पोखरा । वैदेशिक रोजगार मञ्च लाहाचोकको विशेष पहलमा विद्यार्थीदेखि, विभिन्न दुर्घटनाका घाइते र मुटु रोगीलाई एकैसाथ सहयोग हस्तान्तरण गरिएको छ ।
मञ्चका सभापति राजु क्षत्री अपुरोको संयोजनमा गठित विभिन्न संयोजकको व्यवस्थापनमा क्रियाशील पदाधिकारीले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
मञ्चका कोषाध्यक्ष लबि क्षत्रीको संयोजकत्वको समूहले भुर्जुङखोला निवासी मुटुरोग पीडित मिनादेवी रिमालको उपचारका लागि ५० हजार सहयोग हस्तान्तरण गरेको छ ।
मञ्चका सदस्य क्यामबहादुर घतानेको संयोजकत्वमा क्रियाशील पदाधिकारीले लाहाचोकको जनकल्याण आधारभूत विद्यालय जोगीचौरका २९ जना विद्यार्थीलाई स्वेटर, टोपी, पञ्जा र मोजासहितका न्यानो कपडा वितरण गरेको छ । सहयोग हस्तान्तरण समारोहकी प्रमुख अतिथि कार्यपालिका सदस्य श्रीदेवी विकले मञ्चको सहयोगले विद्यार्थी, विद्यालय र अभिभावकलाई थप प्रोत्साहन मिल्ने बताइन् ।
उक्त कार्यक्रमका लागि चन्द्रमोहन (अर्बिन) पौडेल, क्यामबहादुर घताने, पूर्णबहादुर शाही नर्वे, बिष्णुहरि अधिकारीले आर्थिक सहयोग गरेका थिए ।
यसैगरी महेन्द्र मा.वि. लाहाचोकका विद्यार्थीलाई आर्थिक तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । उक्त विद्यालयमा एसइइ तयारीमा रहेका ५ जना विद्यार्थीलाई होस्टल खर्च अभावको विद्यालयका प्रधानाध्यापक मिनराज अधिकारीबाट जानकारी प्राप्त भएपछि उक्त सहयोग गरिएको छ । जसका लागि मञ्चका पदाधिकारी पूर्णबहादुर शाही (नर्वे) र अञ्जु लम्साल (काठमाडौं) बाट १६–१६ हजार, राजेश घले (हङकङ) बाट आठ हजार सहयोग भएको थियो । सोही अवसरमा पूर्णबहादुर शाहीबाट ५ जना विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरिएको थियो ।
सहयोग ग्रहणपछि विद्यालयका प्रधानाध्यापक अधिकारीले मञ्चको सहयोगप्रति आभारसहित धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमका व्यवस्थापक सुशील श्रेष्ठले मञ्चका सचिव पुष्पराज अधिकारीको संयोजकत्वमा मञ्चले दुर्घटनामा परेका घाचोक निवासी क्षितिज नेपालीका लागि रु ३२ हजार ५ सय ५५ सहयोग हस्तान्तरण गरेको जानकारीसमेत गराएका थिए ।
प्रदीप क्षत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मञ्चका पदाधिकारी भुपेन्द्र सुनार, दिलिप रानाभाट, गोमा घले, राजु परियार, रूपा अधिकारी, देवी तिवारीले कार्यक्रम व्यवस्थापनमा सहजीकरण गरेका थिए ।
सम्बन्धित खबर
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी