पोखरा । नेपाली कांग्रेस, कास्कीले पार्टीका क्रियाशील सदस्यता खारेज गर्न प्रस्ताव गरेको छ । सभापति किशोरदत्त बरालले १९ बुँदे प्रस्ताव पेश गर्दै क्रियाशील सदस्यता खारेजीको प्रस्ताव गरेका हुन् ।
मंगलबार पोखरामा आयोजित जिल्ला सम्मेलनमा सभापति बरालले आफ्नो राजनीतिक प्रतिवेदनका मुख्य बुँदा पढेर सुनाएका थिए । त्यसमा क्रियाशील सदस्यता सबै खारेज गरेर नयाँ बनाउनुपर्ने, चुनावअघि गठबन्धन गर्न नहुने, एक पद, एक व्यक्तिको वैधानिक व्यवस्था गर्नुपर्ने, पार्टीमा उमेर नभई विचारको बहस हुनुपर्ने, सबै तहका कार्यसमतिको आकार सानो बनाउनुपर्नेसहित १९ विषयगत बुँदा समेटिएको थियो ।
आफू नेता बन्न क्रियाशील सदस्य धेरै बनाइएको र चुनावअघि गठबन्धन गरेर पार्टी कमजोर बनाइएको निष्कर्ष प्रतिवेदनमा थियो । ‘हाम्रो अध्ययन र अनुभवले क्रियाशील सदस्यहरू कांग्रेसका लागि नभई आफ्ना लागि बनाएको देखाएको छ,’ बरालले भने, ‘यसमा नेताहरू मात्र दोषी हुनुहुन्न, हामी पनि दोषी छौँ । अब अनुशासन, मर्यादा, मूल्य, योगदान र क्षमतामा आधारित भएर नयाँ सदस्यता वितरण गर्नुपर्छ । नयाँ सदस्यबाट मात्रै विभिन्न तहका समितिको निर्वाचन गर्नुपर्छ ।’
पार्टीभित्र एउटै पदमा धेरै पदाधिकारी रहने विधान संशोधन हुनुपर्ने उनको सुझाव छ । उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत पदमा एक जना मात्रै हुनुपर्ने उनले सुझाए । यस्तै, पार्टीमा उमेर नभई बिचारको बहस हुनुपर्ने, सबै तहका कार्यसमितिको आकार सानो बनाउन सुझाइएको छ ।
केन्द्रीय पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था खारेज गर्न, ट्रेड युनियनको भूमिकालाई परिमार्जित गर्न, विद्यालय र विश्वविद्यालय राजनीतिमुक्त बनाउन, एक पद एक जिम्मेवारीलाई वैधानिक व्यवस्था गर्न, राष्ट्रिय क्षमा याचना अभियान चलाउन, अनुशासित र मर्यादित संगठन निर्माण, भ्रष्टाचार विरुद्धको अभियान चलाउन केन्द्रीय समितिलाई सुझाव पठाइएको छ ।
कांग्रेस कास्कीले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न संविधान संशोधनको प्रयास पार्टीले गर्नुपर्ने बरालको भनाई छ । `समानुपातिक निर्वाचनले भविष्यमा समेत समस्या ल्याउन सक्छ । यो व्यवस्था खारेज गरेर जानुपर्छ,´ उनले भने, `जुन निर्वाचन प्रणाली देश र नागरिकको हितमा छैन यसमा काँग्रेस गम्भीर हुनैपर्छ । यो खारेजीको लागि संवैधानिक प्रक्रिया पुरा गर्न काँग्रेस सक्रिय हुनुपर्छ ।´
उनले परम्परागत सभा सम्मेलनलाई अनलाइनमा रूपान्तरण गर्नुपर्ने, निर्वाचनअघि गठबन्धन गर्न नहुने, विधानमै नेता कार्यकर्ताको मूल्याङ्कन मापदण्ड उल्लेख गर्नुपर्ने, पूर्णकालीन नेता कार्यकर्तालाई उद्यमशील नेता कार्यकर्ता अवधारणा लागू गर्नुपर्ने सुझाव उनले दिए । उनले संघीयताको औचित्यमाथि छलफल सुरु गर्नुपर्ने बताए । `संघीयतापछि नागरिकमा जताततै निराशा, असन्तुष्टि र आक्रोश छ,´ उनी भन्छन्, `प्रदेश संरचनाले आफ्नो औचित्य पुष्टि गर्न सकेको छैन । यसैले संघीयतामाथि छलफल र बहस नितान्त आवश्यक छ ।´
हिन्दु राज्यको आवश्यकतालाई कास्की कांग्रेसले सतहमा ल्याएको छ । हिन्दु धर्मलाई कुनै धर्म विशेषमा नजोडी देशको समृद्धिसँग जोड्ने अवधारणा अघि सारिएको हो ।
‘मासबेस पार्टी’ मा सदस्य धेरै हुनु स्वाभाविकः देउवा
११ मिनेट बोलेका सभापति देउवाले चुनावअघिको गठबन्धन र पार्टी सदस्यताको विषयमा बोलेर आफ्नो समय खर्चिए । उनले ‘मासबेस पार्टी’ मा सदस्य धेरै हुनु स्वाभाविक भएको बताए ।
चुनावमा गठबन्धन भएकाले पार्टीमा विग्रह देखिएको भन्दै यति बेला कांग्रेसमा नेतृत्वको चर्को विरोध हुँदै आएको छ । अझ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनावअघिको गठबन्धन फलदायक नभएको बताउँदै गठबन्धन गर्न नहुने पक्षमा राय दिँदै आएका छन् ।
पोखरा आएर देउवाले संविधान अनुरुप कसैले बहुमत ल्याउन नसक्नेस्थिति भएकाले गठबन्धन गरिएको बताए । चुनावअघि गठबन्धन नगर्न जिल्ला सभापति बरालले राखेको प्रस्तावमा सभापति देउवाले चुनौतीपूर्ण शैलीमा जवाफ फर्काए ।
कुनै पार्टीको एकल बहुमत आउन नसक्ने भएकैले गठबन्धन आवश्यकता रहेको र गठबन्धन नगरी चुनाव जित्ने पार्टी बनाउन जिल्ला सभापति बराललाई देउवाले चुनौती दिए । ‘गठबन्धन नगरी जित्ने पार्टी बनाउनुस् न । बलियो पार्टी बनाउनुस् न । गठबन्धन नगरी पार्टी अघि बढाउनुस् न,’ उनले थपे, ‘म पनि खुसी हुन्छु नि काठमाडौंमा । तर गण्डकीमा पार्टीले जित्नु पर्यो नि । सत्तामा ल्याउनुपर्यो नि ।’
गत वर्षको प्रतिनिधि सभा निर्वाचनमा कास्कीका ३ वटै क्षेत्रमा काँग्रेस गठबन्धन हारेको थियो । कास्की कांग्रेसका उपसभापति युवराज कुँवरले प्रतिनिधिसभाको टिकट वितरण गर्दा माओवादीलाई धेरै हिस्सा दिइएको, राष्ट्रियसभाको टिकट वितरण र प्रदेश मन्त्रिपरिषद्मा कास्कीलाई मन्त्री नदिइएकोमा असन्तुष्टि जनाएका थिए । उनले कास्कीलाई कमजोर बनाउनु भनेको गण्डकीमै कांग्रेसलाई कमजोर बनाइनु भएको बताउँदै नेतृत्वलाई यस्तो नगर्न सुझाए । सभापति देउवाले कास्कीबाहेक अरु जिल्ला पनि हेर्नुपर्ने जवाफ कुँवरलाई दिए ।
आफूमाथि खनिएका जिल्लास्तरीय नेतालाई उनले विरोध गर्दैमा केही नहुने र जनतामा गएर संगठन बनाउन अह्राए । ‘जनतामा जानुस् न । कसैलाई विरोध गर्दैमा कोही ठूलो हुँदैन । जनतामा जानुस्, संगठन बनाउनुस्,’ देउवाले भने ।उनले सत्ता सबैलाई आवश्यक रहेको र संसारभर नै सत्ताका लागि प्रतिस्पर्धा हुने गरेको बताए । ‘सत्ता सबैलाई आवश्यक छ । संसारभर सत्ताको लागि त मारामार छ । चुनावमा त जितहार हुन्छ । जितहार भएपनि मान्छेले चुनाव लड्नुपर्छ । चुनाव लड्दैमा केही बिग्रिँदैन,’ देउवाले भने ।
कांग्रेस कास्की सभापति बरालले राखेको अर्को प्रस्ताव थियो – समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्छ । सानो देशलाई खर्चिलो भएकाले समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न संविधान संशोधनको प्रयास पार्टीले गर्नुपर्ने बरालको भनाइ थियो । ‘समानुपातिक निर्वाचनले भविष्यमा समेत समस्या ल्याउन सक्छ । यो व्यवस्था खारेज गरेर जानुपर्छ,’ उनले भने, ‘जुन निर्वाचन प्रणाली देश र नागरिकको हितमा छैन यसमा कांग्रेस गम्भीर हुनैपर्छ । यो खारेजीको लागि संवैधानिक प्रक्रिया पुरा गर्न कांग्रेस सक्रिय हुनुपर्छ ।’
बरालको यो प्रस्तावमा सहमहामन्त्री जीवन परियारले असन्तुष्टि जनाए । पूर्वअर्थमन्त्री रामशरण महत, हालका अर्थमन्त्री प्रकाशशरण महतजस्ता विज्ञ अनुहार समानुपातिकबाटै आएको र यो प्रणाली आवश्यक रहेको परियारको भनाइ थियो ।
सम्बन्धित खबर
पोखरामा आजदेखि दाइँ महोत्सव
जीप दुर्घटनामा चालकको मृत्यु
म्याग्दीमा अब अनलाइनबाटै नागरिकताका कागपत्र बुझाउँदा हुने
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
टिप्पर दुर्घटनामा एकको मृत्यु, चार घाइते
आगलागीबाट हजारौंको क्षति
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी