गण्डकीमा पनि फ्लोर क्रस, सत्ता गठबन्धनको मत एमालेलाई

राष्ट्रिय सभा निर्वाचन:

गण्डकीमा पनि फ्लोर क्रस, सत्ता गठबन्धनको मत एमालेलाई

एमालेले भने तीनै क्लष्टरमा आफ्नो मत जोगायो

gathabandhan mat

राष्ट्रिय सभाको निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनै जना उमेद्वार विजयी भएका छन् ।  नेपाली काँग्रेसका २ जना र नेकपा माओवादीका १ जना सहित तीनजना नै विजयी भएका हुन्

विजयी हुनेहरुमा अन्यतर्फ नेपाली काँग्रेसका किरण बाबु श्रेष्ठ, अपाङ्ग तथा सिमान्तकृत तर्फ नेपाली काँग्रेसका पदम परियार र महिला तर्फ नेकपा माओवादीकी मनरुपा शर्मा छन् ।

गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएपनि मत भने क्रस भएको छ । नेकपा एमालेले आफ्नो मत जोगाउँदा सत्तारुढ गठबन्धनको जनप्रतिनिधिको मत एमालेलाई क्रस भएको छ ।

गण्डकीमा प्रदेशसभाका ६० र स्थानीय तहका १ सय ७० गरेर २ सय ३० जना मतदाता थिए । स्थानीय तहका १ सय ७० मतदातामध्ये १ सय ६९ जनामात्र मतदानमा सहभागी थिए । एमालेबाट निर्वाचित बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली मतदानमा सहभागी थिएनन् । उनी सहकारीको रकम ठगी गरेको आरोपमा प्रहरीले पक्राउ पूर्जी जारी  गरेपछि केहि महिना देखि फरार छन्

गण्डकीका स्थानीय तहमा सत्तारुढ गठबन्धनका १ सय १ र एमालेका ६८ जना जनप्रतिनिधि छन् । कुल ६८ मध्ये ढोरपाटनका मेयर देवकुमारलाई छोड्दा एमालेको मत ६७ हो । प्रदेशसभाको मत क्रस नभए पनि स्थानीय तहमा एमालेले आफ्नोभन्दा बढी मत पाएको छ ।

महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटाले ७३ जनाको मत पाएकी छन् । माओवादी केन्द्रकी मनरुपा शर्माले ९५ मत पाएकी छन् ।  गठबन्धन उम्मेदवारको क्रस भएको ६ जनाको मत एमाले उम्मेदवारले पाएकी छन् ।

किरण ३ हजार ८ सय ८ मतभार पाएर विजयी भए । उनलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभातर्फ ३६ जनाले मत दिएका थिए । विपक्षी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६९ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए ।

अपांगता–अल्पसंख्यकमा पनि एमालेले एक मत बढी पाएको छ । एमालेका हेमन्द्र शेरचनले ६८ मत पाएका छन् । एमालेले पाएको बढी एक मत मनाङको ङिस्याङ गाउँपालिका उपाध्यक्ष छिरिङ गुरुङको हो । किनकि यो क्लष्टरमा गठबन्धनको जति मत हो कांग्रेसका उम्मेदवारले त्यति नै जनाको मत पाएका छन् ।

कांग्रेसका पदम परियारले १ सय १ जनाको मत पाएका छन् । पदमको हकमा भने मत क्रस भएको छैन । महिला क्लष्टरमा एमालेकी उम्मेदवार देवकोटामा मत दिएका ६ जना गठबन्धनका जनप्रतिनिधिले पदमलाई नै मत हालेका छन् ।

खुल्लातर्फ भने गठबन्धनको एक मत क्रस भएको छ । एमालेका चक्रबहादुर पराजुलीले ६९ जनाको मत पाएका छन् जबकि एमालेको ६७ मात्र हो । स्वतन्त्र निर्वाचित उपाध्यक्ष छिरिङले मत दिँदा पनि बाँकी एक मत रहन्छ । कांग्रेसका किरणबाबु श्रेष्ठले एक सय जनाको मत पाएका छन्। जबकि गठबन्धनको कूल मत १ सय १ हो । यो क्लष्टरमा गठबन्धनको एक मत एमालेलाई गएको छ ।

result-final-1

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds