म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तला कसरी टिप्ने भन्ने चिन्तामा छन् । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् ।
४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पूरै गाउँमा सुन्तला खेती गरेका छन् । नौ हजार सुन्तलाको बोट भएको बगैँचाको बीचमा रहेको ११ केभी क्षमताको विद्युतको नांगो तारले हाँगा छुन थालेको छ । बगैँचाभित्र पस्न करेन्ट लागेर दुर्घटना हुने जोखिम रहेको अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले बताइन् ।
सुन्तलाको बोटले बिजुलीको वितरण लाइनको तार छोएकाले बगैँचामा जाँदा करेन्टको झट्का आउँने गरेको छ । तारमा छोइएर सुन्तलाको बोट मर्न थालेका छन् । बोटका सुन्तलाको दाना टिप्न, गोडमेल र मलजलका लागि बगैँचामा पस्दा करेन्ट लागेर दुर्घटना हुने डर बढेको स्थानीय बढाउँछन् ।
सुन्तलाको बोट हुर्कदै गएपछि हाँगाले नांगो तार छोएर जोखिम बढेको हो । चार सय भोल्टको विद्युत् प्रवाह हुने नांगो तारले छोइएर सुन्तलाका बोट मर्न थालेका हुन् । गोडमेल गर्दा र सुन्तलाको फल टिप्दा करेन्ट लाग्ने जोखिम रहेको स्थानीय बेगबहादुर पाइजाले बताए ।
‘सुन्तला बगैँचाभित्र जाँदा करेन्ट लागेर ज्यानै जाला भन्ने डर छ’, उनले भने, ‘तारले छोएको बोटको सुन्तला माया मार्नुपर्ने अवस्था छ । बगैँचा पस्दा कता करेन्ट लागेर मरिने हो भन्ने डर छ ।’
केही दिनअघि दोसल्ले गएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीलाई स्थानीयवासीले विद्युतीय दुर्घटनाको जोखिम न्यूनीकरणका लागि नांगो तार हटाएर एबीसी केबुल भएको कालो तार जडान गर्ने व्यवस्था गर्न माग गरेका थिए ।
सदस्य भण्डारीको नेतृत्वमा आइतबार नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख प्रताप बराल, इञ्जिनियर शिव पौडेल, लेखा प्रमुख श्याम रानासहितको टोलीले दोसल्लेको विद्युत् वितरण लाइनको स्थलगत निरीक्षण गरेको छ ।
केन्द्रका प्रमुख बरालले सुन्तला बगैँचाभित्र नांगो तारको विकल्पका एबीसी केबुल राख्न प्रक्रिया अघि बढाएको र केही दिनमै तार परिवर्तन गरिने बताए । अन्नपूर्ण गाउँपालिकाको दोवा, बेनी नगरपालिकाको बास्कुनालगायत ठाउँमा बस्ती र बगैँचामाथि रहेको विद्युतको तार व्यवस्थापन गर्न पहल गरिरहेको प्रदेशसभा सदस्य भण्डारीले बताए । रासस
सम्बन्धित खबर
सुन्तला बेचेर बर्सेनि ४५ लाख कमाउँछन् पर्वतका पूर्व शिक्षक
सहकारी ठगी आरोपमा म्याग्दीका जिसस प्रमुख थापा पक्राउ
म्याग्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री
झोलुङ्गे पुलले यात्राअवधि छोटियो
म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो