मगर समुदायको माघेसंक्रान्ति र पुतली नाँच: योमाखार र पेल्माखारसंग सम्बन्ध

संस्कृति

मगर समुदायको माघेसंक्रान्ति र पुतली नाँच: योमाखार र पेल्माखारसंग सम्बन्ध

putali nach (3)
  • कविता घर्ती मगर

परिचय

सौर्य तिथिका हिसाबले माघ महिनाको पहिलो दिन सूर्य मकर राशीमा प्रवेश गर्दछ । यो दिन पृथ्वीको उत्तरी गोलार्द्धमा वर्षभरिको सबैभन्दा छोटो दिन, लामो रात र न्यून तापक्रम हुन्छ ।

माघेसंक्रान्तिकै दिनदेखि सूर्यले मकर राशीबाट उत्तर कर्कट राशीतर्फको यात्रा प्रारम्भ गर्ने भएकाले दिन लामो, रात छोटो र तापक्रम बृद्धि हुँदै जान्छ । त्यसकारण सूर्य उत्तरायणको समयावधि अर्थात माघेसंक्रान्तिदेखि साउनेसक्रातिसम्मको अवधिलाई उँभेउली वा गर्मी याम भनिन्छ ।

उँभेउलीको प्रारम्भमा प्राचीनकालदेखि संसारभरका मानव समाजमा कुनै न कुनै उत्सव वा चाडवाड मनाउने चलनको विकास भएको पाइन्छ । आदिवासी जनजाति समुदाय प्रकृतिपुजक भएकोले हरेक याम, खोलानाला, पहाड, हावापानी, ढुंगा, अन्नबाली र पितृ लगाएतलाई भगवानका रुपमा पुज्ने चलन रहि आएको छ ।

सोहि अनुसार पुर्वका किराँत समुदाले उधौँली, उभौँली, नेवार समुदायले योमरी, गुरुङ, शेर्पा र तमाङ लगाएतका समुदायले ल्होछार/ल्होसार, यसरी हरेक समुदालेले आफ्नै विधि र प्रकृया अनुसार प्रकृतिलाई मान्दै आएका छन । यी विविधतामा एकता कायम गर्दै एकअर्काको मान्यतालाई सम्मान गर्दै आएका छन् । यो हाम्रो खुसिको पक्ष हो ।

उत्पत्ति

माघेसक्राति मनाउने शैली र खानाका परिकारहरूका आधारमा यो चाडको विकास सिकारी युगमा भएको बुझिन्छ । माघेसक्रातिमा धनुवाण खेल्ने, वनजंगलमा गएर तरुल, गिठा–भ्याकुर जस्ता कण्दमुल संकलन गर्ने परम्पराले सिकारी युगको झल्को दिन्छ भने बारीमा उम्रेका जौंका मुना (झोप्ल्यानी) उखेलेर पितृलाई चढाउने तथा मानिसले सिउरिने र दहीचामलको सेतो टीका लगाउने चलनले सिकारी युगबाट भर्खर कृषियुगमा प्रवेश गरेको समयलाई प्रतिविम्बित गर्दछ ।

रुकुमका कुनै भेगका मगरहरूले माघेसक्रातिमा सिस्नो खेल्ने परम्पराले पनि सिकारी युगलाई नै संकेत गर्दछ । सिस्नोको जरा खान आएको वदेललाई सिकार गर्ने क्रममा सिस्नोको झाङ हुँदै भागदौड हुने घटनालाई प्रतिविम्बित गर्न यो खेल वर्तमान समयमा मनोरञ्जनको माध्यम बनेको देखिन्छ ।

माघेसंक्रान्ति र पुतली नाँच

माघेसंक्रान्ति देशका विभिन्न स्थानमा बसोबास गर्ने मगर समुदायले मुख्य चाडका रुपमा र थारु समुदायले मुख्य पर्वका रुपमा निकै धुमधामले मनाउदै आएका छन् । माघेसंक्रान्ति विषेशगरि बागलुङको निसीखोलामा विषेश रौनाकका साथ मानिदै आएका छ । माघेसंक्रान्तिको अघिल्लो दिन धापाधामी (तरुनीतन्नेरी)हरु मिलेर वनबाट कण्दमुलहरु खोजेर ल्याउने,रोटी बनाउनका लागि पिठोको जोहो गर्ने,घरबाट टाढा रहेका परिवारका सदस्यहरु पmर्किने,कापै र होरे खेल्नका लागि डम्फु, शंख, घाटो र सिठ्ठीहरुको जोहो गर्ने लगाएतका पुर्व तयारी हरु हुन्छन् ।

भोलिविहानै माघ १ गते सवेरै उठेर मात्रै कासी कासी उच्चारण गर्दै सालको पातमा कण्दमुल, चामल, पैसा लिएर पधेँरीमा नुहाउन जाने चलन रहेको छ । यसरी नुहाउनाले बर्षभरिको रोगव्याथाहरु पानीले बगाएर गण्डकी नदि हुदै काँसी पु¥याउछ भन्ने धार्मिक मान्यता छ । नुहाईसकेपछि चामल, कण्दमुलको एक टुक्रा पानीमा मुछेर टिका लगाई बाँकी पँधेरामा चढाएर घरको चुलो,धुरीखाँवो र धोकामा प्रसाद चढाउने चलन छ ।

विवाह नभएका कन्या चेलिवेटिहरुलाई सालको टपरीमा चामल, नुन, खुर्सानी, कण्दमुल, रोटी दक्षिणा लगाएत भाग लगाएत दान गरिन्छ । माघेसंक्रान्तिलाई यस भेगमा चेलिवेटिलाई भगवानका रुपमा पुज्ने चाडका रुपमा लिने भएकोले यसरी दान गर्ने अथवा पुज्ने प्रकृया हुन्छ । १ गते दक्षिणा दिन नपाएका चेलीवेटिलाइ माघ मसान्तसम्म दिन सकिन्छ । दाजुभाईको हातबाट पाएको उक्त प्रसाद निकै महत्व मानिन्छ । त्यपछि अघिल्लो दिन तयार पारिएका खानेकुराका परिकारहरु सपरिवार बसेर खाने र एकआपसमा खुसि साटासाट गर्ने चलन रहन्छ । यो प्रकृया सकिएपछि केटाहरु कापै खेल्न हिड्छन् ।

विभिन्न नाँचगान र ओक्ला नाँच,कापै खेल्ने प्रकृया ३ दिनसम्म चल्छ । ३ गते वडा नं. ५ भल्कोतमा ऐतिहासिक पुतली नाँच नाचिन्छ । पुतली नाँचले यस भेगमा मानिदै आएको माघेसंक्रान्ति चाडलाई थप सुनमा सुगन्ध थपेर सँस्कृतिलार्ई उजागर गरेको छ । ३ गते नाँच्ने पुतली नाँचका लागि २ गतेबाट नै तयारी सुरु हुन्छ । यहाँ देखाईने पुतली नाँच मगर समुदायका पुर्खाहरुको ईतिहाससंग जोडिएको छ । पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्नुपुर्व पाल्पा,गुल्मी र स्याङजाको सिमाना हुदै बग्ने रिडी गण्डकीदेखि पुर्वसम्म मगर राजाहरुको १२ स्वतन्त्र राज्य थिए भने रिडीदेखि पश्चिमसम्म १८ स्वतन्त्र राज्यहरु थिए ।

त्यो समयमा १८ स्वतन्त्र राज्य मध्ये भल्कोतमा मगर पुर्खाले राज्य विस्तार गरि शासन सत्ता सञ्चालन गरेको थियो । नेपाल एकिकरण पश्चात बाईसेचौविसे राज्य विस्तारका क्रममा दुई भागमा बाँडेर मगर राजाहरुले सम्हाल्दै आएका १२ र १८ राज्यहरुमध्ये भल्कोतको राज्य पनि विस्थापित भयो । राजारानीको मृत्युपश्चात यस क्षेत्रमा हरेक साल एकएक जना धापाधामीको मृत्यु भयो । यस समस्याको समाधानका लागि धामीझाँक्रिलाई देखाउदा त्यहि राजारानीको आत्माले सरापेर प्रत्येक वर्ष युवायुवती(तरुनीतन्नेरी)को मृत्यु हुने गरेको निष्कर्ष निस्कियो । धापाधामी र धामीझाँक्रिले विधिवत रुपमा युद्धका क्रममा यस स्थानका मगर राजाको सेनाहरुले प्रयोग गरेका ढाल तरवालहरु र देवी पुज्ने, पुतलीको स्वरुपमा युद्धकला प्रद्र्धशन गर्दै घाटमा धाङनाको पुतली बगाउने गरिन्छ ।

त्यो समयमा सेनाहरुले प्रयोग गरेका ढालतरवाल र देविको अवशेष अझै बाँकी छ । त्यहि ऐतिहासिक सम्पत्तिहरु ३ गते प्रदर्शन गरिन्छ । भल्कोतमा विधिपुर्वक यसरी स्वर्गिय मगर राजारानीको आत्मालाई पितृदेवताका रुपमा पुजाआजा गर्न सुरु गरेपछि युवायुवतीको पनि मृत्यु नभएको,अन्नवालीहरु पनि राम्रो उत्पादन हुने गरेको भन्ने जनविश्वास रहेको छ । लामो समयदेखि ईतिहास र संस्कृतिमा अध्ययन गरेकी बम कुमारी बुढामगरका अनुसार माघेसंक्रान्ति आदिवासी मगरहरुले आदिमकालदेखि नै मान्दै आएको बताउछन् । उनका अनुसार माघेसंक्रान्ति योमाखार(अरिङगालको गोल भएको ओढार) र पेल्माखार(जौँ उम्रेको ओढार)संग सम्बन्धित रहेको छ ।

६ महिना उधौली र ६ महिना उभौली मौषमलाई पुज्ने क्रममा मगरहरुको मुख्य बाली जौँ कार्तिकमा छरिसकेपछि मंसिर र पुषमा टुसाँरोले उम्रन सक्दैन । पुष मसान्तदेखि उक्त जौँ उम्रिन सुरु गरेपछि यसको खुसियालीमा माघ १ गते पर्व मनाउने चलन रहि आएको ईतिहासकार बुढामगरको भनाई छ । उनका अनुसार सिकारी युगमा पुर्खाहरुले ओढारमा जौँ छरेर कृषि युगको थालनी गरेकोले योमाखार(अरिङगालको गोल भएको ओढार) र पेल्माखार(जौँ उम्रेको ओढार)लाई माघेसंक्रान्तिसंग जोडिएको छ ।

बुढामगरले भनिन् “मगर जाति पूर्वीरुकुमको हुकाम मैकोटबाट फैलिएको मानिन्छ । हुकाम मैकोटमा योमाखार र पेल्माखार भन्ने ओढार छन् । पेल्मा भनेको जौं हो । जौंलाई ताम, चिका, पेल्मा भनिन्छ । खार भन्ने ओढार । यसरी ओढारमा जौंको खेती सुरु भएको मानिन्छ । त्यहाँ असोज कात्तिकमा बीउ परीक्षण गर्दा अँध्यारो कोठामा जौं छरेको र पहेंलो उम्रिएको देखेर जमराको सुरुआत भएको हामीले मान्छौं । पहिले पहिले पशुपालनबाट कृषि युगमा आउँदा भुटेर पनि छरेका थिए रे ! तर नउम्रिएपछि नभुटेर सुरक्षित तरिकाले बीउको ब्याड राखेका थिए रे । असोज कात्तिकमा छर्ने र हेर्ने अनि कस्तो निस्कियो भनेर परीक्षण सफल भएको ठानिएमा त्यही जातिको बीउ बाहिर छर्ने गरिएको पाइन्छ । जमिनमा छर्दा कात्तिकदेखि तुसारो र हिउँ आदिले पुरेर निस्कन सक्दैन । हुकाम मैकोट त बुकी फुल्ने अग्लोे ठाउँ हो । अगाडि छरिए पनि यो बीउ माघदेखि निस्कन थाल्छ । यो पाक्ने असार साउनतिर हो । ढिलो हुर्कने र पाक्ने भएकाले जौं कसरी निस्किइरहेको छ र हिउँ कसरी बिलिरहेको छ भनेर हेर्दै हरियो जौं देखिएको खुसियालीमा रमाउँदै जौंको फूल लगाउन सुरु गरेको हो । यसलाई जप्लेनी भनिन्छ । माघे सकरातीमा लगाउने जौंलाई घरभित्र छरिरहनु पर्दैन । बारीमा छरेको जौंलाई उखेलेर फूलकारुपमा लगाइन्छ । यस वर्ष भोकमरी नहुने भयो भनी प्रकृतिसँग खुशीयाली साटिन्छ । यहि खुसियाली नै माघेसंक्रान्ति चाड हो ।”

साउनदेखि भुमि देवतालाई खुसी बनाउनका लागि विभिन्न नाँचगान,पुजाआजा गरि अन्नबाली उत्पादन भाकल गरिन्छ भने पुष मसान्तमा सवै नाँचगान बन्द गरि नाँचगान र पुजाआजामा सहभागी धापाधामी(युवायुवती)ले टालो र थाङनाको पुतली बनाउछन् । अर्काे साल भेट्ने बाचा गर्दै खोलाको दोभानमा ति पुतलीहरु बगाईन्छ र नाँचगानको विसर्जन गरिन्छ ् । त्यपछि तारा खेल सुरु हुन्छ ।

गर्मि याम सुरु भएसंगै लेकबाट मृग,रतुवा लगाएतका जनावार पानीका लागि पहाडको जंगलमा आउने भएकोले सिकारका लागि तारा खेल सुरु गरिएको ईतिहासकार बुढामगरको भनाई छ । यहि अवधिमा विभिन्न युद्धकलाहरु पनि सिक्ने गरिन्छ । यसैगरि भल्कोतमा देखाईको पुतली नाँच पुर्खाहरुको युद्धकलासंग सम्बन्धित रहेको उनको तर्क छ । “माघेसंक्रान्तिको अवसर पारेर खोलामा बगाईने पुतली बुकीमा प्रकृतिको पुजा गर्दै नाँचगानमा विताएका युवायुतीले मायाको प्रतिक स्वरुप आआफ्नो पुतली बनाएरका हुन्छन्”,उनले भने “तर हातमा ढाल तरवार लिएर पुतली बनेर नाचिन्छ भने त्यो युद्धकला नै हो ।”

पछिल्लो समयमा आदिमकालदेखि साँस्कृतिक रुपमा मानिआएका चाडपर्वहरु स्थान र परिवेश अनुसार कसरी आकर्षित बनाउन सकिन्छ त्यहि अनुसार थपघट हुदै गएको उनको भनाई छ । साथै मगरहरुको मुख्य चाड माघेसंक्रान्ति औपचारिकतामा मात्रै सिमित भई सामाजिक र पारिवारिक रुपमा भने यसको महत्व घट्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।
पछिल्लो समयमा बढ्दो सामाजिक र आर्थिक परिवर्तनका कारण भल्कोतमा पनि पुतली बनेर नाँच्ने युवाको खाँचो रहेको वडा नं. ५ का वडाध्यक्ष हेम बहादुर बुढामगरले बताएका छन् । पुर्खाहरुको ऐतिहासिक महत्व बोकेको यस संस्कृतिलाई जोगाई राख्न निकै चुनौति रहेको उनको गुनासो छ ।

“गाँउमा युवाहरु छैनन्,बुढापाकाहरु पुतली बनेर नाँच्न सक्दैनन”् उनले भने “युवाहरु ब्ौदेशिक रोजगारमा जानुपर्ने बाध्यता छ, हाम्रा ईतिहास तथा संस्कृतिहरुलाई निरन्तर बचाईराख्न चुनौति छ ।” यसका लागि केन्द्रिय सरकाले नै चासो दिनुपर्ने उनको ठहर छ । “स्थानिय सरकारमा समित बजेट मात्रै पठाउछ,त्यो बजेटबाट सबै तिर खर्च मिलाउन पुग्दैन”,उनले भने “यसका लागि केन्द्रिय सरकारले नै चासो दिनुपर्छ ।”

धार्मिक पक्ष

यो चाड कुनै खास धार्मिक तथा जातीय समुदायसँग मात्र सम्बन्धित नभएर खास याम ९कभबकयल० को थालनी अर्थात उँभेउली यामको प्रारम्भसँग अन्तरसम्बन्धित रहेकाले स्थान र समुदायअनुसार आ–आफ्नै खाले मान्यता र जीवनशैली अनुरुप मनाउने परम्पराको विकास भएको पाइन्छ । मगर समाजमा माघेसक्रातिलाई उँभेउलीको पहिलो चाड वा मिन्हामल्हेस (नयाँ वर्ष) को रुपमा मनाउने गरिएको पाइन्छ ।

मगरहरूले विशेषतः सांस्कृतिक चाडको रुपमा मनाउने गरे पनि कुलपितृको पूजा स्मरण गर्ने आफ्नै खाले धार्मिक विश्वास र मान्यता रहेको पाइन्छ । मगर समाजमा हरेक चाडवाड एवं संस्कारजन्य कार्यहरूमा सर्वप्रथम आफ्नै कुलपितृ र स्थानीय देवदेवीको आराधना गर्ने परम्परा रहेको हुन्छ । माघेसक्रातिको विहानै स्नान गरी घरआँगन सरसफाई गरेपछि कुलपितृलाई धूप, दीप, जल, ध्वजा र प्रसाद चढाएर सुख, शान्ति, सम्बृद्धि र सुस्वास्थ्यको निम्ति कामना गरिन्छ ।

वागलुङ गलकोट खुवाक्षेत्रका मगरहरूले पितृको नाउमा माघेको पातमा सुकुटी र घिउमा फुराएको चामल राखेर अगेनाको नजिक अम्टोमा र छानामा घुसार्ने गर्दछन् । गण्डकी प्रश्रवणक्षेत्रको मगर समाजमा माघेसक्रातिको विहानै घरमुलीले खोला वा पँधेरामा गएर स्नान गरी केराको पातमा एक–एक मुठी चामल र मासको दाल, अदुवाको टुक्रा, सिद्रा, फलफूल र जाँडरक्सी सात ठाउँमा राखेर धूपदीप सहित पितृलाई चढाउने चलन छ, जसलाई ‘मुठी याहाके’ (मुठी दिने) वा ‘डी डाके’ (पानी चढाउने) भनिन्छ ।

व्यक्तिगत वा पारिवारिक पितृपूजाका अतिरिक्त गाउँटोलका सबै घरधुरी मिलेर सामुहिक पितृपूजा गर्ने चलन पनि रहेको छ । काह्राङ्च पूजा (ठूलो पूजा) नामले गरिने यस्तो पूजामा झांक्री विधिबाट बाजेबजैको थानमा सुँगुर, बोका र कुखुरा बलि चढाइन्छ । डोल्पाली मगर समाजमा भोजपत्रको पातमा सेलरोटी, फर्सी, दालभात लगायतका परिकारहरू राखेर कागको पूजा गर्ने, राँको फाल्ने र सिकपाती (मोसोमा तेल राखेर बनाएको टीका) लगाएर आशीर्वाद दिने चलन रहेको छ ।

रुकुम, रोल्पा र बागलुङको मगर समाजमा छोरीचेलीहरूले विहान स्नान गरी बारीमा उम्रेका जौंको झोप्ल्यानी (फूलको रुपमा प्रयोग गरिने जौंको वोट) र दहीचामलको सेतो टीकाले पँधेरो, धुरीखाँबो र अगेना पुजेपछि घरपरिवारका सबै सदस्यहरूलाई टीका लगाइदिन्छन् । त्यसपछि छोरीचेलीहरूलाई मिसरा (चामल, तरुल, पिडालु, दाल र पैसा) दिइन्छ । कतिपय गाउँका युवायुवतीहरूले माघेसक्रातिभन्दा अघि उच्च लेकाली क्षेत्रको चरनमा गएर कुलपितृलाई चढाउनका लागि फूल टिपेर ल्याउने गर्दछन् । माघेसक्रातिका दिनमा गरिने यस प्रकारका रीथिथितिलाई मगर जातिको पितृ र प्रकृति पूजक धार्मिक परम्परा र मान्यताको रुपमा लिन सकिन्छ ।

सामाजिक पक्ष

माघेसक्रातिको अवसरमा टोलछिमेक भेला भएर मासुका लागि खसीबोका, सुँगुर, राँगा आदि काट्ने, वनमा गएर तरुल खन्ने तथा पात टिपेर ल्याई दुनाटपरी खुट्ने, माइती–चेली भेटघाट हुने र मिठोमसिने परिकार बनाएर खाने जस्ता गतिविधिले सामाजिक सम्बन्धलाई सुमधुर बनाउने गर्दछ । मगर समाजमा मनाइने माघेसक्रातिले यही सामाजिक पक्षलाई विशेष जोड दिएको पाइन्छ । विवाह गरेर गएका आफ्ना छोरीचेलीलाई माइतीले सम्झने, आफ्नै छोरीचेली नभएकाहरूले दाजुभाइ खलकका छोरीचेलीलाई बोलाएर भए पनि एकछाक मिठोचोखो खुवाउने र मिसरा दिने परम्परा रहेको छ ।

गर समाजमा माघेसक्रातिको विशेष परिकारलाई मिसरा भनिन्छ । रुकुम, रोल्पा र बागलुङ भेगको मगर समाजमा माघेसक्रातिको बेलामा चेलीवेटीलाई दिइने विशेष परिकार र दक्षिणा (तरुल, पिंडालु, सखरखण्ड, रोटी, चामल, सिमी, पैसा आदि) लाई मिसरा भनिन्छ । वागलुङ गलकोट खुवाक्षेत्रको मगर समाजमा चेलीलाई दिइने मिसरामा सुकुटी समेत समावेश गरिएको हुन्छ । माघको दोस्रो दिन चेलीहरूले लिसक (रक्सी आदि पाहुर) लिएर माइतीमा आएर खानपिन गर्दछन् । सोही दिन कन्याकेटीहरू जान्या (वनभोज) जाने चलन छ ।

माघेसक्रातिका बेलामा विवाहित चेलीसँग भेट हुन अनुकूलता नमिलेमा माघ महिनाभित्रको कुनै पनि दिनमा चेली पुज्ने अर्थात मिसरा दिने र भोजन गराउने चलन छ । वागलुङ गलकोट खुवाक्षेत्रका अर्गल, हिल, तारा र अमरभूमि भेगका मगरहरूले माघको पहिलो दिनलाई जेठीसक्राति र दोस्रो दिनलाई कान्छीसक्राति भनेर मनाउने गर्दछन् । जेठीसक्रातिका दिन आउन नपाएका चेलीहरूलाई कान्छीसक्रातिका दिन बोलाइन्छ । चेलीवेटी ख्वाएपछि मिसरा दिएर पठाइन्छ तर कुनै कारणवस माइती आउन नसकेका चेलीवेटीका लागि मिसरा घरमै पठाइन्छ ।

माघेसक्रातिको मुख्य परिकारको रुपमा खिचडी, तरुल, पिडालु, मासु, रक्सी आदिलाई लिइन्छ । यद्धपि वागलुङको अर्गल, रुकुम–रोल्पाका केही भेगको मगर समाजमा खिचडी खाने चलन पाइँदैन । गण्डकी प्रश्रवणक्षेत्रको कतिपय मगर गाउँमा डेउली बारा अर्थात मास वा मस्याङ (सिल्टुङ) बाट बनाएको बारा, नौ थरिका अन्न मिसाएर पकाएको खिचडी, तरुल, सखरखण्ड आदि परिकार खाने चलन छ । माघेसक्रातीको समयमा पिडालु, तरुल, अदुवा जस्ता कन्दमुलहरू एवं मास, सिमी जस्ता गेडागुडी तयार हुने भएकाले नै मुख्य परिकारको रुपमा प्रयोग गरिएको हो । माघेसक्रातिमा तरुल खाएमा शरीरका रोगव्याधी पखालिने र वर्षभरि नै रोग नलाग्ने विश्वास पनि लिइन्छ ।

माघेसक्रातिमा देशका विभिन्न स्थानमा विभिन्न धार्मिक मेलाहरु लाग्ने गर्दछ विशेषगरि रिडीमा ठुलो मेला लाग्छ । यता पोखराको ढुंगेसाँघु,बागलुङको भल्कोत लगाएतका विभिन्न स्थानमा आज भव्य रुपमा मेलाको आयोजना गरिएका छन् ।

सांस्कृतिक पक्ष

संस्कृतिविद डा.मिन श्रीषमगरका अनुसार मगर समाजमा मनाइने माघेसक्रातिको प्रमुख आयाम भनेको सामाजिक र सांस्कृतिक पक्ष हो । मगरहरू स्वभावैले बढी मनोरञ्जनमुखी हुने भएकाले गीत, संगीत, नाच र खेलहरू पहिलो प्राथमिकतामा परेका हुन्छन् । यो चाडमा बन्दुक वा धनुवाण वा गुलेलीले तारो हानेर मनोरञ्जन लिने गरिन्छ । रुकुम रोल्पातिरको मगर समाजमा पुस १५ गते नम्सुइँ (तीर फुकाउने) विधि गरेर तीर हान्ने अभ्यास शुरु गरिन्छ । माघको तेस्रो दिनदेखि पाँचौं दिनसम्म एक ठाउँमा भेला भएर तारो हान्ने चलन रहेको छ ।

स्थानीय मगर भाषामा लामुई र कोथले भनिने धनुषवाणले काठको फल्याकमा बनाइएको गोलो चिन्हमा तिर हान्ने गरिन्छ । तारो हान्दा निसाना ढाल्ने व्यक्तिलाई बाजा बजाउँदै र ‘स्याम्बो स्याम्बो राजा, स्याम्बो स्याम्बो रानी’ भन्ने गीत गाउदै बोकेर डुलाउने गरिन्छ । यो खेलमा तारो हान्ने युवककी साली वा अन्य युवतीले रुमाल, पछ्यौरी, पोते जस्ता सामान बाजी थाप्ने गर्दछन् । जित्नेले सामान लैजाने तर पछि सो सामानमा खानेकुरा, पैसा र अन्य सामाग्री थपेर कोसेली स्वरुप फिर्ता दिने चलन छ । तारो हान्ने खेलको क्रममा युवायुवतीहरूले गाउने र नाच्ने गर्दछन् ।

रुकुमको कुनै भेगमा सिस्नो खेल्ने पनि गरिन्छ । डोल्पाली मगरहरूले माघेसंक्रान्तिको अवसरमा तारो हान्ने, घोडा दौडाउने र पुतली नचाउने गर्दछन् । वागलुङको निसी भल्कोटमा पञ्चेबाजाको तालमा पुतलीनाच (तरवारनाच) नचाइन्छ भने निसी कापारुपमा मुकुण्डो लगाएर जौं बारीमा उफ्रदै घरघरमा गएर दान माग्दै नाच्ने काइपानाच नचाइन्छ ।

तिहारमा भैलोदेउसी खेले झैं घरघरमा गएर दान लिने चलन रुकुम रोल्पातिर पनि रहेको छ । माइतीमा आएका चेलीहरू र गाउँका अन्य चेलीहरूले मिसरा खाइसकेपछि एक ठाउँमा भेला भएर प्रत्येक घरघरमा गएर मस्यान्द्रा खेल्ने गर्दछन् । यस क्रममा उनीहरूले ढोकामा झोप्ल्यानी टाँसेपछि एकै स्वरमा मस्यान्द्रा पाई कि नपाई भन्दै भित्र पसेर घरका सदस्यहरूलाई दहीचामलको सेतो टीका र झोप्ल्यानी लगाइदिन्छन् ।

तिनीहरूलाई पिठो, चामल, नून, तेल, मासु आदि खानेकुरा र पैसा दान दिइन्छ । युवाहरू भिकुरा भन्ने चराको सिकार खेल्न वनतिर जाने गर्दछन् । मस्यान्द्रा खेल्ने र सिकार खेल्नेहरू साँझ पख पायक पर्ने नदी किनारमा भेला भएर जम्मा गरिएको खानेकुरा पकाएर खाने र कपडाको पुतला बनाई दहन गर्दछन् जसलाई स्थानीय मगर भाषामा ‘पुतली हिप्ने’ भनिन्छ । यसरी भैलीमा झैं दानदक्षिणा उठाउने चलन गण्डकी प्रश्रवणक्षेत्रमा पनि रहेको पाइन्छ ।

माघेसक्रातिको अघिल्लो साँझ (पुस मसान्तको साँझ) घरघरमा बारा पकाउने हुँदा युवायुवतीहरूले समूह बनाएर बारा माग्न जाने गर्दछन्, जसलाई ओह्याँ बारा गेस्के (खेल्ने) भनिन्छ । एउटा लामो लौरोको एक टुप्पामा कोर्को बाँधेर दैलोबाट भित्र बारा पकाइरहेको स्थानतिर छिराउने गर्दछन् । यस क्रममा एक जनाले बच्चा रोए झैं ‘ओह्याँ ओह्याँ’ आवाज निकाल्ने र अरुले फकाए झैं ‘नरोऊ नानी भोकायौ होल; घरधनीले बारा दिन्छिन्’ भन्ने गर्दछन् । उ

क्त कोर्कोमा बारा, तरुल, सखरखण्ड, रक्सी, मासु आदि राखिदिन्छन् । कोर्कोको सामाग्री कसैले नझिकोस् भनेर सिस्नेले छोपिएको हुन्छ । यसरी रातभरि घरघरमा डुलेर जम्मा गरिएको परिकारलाई कुनै एउटा घरमा बसेर खाने र नाचगान गरी रमाउने गर्दछन् । पूर्वी पाल्पा, तनहूँ लगायतका मगर बस्तीहरूमा माघेसक्रातिकै दिन कौ¥हा नाचको विधिवत थालनी गरिन्छ । कौ¥हामा गुरुवाले गीत शुरु गर्ने, सहभागी पुरुषहरूले छोप्ने, युवाहरूले खैँजडी बजाउने र कन्या (अविवाहित युवती) हरू नाच्ने गर्दछन् । कौ¥हा नाचमा बन्धन लिँदा लामाझांक्री र पुजारीहरूलाई झाँक आउँदछ । कन्याहरूले नाच्दै झाँक आएकाहरूको शिरमा छोएपछि झाँक छुट्छ ।

त्यसपछि स्वच्छन्द तरिकाले गीत गाएर नाच्ने गरिन्छ । रुकुम रोल्पातिरको मगर समाजमा माघेसक्रातिको दिन डाँफे र मयुरको आख्यानमा आधारित डाम्फ्या स्याई (झोराल्नी वा जोरा स्याई) नृत्य गीत प्रस्तुत गरिने संस्कृतिविद डा.मिन श्रीषमगरले बताए ।

शैलीगत विविधता र मान्यताहरू

माघेसक्रातिलाई फरक–फरक नाम र मान्यताका आधारमा मनाउने चलन रहेको पाइन्छ । नेपालको पहाडी समुदायमा ‘माघेसक्राति’, काठमाडौंको नेवार समुदायमा ‘हामो संल्हु’ वा ‘घ्योचाकु संल्हु’ र तराईको थारु समुदायमा ‘माघी’ नामले यो चाड मनाइन्छ । नेपालको हिमाली समुदायमा पनि लगभग सूर्य उत्तरायणकै समयमा नयाँ वर्षको रुपमा ‘ल्होसार’ मनाउने गरिन्छ । छिमेकी भारतका अधिकांश स्थानमा मकर सङ्क्रान्ति नामले तीन चार दिनसम्म यो चाड मनाइन्छ ।

दहीचिउरा, तिलको मिठाई, खिच्री र खिर (पंजावमा) खाने गरिन्छ । हरियाणा, हिमाचल र पंजावमा ‘माघी’, तमिलनाडूमा ‘पोङगाल’, आसाममा ‘माघ विहु’ वा ‘भोगाली विहु’ र काश्मिरमा ‘शिशुर सयन्क्रात’ नामले मनाउने गरिन्छ । थाइल्याण्डमा ‘सोङ्गक्रान’, कम्वोडियामा ‘मोहा सङ्गक्रान’ लावसमा ‘पि–मा–लाख’ र वर्मा (म्यानमार) मा ‘थिङ्गयान’ नामले मनाइन्छ । हिन्दु समुदायमा विशेष धार्मिक विधिविधानअनुसार नदी–तलाउमा स्नान, तिर्थव्रत, पूजा आराधना, दानदक्षिणा गरेर मनाइन्छ ।

हरिद्वार, उज्जैन आदि स्थानमा बाह्रवर्षे कुम्भ मेला, प्रयागमा हरेक वर्ष मकर मेला लाग्ने गर्दछ भने नेपालको वागमती, शंखमुल, टेकुदोभान, पनौती, दोलालघाट, वराहक्षेत्र, त्रिवेणी संगम, सप्तगण्डी संगम, रिडी, देवघाट आदि नदी दोभानहरूमा मकर मेला लाग्ने गर्दछ । आदिवासी जनजाति समुदायमा भने धार्मिकभन्दा पनि सांस्कृतिक रुपमा माघेसक्राति मनाउने चलन रहेको पाइन्छ ।

माघेसक्रातिका मानव–पर्यावरणीय विम्वहरू

साउनेसक्राति सूर्य दक्षिरायण अर्थात उँधेउली याम र माघेसक्राति सूर्य उत्तरायण अर्थात उँभेउली यामको सांस्कृतिक विम्व भएकाले यी चाडहरू मनाउने तरिकामा स्थानीय पर्यावरण अनुकूलका रीतिथिति र मान्यताहरूको विकास भएको पाइन्छ । माघेसक्रातिपछि तापक्रम बढ्दै जाने हुँदा आगो तापेर बस्ने समयको अन्त्य भएको प्रतीकका रुपमा डोल्पाली मगरहरूले राँको फाल्ने र काग पुज्ने रीति प्रचलनमा ल्याएको बुझिन्छ ।

गर्मी याममा झिंगा, लामखुट्टे, सर्प, विच्छी, मुसा जस्ता हानीकारक जीवहरू सक्रिय हुने तथा घर, आँगन र बारीको फोहरले रोग निम्त्याउने हुँदा मानव बस्ती वरपरको सफाईमा सघाउने कागलाई पूजा आह्वान गरिएको हो । साउनेसक्रातिदेखि तापक्रम घट्दै जाने भएकाले डोल्पाली मगरहरूले न्यानोको प्रतीक आगोको अगुल्ठो घरको छाना (छत) को चारैतिर बालेर पूजा गर्दछन् । घोडा दौडाउने खेलले पनि बेसीबाट लेकतिर बसाइँ सर्ने समय भएको तर्फ संकेत गरेको देखिन्छ ।

झोप्ल्यानीको प्रयोगमा पनि पर्यावरणीय बिम्ब लुकेको छ । उच्च पहाडी भेगमा बसोबास गर्ने मगरहरूको लागि सबैभन्दा पुरानो रैथाने जातको अन्नबाली जौं भएकाले शुभकार्य र उत्सवहरूमा यसको प्रयोग थालिएको हो । उँधेउलीको प्रारम्भमा मनाइने साउनेसक्राति र वर्षेवाली भिœयाएपछि मनाइने कृषि चाड (दसैं) मा फूलको रुपमा प्रयोग गरिने जौंको जमरा घरभित्रको कुनामा उमार्न सकिने भए पनि पुस पन्ध्रपछिको अत्यधिक चिसोमा जमरा उमार्न सम्भव हुँदैन । त्यसैले बारीमा उम्रेका झोप्ल्यानी (जौंका वोट) लाई माघेसक्रातिमा प्रयोग गरिएको हो । मानवले आफू वरिपरिको पर्यावरणसँग घुलमिल हुँदै जीवनलाई निरन्तरता दिने क्रममा संस्कृतिको विकास हुने भएकाले संस्कृतिका महŒवपूर्ण अंग चाडवाडहरूमा पनि स्थानीय भूगोल, वातावरण र त्यहाँका जीव–वनस्पतिहरूको प्रभाव वा बिम्ब झल्केको हुन्छ । त्यो नै मौलिकता र विशिष्ट चिनारीको आधार हो ।

यस्तै खाले अतुलनीय एवं विशिष्ट चिनारीका आधारहरू माघेसक्रातिको अवसरमा मगर जातिले प्रर्दशन गर्ने लोकगीतनृत्य र संगीतमा प्रतिबिम्बित भएको देख्न पाइन्छ । मगरहरूले उँधेउलीको प्रारम्भ साउनेसक्रातिमा मादल फुकाएर शुरु गरेको आख्यानयुक्त नृत्य गीत मारुनीलाई माघेसक्रातिमा समापन गरेर कौ¥हा नृत्यको विधिवत थालनी गर्दछन् । माघेसक्रातिमा पुत्ला पोल्ने चलनले नारीको भेषमा पुरुष नाच्ने मारुनीको समापनलाई प्रतिविम्बित गरेको हुन्छ ।

माघेसक्रातिदेखि मादल बन्द हुने भएकाले उँभेउली याममा मादल बिनाको नृत्य गीत कौ¥हा र घाटुु नचाउने गरिन्छ । उँधेउली र उँभेउलीमा नाचिने नृत्य, गाइने गीत र संगीतको सिर्जना पनि प्रकृति र मौसम अनुकूल गरिएका छन् । उँधेउलीमा जाडो हुने भएकाले कुर्लेर गाउने गीत, घन्काएर बजाउने मादल र उफ्रेर नाचिने पुरुष नृत्यहरू सिर्जना भएका छन् भने उँभेउली अर्थात गर्मी याममा नयाँ पालुवा पलाउने, चराचुरुङ्गीले बच्चा कोरल्ने, खेतवारीमा अन्नको बिऊ छर्ने भएकाले सृष्टिका प्रतीक नारी अर्थात कन्याहरूको सौम्य र शान्त प्रकृतिका नृत्यहरू प्रस्तुत गरिन्छन् । यिनै विम्ब, मान्यता र शैलीहरूमा नै मगर जातिले मनाउने माघेसक्रातिको मौलिकता र ऐतिहासिकता झल्केको पाइन्छ ।

नोटः यो लेख ईतिहासकार तथा संस्कृतिविद बमकुमारी बुढामगर र डा.मिन श्रीषमगरको सहयोगमा तयार पारिएको हो । उनीहरुलाई विशेष धन्दवाद ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds