लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) मा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुसम्बद्ध विद्यार्थीहरुबीच झडप हुँदा १५ जना घाइते भएका छन् ।
झडपमा क्याम्पसका निमित्त प्रमुख अमित खनालसहित १५ जना विद्यार्थीहरु घाइते भएका हुन् । उनीहरुमध्ये गम्भीर घाइते भएका ४ जनालाई उपचारका लागि पोखरा र चितवन लगिएको छ । बाँकी घाइतेहरुको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचारपछि फर्किएका छन् ।
निमित्त क्याम्पस प्रमुख खनालका अनुसार शनिबार दिउँसो साढे ११ बजे क्याम्पसमा अचानक विद्यार्थीहरुबीच हानाहान भएको थियो । त्यसक्रममा विद्यार्थीहरुले फलामे रड र क्रिकेटको ब्याट लगायतले एक अर्कालाई प्रहार गरेका थिए ।
विद्यार्थी मदन रिजाल (टाउकोमा चोट) र बेदान्त घिमिरे (देब्रे हात भाँचिएको) को गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । विराज सुवेदी (छात्राबासको छतबाट फालिएका, नाकको हड्डी भाँचिएको) र टिकाराम ढकाल (नाक भाँचिएको) को चितवन मेडिकल कलेज भरतपुर चितवन लगिएको र उपचार भइरहेको क्याम्पसले जनाएको छ ।
खनालका अनुसार नेविसंघ र अनेरास्ववियुमा विभाजित विद्यार्थीहरुबीच अचानक झडप भएको थियो । ‘घटना होस्टेलभित्रै भएको हो । केही विद्यार्थीहरुले बसिरहेकाहरुलाई समेत आक्रमण गरेको देखिएको छ,’ उनले भने ।
फागुन ८ देखि क्याम्पसमा बीएसएजीको कक्षा सञ्चालन हुँदैछ । त्यही विषयलाई लिएर दुई विद्यार्थी संगठनबीच विवाद उत्पन्न भएको हुन सक्ने उनले बताए । घटनापछि क्याम्पसको छात्राबास खाली गराइएको छ भने सुरक्षार्थ सशस्त्र र नेपाल प्रहरी तैनाथ गरिएको छ ।
अनेरास्ववियु केन्द्रीय समितिले लमजुङ कृषि क्याम्पसको होस्टेलमा पढिरहेका विद्यार्थीमाथि नेविसंघका जत्था प्रवेश गरी कोठा थुनेर आक्रमण गरेको भन्दै घटनाको निन्दा गरेको छ ।
अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गर्दै नेविसंघका विद्यार्थीहरुले विवस विक, टिकाराम ढकाल, विराज सुवेदी, मदन रिजाल, सुलभ बस्याल, सुशील पौडेल, सुरेशराज अवस्थी, दिपेश रोकाया, वेदनाथ घिमिरे, अर्जुन ढकाल, सागर अधिकारी, नारायण भुषाल, आशिष रानाभाट, सौगात ढकाल, विनोद थारु, गौरभ जोशी, भुषण अवस्थी, शंकर भण्डारी, अर्पण महत्रा, खगेन्द्र जोशी, सुजल अर्याल र सुरज घिमिरे गरी २२ जनामाथि माथि खुकुरी, रड प्रहार गरी घाइते बनाएको भन्दै खेद प्रकट गरेका छन् ।


सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने