पोखरामा ११ औं नेपाल लिटरेचर फेस्टिभल फागुन ३ देखि ७ गतेसम्म

पोखरामा ११ औं नेपाल लिटरेचर फेस्टिभल फागुन ३ देखि ७ गतेसम्म

तयारी पूरा, ५० बढी सेसन हुने

Nepal Lit. Fest.

नेपाल लिट्रेचर फेस्टिभलको एघारौँ संस्करण आउँदो ३ देखि ७ फागुनसम्म पोखरामा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरेर लेकसाइडको बाराही घाटमा फेस्टिभल हुने जानकारी दिएको हो ।

कार्यक्रमको तयारी तीव्र रूपमा अघि बढिरहेको र एघारौँ संस्करणको फेस्टिभलमा आफूहरू पाहुनाहरूलाई सुन्दर नगरी पोखरामा स्वागत गर्न आतुर रहेको आयोजक संस्था सदस्य भरत कोइरालाले बताए । पोखरा र नेपाल लिट्रेचर फेस्टिभल पर्याय बनिसकेको उनको भनाइ छ । नेपाल पत्रकार महासंघ, कास्कीकी अध्यक्ष विमला भण्डारीले पोखराले जो कसैलाई सिर्जनात्मक बनाउने बताईन् ।

आयोजकमध्येका अर्का केशवशरण लामिछानेले नेपाल लिट्रेचर फेस्टिबल पोखरामा एउटा ब्रान्डका रूपमा स्थापित भइसकेको जनाए । ‘पोखरेलीले यसलाई अपनत्व ग्रहण गरिसकेका छन्,’ उनले भने, ‘पोखराका लागि कुनै एउटा बहुप्रतीक्षित फेस्टिबल छ भने, नेपाल लिट्रेचर फेस्टिबल नै हो ।’ नेपाल लिट्रेचर फेस्टिभलले पोखरालाई सभ्य एवं सुसंस्कृत शहर बनाउँदै लगेको उनको भनाइ छ ।

तालको शहर, हिमालमुनिको शहर आदि विभिन्न विशेषताले चिनिरहेको पोखरालाई साहित्यको पनि शहर बनाउन फेस्टिभलको महत्त्वपूर्ण भूमिका रहेको उनले जनाए । ‘यस्ता फेस्टिभल अरू पनि यहाँ आयोजना हुनुपर्छ । यसले पोखरालाई फरक पहिचान दिन्छ । हामीले भनिरहेको हिमाल, ताल र सौन्दर्यको सहर पोखरालाई साहित्यको शहर पनि बनाउन फेस्टिभलले सघाइरहेको छ,’ उनले भने ।

सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्राङ्गणबाट सुरु भएको फेस्टिभल एघारौँ संस्करणसम्म आइपुग्दा नेपाल ट्रस्टको स्वामित्वमा रहेको बाराहीघाटमा भव्यताका साथ आयोजना हुने अवस्थामा आइपुगेको नेपाल लिट्रेचर फेस्टिभलका निर्देशक निरज भारीले बताए । यस्ता फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवं सरोकारवालालाई जवाफदेही बनाउन सघाउने उनको भनाइ छ । साथै, सचेत समाज निर्माणमा पनि यसले विशेष भूमिका निर्वाह गर्ने उनले बताए ।

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ सुरु भएको नेपाल लिट्रेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवर्द्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको आयोजकको भनाइ छ ।

फेस्टिबलको पहिलो दिन ३ फागुन दिउँसो साढे २ बजेदेखि उद्घाटनसत्र सञ्चालन हुनेछ । उक्त दिन कार्टुन प्रदर्शनीदेखि विद्वत् प्रवचनलगायत कार्यक्रम सञ्चालन हुनेछन् । फेस्टिभलमा ५० बढी सेसन चल्ने छन्। फेस्टिभलमा ४ देखि ७ फागुनसम्म बिहान १० बजेदेखि साँझ ७ बजेसम्म विभिन्न सत्र सञ्चालन हुनेछन् ।

फेस्टिभलमा देशविदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहनेछ । फेस्टिभलमा ५५ वटाभन्दा बढी सेसन, साङ्गीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछन् ।

कार्टुनिस्ट दुर्गा बरालको ‘वात्सायन एन्ड बाब्र्स भोल्युम टु’ पुस्तक विमोचन एवं कार्टुन प्रदर्शनी, गोर्खा वुमन : एन इको इन द स्टोरी प्रदर्शनी पनि फेस्टिभलका अवसरमा गरिने आयोजकले जनाएको छ ।

यस वर्ष फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियस : द ट्रायम्फ एन्ड ट्र्याजिडी अफ जे रबर्ट ओपनहाइमर’का सहलेखक काई बर्डको सहभागिता हुँदै छ । उनको यस पुस्तकले विश्वप्रसिद्ध ‘पुलिट्जर प्राइज’ समेत जितेको थियो । उनको यस पुस्तकमा आधारित ओपनहाइमर चलचित्र बनेको छ । क्रिस्टोफर नोलनले निर्देशन गरेको यो चलचित्र सन् २०२३ को बक्स अफिसमा ब्लकबस्टर बनेको थियो । ९६औँ अस्कर अवार्डमा यो फिल्म १३ विधामा मनोनीत भएको छ ।

प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि फेस्टिबलमा आउँदै छिन् । उनको पुस्तक एभ्रिथिङ द लाइट टचेजका बारेमा उनले फेस्टिबलमा चर्चा गर्नेछिन् । उनको यस पुस्तकले सन् २०२३ मा उत्कृष्ट आख्यानका लागि ‘सुशीलादेवी अवार्ड’ पाएको थियो ।

विश्वप्रसिद्ध समालोचक एवं उपन्यासकार चन्द्रहास चौधरी पनि फेस्टिभलमा आउँदै छन् । उनले क्लाउड्स र अर्जी द ड्वार्फ पुस्तक लेखेका छन् । उनको अर्जी द ड्वार्फ पुस्तक ‘कमनवेल्थ फस्ट बुक प्राइज’ का लागि सर्टलिस्टसमेत भएको थियो ।

यस वर्षको फेस्टिभलमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको विद्वत् प्रवचन रहने आयोजकले जनाएको छ । उनले ‘संविधान र सुशासन’ विषयमा विद्वत् प्रवचन दिने कार्यक्रम छ । यस्तै, फेस्टिभलमा पत्रकार विजय कुमार, सांसद एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, सांसद सुमना श्रेष्ठ, पूर्वमिस नेपाल शृङ्खला खतिवडालगायतको सहभागिता रहनेछ ।

यसैगरी, अर्थमन्त्री डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्रीहरू वर्षमान पुन, सुरेन्द्र पाण्डेलगायतको पनि उपस्थिति रहनेछ । नेता सीके राउत, लेखक खगेन्द्र संग्रौला, प्रा.डा. कुन्दन अर्याल, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवं उद्योगी विनोद चौधरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, पूर्वबैंकर अनिलकेशरी शाह, प्रा. कुसुम शाक्य, नेत्री समीक्षा बाँस्कोटालगायतको पनि सहभागिता रहनेछ ।

गायक बद्री पङ्गेनी, गजलकार एवं लेखक शीतल कादम्बिनी, कवि डा. नवराज लम्साल, लेखक अमर न्यौपाने, लेखक कुमार नगरकोटी, गजलकार सङ्गीता थापा, गजलकार सुमन स्मारिकालगायतको सहभागिता पनि रहने आयोजकले जनाएको छ ।

फेस्टिबलमा हरेक दिन साङ्गीतिक प्रस्तुति छन् । फेस्टिबलमा कुटुम्ब ब्यान्ड, डा. ध्रुवेशचन्द्र रेग्मी र उनको समूह, डा. सुमन थापा र द ब्लू फ्रेट ब्यान्ड, विपुल क्षेत्री र उनको द ट्राभलिङ ब्यान्ड आदि समूहको कन्सर्ट हुँदै छ । फेस्टिबलका अवसरमा लेखक कुमार नगरकोटीको कुटुम्ब ब्यान्डसँग रिसाइटेसन कार्यक्रमसमेत छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds