संघसंस्थाको नेतृत्वमा हुँदा वात्स्यायनलाई विभिन्न भूमिकामा रथारोहण गराउने मौका पाएको बताए ।

मेयर आचार्यले पोखरामा साहित्य महोत्सव हुँदै गर्दा आफूले सहपाठीसमेत रहेका स्वर्गीय रवीन्द्र अधिकारीको पनि स्मरण गरे । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पूर्वपर्यटनमन्त्री अधिकारीले पोखरामा लिटरेचर फेस्टिभल ल्याउन महत्वपूर्ण भूमिका निभाएको सम्झिए । ‘यो अहिले पोखरा चिनाउने गौरवको फेस्टिभल भइसकेको छ । यसलाई निरन्तरता दिन पोखरा महानगरले के सहयोग गर्नुपर्ने हो हामी तयार छौं,’ उनले भने ।

विमोचन कार्यक्रममा वरिष्ठ साहित्यकार तीर्थ श्रेष्ठले वात्स्यायनको व्यक्तित्व वर्णन गरेका थिए । उनले दुर्गा बराल पोखराकै लागि एक आदर्श पुरुष भएको सुनाए । ‘पोखरालाई कार्टुनमा मात्रै होइन, पानी रङको सहरका रुपमा चिनाउन पनि महत्वपूर्ण भूमिका निभाउनुभएको छ’, उनले भने ।

सोही अवसरमा चित्रकार सुजना श्रीशको चित्रकला प्रदर्शनी पनि सुरु गरिएको छ । उक्त प्रर्दशनी पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले गरेकी हुन् । फागुन ७ गतेसम्म चल्ने फेस्टिभलको उद्घाटन सत्रमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विद्वत् प्रवचन दिएका थिए ।

फेस्टिभलको पहिलो दिनको अन्तिम सत्र संकवितामा कवि कुमार नगरकोटीले कुटुम्ब ब्यान्डका साथ कविता वाचन गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ